माओवादी केन्द्र र राप्रपाको मुख्यमन्त्रीमा दाबी



विराटनगर । नेकपा माओवादी केन्द्र र राप्रपाले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल शुरु भएसँगै उनीहरूले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन । उता, कोशी प्रदेशमा सरकार परिवर्तनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ सर्त अघि सारेको छ ।

एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सारेको हो । दलका नेताहरुसँग छलफलका क्रममा राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले चार वर्षसम्म मुख्यमन्त्री पाउनुपर्ने बताउनुभएको छ ।

चार वर्षसम्म मुख्यमन्त्री पाउने लिखित सहमति भए मात्रै सरकार परिवर्तनमा साथ दिने उहाँको कथन छ । प्रदेशसभामा ६ सिट रहेको राप्रपा सामेल भए कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनले सहज रूपमा सरकार गठन हुन सक्छ । यसरी बन्ने गठबन्धनको पक्षमा प्रदेशसभामा ५२ सिट पुग्छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नयाँ सरकार गठनका लागि राप्रपा दलका नेता तथा वर्तमान सरकारका प्रवक्ता सिटौला हाल प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री र कोशी प्रदेश सरकारका प्रवक्ता हुनुहुन्छ । राप्रपा स्थिरताको पक्षमा रहेको उहाँको दाबी छ ।

राष्ट्रपति निर्वाचनका बेला सत्ता गठबन्धन फेरिएपछि ६ प्रदेशमा मुख्यमन्त्री फेरिए पनि कोशीमा सबैभन्दा ठूलो दल एमाले नेतृत्वकै सरकार छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा पनि सरकार बन्न सहज छैन । एमाले र राप्रपा एक ठाउँमा छन् । दुई दलको मत ४६ छ । प्रदेश सभामा सभामुखबाहेक कांग्रेस माओवादीसहितको गठबन्धनमा ४६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्