कोसी सरकारबाट बाहिरियो माओवादी, पाँच महिनामै एमालेको सरकार अल्पमतमा



विराटनगर । कोसी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार संकटमा परेको हो । माओवादी संसदीय दलको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना पार्टीका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । पुस ९ गते एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि पुस २५ गते मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।

राष्ट्रपति निर्वाचनका बेला यो गठबन्धन फुटेर कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि संघसहित बाँकी ६ प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भए पनि माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरेकाले कोसी प्रदेशमा भने एमाले नेतृत्वकै सरकार कायम रहेको थियो । उक्त सरकारमा माओवादीका दुर्गा चापागाईंले भौतिक पूर्वाधार विकासमन्त्री र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पार्टीको निर्णय र निर्देशन अनुसार दुवै मन्त्रीले मङ्गलबार दिउँसो मुख्यमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको थियो । मुख्यमन्त्री कार्कीले राजीनामापत्र बुझ्दै जिम्मेवारीमा रहुञ्जेल उहाँहरूले पु¥याउनुभएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नभएको थियो । मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘तपाईहरूसँगै रहेर काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको छु । यसले मेरो राजनीतिक जीवनलाई ठूलो शिक्षा दिएको छ । सँगै रहेर काम गर्दा तपाँइहरूले ठूलो सहयोग पु¥याउनु भयो र आगामी दिनमा पनि पुनः सहयोगको अपेक्षा गरेको छु ।

साथै तपाईंहरूको उज्ज्वल राजनीतिक भविष्यको कामना गर्दछु ।’ मुख्यमन्त्री कार्कीले सबै राजनीतिक दलहरूसँग खुल्लारूपमा छलफल गरेर अघि बढ्ने र दलहरूले विश्वास गरेमा पुनः सरकारको नेतृत्व गर्ने बताउनुभयो । उहाँले संवैधानिक र कानुनी प्रक्रिया पूरा गरेर नै आगामी बजेट र नीति तथा कार्यक्रम ल्याउने जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्यको समर्थन थियो । तर, जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले अल्पमतमा परेको छ ।

राप्रपाले पनि नयाँ गठबन्धनमा सहभागी हुनुपर्ने भए आफूलाई मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको छ । यस अर्थमा राप्रपाले पनि एमालेको साथ छाड्ने देखिन्छ । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिको पाँच महिनामै मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको छभने कांग्रेसका २९, माओवादीको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ गरी ४७ सांसदको नयाँ गठबन्धन बन्न लागेको छ ।

एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको माओवादी केन्द्र कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले बताउनुभयो । यता नेपाली कांग्रेसले पनि कोसी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताउनुभयो । यससँगै अब नयाँ गठबन्धनमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरामै विवाद हुने देखिएको छ । गठबन्धनमा रहेको एकीकृत समाजवादीले पनि पहिलादेखिनै कुनै एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्