नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो



A view of Kathmandu District Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक बहसको क्रममा मंगलबार जाहेरीवाला र सरकारी वकिलको तर्फबाट बहस गरिएको थियो भने बुधबारदेखि प्रतिवादीको तर्फबाट बहस चल्नेछ ।

जाहेरीवालाहरूको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कट्टेलले आरोपीले नाम लिएकाहरूको पनि बयान लिन अदालतमा झिकाउन माग गर्नुभयो । उहा“ले जिल्ला अदालत काठमाडौंमै विचाराधीन उमेश रेग्मीविरुद्ध सौगात सुनुवारको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दाको उदाहरण दिँदै आरोपितले बयानमा नाम लिएकाहरूलाई पनि अदालतमा झिकाउन माग गर्नुभएको थियो ।

जाहेरीवालाको तर्फबाट बहस गर्नेहरूले जाहेरीकर्ताले बयानमा पोलेका भरमा कोही मुद्दा चलेर थुनामा बस्नुपर्ने, कोहीले उन्मुक्ति पाउने स्थिति आउन दिन नहुने जिकिर गरेका थिए । प्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल, टेकनाथ रिजालले पोलेका व्यक्तिहरूले उन्मुक्ति पाउन नहुने उनीहरूको जिकिर रहेको थियो ।

अधिवक्ता कट्टेलले नक्कली शरणार्थी प्रकरणमा आरोपितले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि नाम लिएको बताउनुभयो । त्यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, बालकृष्ण खा“णकी पत्नी मञ्जु खा“ण, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री ओलीलाई समेत पोलेको भन्दै अधिवक्ता कट्टेलले उहाँहरूको समेत बयान लिनुपर्ने माग गर्नुभयो ।

अडियोमा नाम जोडिएका, आरोपितहरूले पैसा बुझाएको भनी नाम पोलेकाको हकमा बयान हुनैपर्ने भन्दै अधिवक्ता कट्टेलले यो प्रकरणमा भएको प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठाउनुभयो । उहा“ले रकम लिएको आरोप खेपेका आरजु देउवा, मञ्जु खा“ण, नैनकला थापा, प्रेम राईलगायतको बयान लिनैपर्ने माग गर्नुभयो ।

त्यसैगरी अधिवक्ता राधिका चौलागार्इं, भद्रप्रसाद नेपालले नक्कली शरणार्थी बनाएर ठगी गरेको घटना पुष्टि भइसकेको र पैसा उठाउनु नै अपराध रहेको तर्क गर्दै प्रतिवादीहरूलाई थुनामा राख्नुपर्ने बताउनुभयो । मंगलबार सरकारी वकिलको कार्यालयको तर्फबाट आठ जनाले बहस गरेका थिए ।

उनीहरूले प्रतिवादीलाई थुनामा राख्नुपर्ने जिकिर गर्दै बाहिर राखेर अनुसन्धान अघि बढाउ“दा प्रमाण नष्ट हुने सक्ने, जाहेरीवालाको जीउज्यानमा खतरा हुन सक्ने तर्क गरेका थिए । यसरी तर्क गर्नेहरूमा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, जनक घिमिरे, सिताराम अर्याल रहनुभएको छ । त्यसै गरी सहायक न्याधिवक्ताहरू प्रकाश घिमिरे, सुरजबहादुर परियार, निर्मला मरासीनी, दिनेश भट्टराई र हिरालाल भोलले पनि बहस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्