हिनामिना गरेको सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश



धादिङ।

साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका कृष्णबहादुर श्रेष्ठ समेत १३ जनाले सहकारिका प्रबन्धक लीलादेवी पोखरेल अधिकारीविरुद्ध लिखत बोजिकमको रकम दिलाइ भराइ पाउँ भनी जिल्ला अदालत दिएको मुद्दाको पक्षमा फैसला गरेको छ ।

०६९ देखि सहकारिको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धकले सेयरसदस्यहरुबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारकिा तर्फबाट ०७८ असार ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले २१ पटकको पेसीपछि मुद्दा फैसला गर्दै सहकारीमा कबुल गरेको रकम ५९ लाख २७ हजार १ सय ६७ रुपैयाँ १३ पैसा सहकारीमा तिर्नका लागि फैसला सुनाएको श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।

सहकारीले साना किसान विकास बैँकको सहयोगमा हिसाब गरी सावा र व्याजसहित तिर्नका लागि मुद्दा दिएकोमा सो रकम तिर्नका लागि फैसलामा माग दाबी बमोजिम आंशिक दाबी पुग्ने भन्दै फैसला गरेर किसानहरुको रकम जोगिएको सहकारीका सदस्य नरबहादुरभण्डारीले बताउनुभयो ।

सहकारीका व्यवस्थापकले साना किसान विकास बेँकमा हिसाब बुझाउने गर्दा समस्या देखिएपछि सञ्चालक समिति समेत बसेर जिल्ला अदालतमा मुद्दा सुरु हुनु अघि हिसाब जाँच गरिएको र हिनामिना भएको रकम फिर्ता गर्न अनुरोध गरिए पनि रकम फिर्ता नगरेपछि मुद्दा दिइएको सहकारी सञ्चालक समितिका सदस्य भण्डारीको भनाइ छ ।

यसअघि सहकारीका व्यवस्थापक लीलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दिपक श्रेष्ठ समेत १० जनाविरुद्ध अपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरी सजाय गरिपाऊँ भनी जिल्ला अदालतमा ०७७ फागुन ४ गते मुद्दा दर्ता गराउनुभएको थियो ।

यसैगरि ०७७ फागुन १० गते हिसाब जाँच गरी दायित्व बहन गराई पाउँ भनी जिल्ला अदालतमा लीलादेवी पोखरेल अधिकारीले मुद्दा दर्ता गराउनुभएकोमा जिल्ला न्यायाधीश पराजुलीको ०८० जेठ १८ गतेको इजलासले दाबी नपुग्ने ठहर गरेको छ ।

सुनौलाबजार साना किसान कृति सहकारी संस्थाले सहकारीका व्यवस्थापक लीलादेवी पोखरेल अधिकारीलाई ०७७ देखिनै निलम्बन गरेको थियो ।

सेयर सदस्यको रकम भएकोले व्यवस्थापकले रकम उपलब्ध गराएपछि सेयर सदस्य किसानहरुको माग बमोजिमको आवश्यकतामा आधारित कृषि ऋण उपलब्ध गराउन सकिने सहकारीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्