एघार महिनामा ९२ लाखको इन्धन स्वाहा 



वीरगन्ज ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ११ महिनाको अवधिमा ९२ लाखको इन्धन खपत भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले  इन्धन वितरणमा मनपर्दी गरेपछि ११ महिनाको अवधिमा ९२ लाख रुपैयाँ बराबरको इन्धन सकिएको  हो।

जम्मा ६ वटा वडा भएको सखुवाप्रसौनीमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु जनताको काममा हिडेर देखाएर उनीहरुले इन्धन सकाएका हुन् ।  अध्यक्ष र अधिकृतद्वयले वैशाखसम्ममा इन्धनमा मात्रै ९२ लाख ५ हजार ३९ रुपैयाँ सकाएका छन् । उनीहरुले आफ्नो निजी सम्पत्ति सरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाएको भन्दै गाउँवासीहरुले भने आपत्ति जनाएका छन् ।

 इन्धन वितरण गर्न अध्यक्ष र अधिकृतले मात्रै कुपन वितरण गर्ने गरेको अवस्थामा यसरी अप्रत्यासित रुपमा इन्धनको नाममा जनताको पैसामाथि रजाइँ गर्ने जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतले ११ महिनाको अवधि पूरा हुँदाहुँदै १ करोड नाघ्ने अवस्था रहेको भन्दै जनप्रतिनिधिहरुले नै चिन्ता जनाएका छन् ।

उनीहरुले २०७९ भदौ महिनामा ७ लाख ७४ हजार ४५४ रुपैयाँ, असोज महिनामा ५ लाख ७७ हजार ६० रुपैयाँ, कात्तिकमा १३ लाख १८ हजार ८६७ रुपैयाँ, मंसिरमा ८ लाख ७६ हजार ५८२ रुपैयाँ, पुसमा ४ लाख ८८ हजार १३४ रुपैयाँ, माघमा १३ लाख २३ हजार ७९३ रुपैयाँ, फागुनमा ३ लाख ५३ हजार ११९ रुपैयाँ, चैतमा ८ लाख ६३ हजार १२४ रुपैयाँ, २०८० वैशाखमा ७ लाख ३० हजार ६९० रुपैयाँ तथा जेठ १० गतेसम्म ६ लाख ३२ हजार ७६१ रुपैयाँ बराबरको इन्धन मात्रै सकाएका छन् ।यद्यपी यस बिषयमा गाउँपालिकाका अध्यक्ष  यादव र प्रशासकीय अधिकृत साहसंग कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्