दुर्गमको सोरु गाउँमा फुटबलको रौनक



मुगु।

मुगुको सोरु गाउँपालिकामा केही दिनयता फुटबलको रौनक छ । खेलकुदको खासै चहलपहल नदेखिने दुर्गम बस्तीमा प्रथम उपाध्यक्ष फुटबल गोल्डकपको आयोजनाले स्थानीयहरूमा उत्साह देखिएको छ । प्राय: गाईगोरु र भेडाबाख्रा चर्ने सोरुकोट पोग्रीचौरमा यतिबेला जिल्लाभरका फुटबलप्रेमी र दर्शक खचाखच छन् ।

खेतीपातीको कामै छाडेर वृद्धवृद्धाहरू पनि फुटबल हेर्न पोग्रीचौर पुग्छन् । गत जेठ २० गतेदेखि प्रारम्भ भएको उपाध्यक्ष गोल्डकप हेर्न टाढाबाट पनि मानिसहरू पोग्री चौर पुगेका छन् । ‘खेलकुद क्षेत्रमा सोरुको अभियान क्षमता खेलाडीको वास्तविक पहिचान’ मूल नारासहित सुरु गरिएको सातदिने गोल्डकपको उद्घाटन मुगुका प्रतिनिधिसभाका सांसद ऐनबहादुर शाहीले गरेका थिए ।

पालिकास्तरमा खेलकुद क्षेत्रको विकास गर्न प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गरिएको उपाध्यक्ष केशरबहादुर शाहीले बताए । खेलाडी पलायन हुने क्रम रोकेर खेलकुदप्रति आकर्षित गराउने गोल्डकपको उद्देश्य रहेको शाही बताउँछन् । जनताका आवश्यकता पूर्तिसँगै ग्रामीण क्षेत्रको खेलकुद प्रोत्साहन गर्न प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गरिएको अध्यक्ष धर्मबहादुर शाहीको भनाइ छ । सोरु गाउँपालिकाले आयोजना गरेको फुटबल गोल्डकपमा जिल्लाभरका १७ वटा टिम दर्ता भएका थिए । खेल संचालन भएको तेश्रो दिनमा १७ वटा टिममध्ये ५ वटा टिम पराजित भई बाहिए ।

गोल्डकपको लागि अखिल नेपाल फुटबल संघबाट ३ जना रेफ्री झिकाइएको छ । उक्त गोल्डकपमा जित हासिल गर्ने खेलाडी टिमलाई प्रथम पुस्कार १ लाख ११ हजार १ सय ११ नगदसहित मेडल ट्रफी र दोश्रो पुरस्कार ६६ हजार ६ सय ६६ नगदसहित मेडल ट्रफी र तेश्रो पुरस्कार ३३ हजार ३ सय ३३ नगदसहित मेडल ट्रफी प्रदान गरिने आयोजक पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्