नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने



मुगु

मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधि बनाएको हो ।

कार्यविधिमा हरेक दलित समुदायका प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपियाँ दशैं भत्ता उपलब्ध गराइने उल्लेख छ ।
नगरप्रमुख विष्णु कुमार भामले गएको दशैंमा पालिकासँग दलित घरधुरीको तथ्याङ्क नभएकोले उक्त समयमा दशैं भत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो । अहिले पालिकाले दलित घरधुरीको लगत सङ्कलन गरेर भत्ता दिने तयारी गरेको जानकारी दिनुभयो ।

लाभग्राहीहरूको एनआइसी एसिया बैङ्क शाखा मुगुमा खाता खोलिसकेको छ पालिकाको लेखा शाखाले दशैं भत्ता बापत लाभग्राहीको खातामा रुपियाँ भुक्तानीको सम्पादन हुँदै गरेको भामले भन्नुभयो ।

नगर प्रमुख भामले गाँस, बास समान अधिकार भएकाले पालिकाका  दलित समुदायको जग्गा कम भई उत्पादनमा कमी भएको र आम्दानीको अवस्था पनि कमजोर हुने भएकाले दलित समुदायलाई खाद्यान्न सामग्री खरिद गर्नमा सहजता होस भन्ने उद्देश्यले दलितलाई दशैं भत्ता उपलब्ध गराउन लागिएको बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका वडा नं–१२ का स्थानीय मुनबिर कामीले दशैं खर्चको जोहो गर्नलाई भत्ताले राहत मिल्ने बताउनुभयो । अन्य पालिकाले पनि यो किसिमको राहतको व्यवस्था हुनुपर्ने बताउनुभयो ।  नगरमा एक हजार २५६ दलित समुदायको घरधुरी रहेको पालिकाको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्