रहेनन् महाभारतका शकुनी



लोकप्रिय भारतीय धार्मिक टेलिसिरियल महाभारतमा महङ्कवपूर्ण पात्र मध्येका एक शकुनी मामाको अभिनय गरेर लोकप्रियता कमाएका भारतीय अभिनेता गुफी पंटेलको सोमबार बिहान ७८ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी पछिल्लो दुई हप्तादेखि मुम्बईको अधेरीस्थित एक अस्पतालमा भर्ना भएका थिए। हृदय रोग तथा मृगौलाको समस्यासँग लड्दै आएका उनको शुरुमा फरिदाबादको एक अस्पतालमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि मुम्बई लगिएको थियो। उपचारको क्रममा एक हप्तादेखि झनै स्वाथ्य अवस्था खराब भएपछि उनी दुई दिनदेखि भने होसमा थिएनन्।

सन् १९४४ मा पन्जाबमा जन्मिएका गुफी ८० को दशकमा कयौं भारतीय टेलिसिरियल तथा विज्ञापनमा देखिएका थिए। तर, उनले बीआर चोपडाको महाभारतबाट भने निकै लोकप्रियता कमाएका थिए। अभिनयको दुनियाँमा प्रवेश गर्नु पहिले उनी सेनमा थिए। सन् १९६२ मा भारत चीनको युद्ध हुँदा सेनामा भर्ना भएका उनको सेनाको रुपमा पहिलो पोस्टिङ चीनको बोर्डरमा भएको थियो।

अभिनयमा रुचि राख्ने उनी बोर्डरमा मनोरञ्जनको साधन नभए पनि सेनाका जवानका साथ रामलीला गर्दथे। जसमा उनी सीताको भूमिकामा अभिनय गर्थे। अभिनयमा रुचि भएका उनले आफ्नो भाई कवरजित पटेलले मुम्बई बोलाएपछि सोही बेला मोडलिङ तथा अभिनय सिकेर केही फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका थिए। सोही क्रममा बीआर चोपडाको महाभारतमा कास्टिङ निर्देशकको रुपमा काम गर्ने मौका पाएका थिए।

अन्य पात्रजस्तै शकुनी पात्रको लागि उपयुक्त अनुहार खोजिरहेका उनलाई महाभारतका स्क्रिप्ट लेखक मासुम राजाले शकुनीको भूमिकामा अभिनय गर्ने सल्लाह दिएपछि उनी आफै सो भूमिकामा दखिएका थिए। त्यसपछि थुप्रै सिरियलमा अभिनय गरेका उनी अन्तिमपटक भने स्टार भारतको जय कन्हैया लालकीमा देखिएका थिए। उनको परिवारमा श्रीमती तथा एक छोरा रहेका छन्। उनको सोमबार नै ओशीवारा शम्शानघाटमा अन्तिम सस्कार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्