पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जनाको मिर्गौला प्रत्यारोपण



काठमाडौँ। 

 शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा  आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । यो पोखरामा  सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।

मिर्गौला प्रत्यारोपण कार्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठ, डा दिपेश श्रेष्ठ, डा हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी हुनुभएको थियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा.अनुप चापागाईँ, एनेस्थेसियोलोजिष्ट डा रोहीनी सिग्देल, डा. माया लामा र नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, साथै ओ.टी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहनुभएको प्रत्यारोपण केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) का नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठका अनुसार तनहुँ व्याँसका २५ वर्षीया पुनम थापा मगरको आइतबार पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँका ४९ वर्षीय  बुवा राजु थापा मगरले मिर्गौला दान गर्नुभएको हो । त्यस्तै पर्वत मोदी ४ का २७ वर्षीय गम बहादुर मगरको पनि आइतवरै मिर्गौला प्रत्यारोपण गरिएको छ । उहाँलाई उहाँका ५२ वर्षीय  बुवा हेमन्त पुनले मिर्गौला दान गर्नुभएको थियो । आइतबार प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रत्यारोपण भएका दुवै जनाको निजी खर्चमा उक्त प्रत्यारोपण भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सरकारको मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने अभियान अन्तर्गत पोखरामा मिर्गौला प्रत्यारोपणले तीव्रता लिएको छ भने प्रादेशिक अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवाको सुरुवात भइसकेको छ । क्रमशः सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोसी प्रदेशको कोसी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भई रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामा पहिलो पटक २०७९ असार ९ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि ८ वटा सफल प्रत्यारोपण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्