विद्यालयप्रतिको दायित्वबाट पन्छिदै नगरपालिका



हेटौंडा।

हेटौंडा उपमहानगरले आफ्नो दायित्वबाट पन्छिदै स्थानीय वडालाई नै विद्यालय बन्द गर्ने/नगर्ने जिम्मा दिएको छ । पछिल्लो केही दिनयता हेटौंडामा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गर्नुपर्ने चौतर्फी आवाज उठेको थियो ।

विद्यालय बन्द गर्ने/नगर्ने विषयमा हेटौंडा उपमहानगरपालिकाले वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको उपमहानगर प्रवक्ता सबिन न्यौपानेले बताउनुभयो । भौतिक संरचना र आवश्यकता हेरेर हरेक वडाले आफ्नो क्षेत्रमा बिदा दिने/नदिने निर्णय गर्नसक्ने उहाँले बताउनुभयो । अन्य नगरपालिका वा गाउँपालिकाले भने धमाधम निर्णय गरिरहेका छन् ।

केही दिनयता हेटौंडामा अत्यधिक गर्मी बढेपछि स्कुले बालबालिका बिरामी पर्न थालेका छन् । गाउँपालिकाले आफैं निर्णय गरेर विद्यालय बिदा गर्दा नगरपालिका भने वडालाई जिम्मेवारी सार्दै आफू चुप बसेको छ ।

तापक्रम बढ्दै गएकाले विशेषगरि बालबालिका र वृद्धमा बढी समस्या देखिन थालेको छ । अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको हो । हेटौंडाका विद्यालयमा अध्ययनरत् बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेको छ । जस्ताको छाना हुने विद्यालयमा अध्ययनरत् विद्यार्थी र उनीहरुका शिक्षक गर्मीका कारण बढी समस्यामा छन् ।

गर्मी बढेकाले केही दिन विद्यालय बन्द गर्नुपर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले माग गरेको छ । अन्य बिदामा मिलान हुने गरी हेटौंडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गर्नुपर्ने प्याब्सन अध्यक्ष बिनोद सुबेदीले बताउनुभयो ।

अभिभावक संघले पनि हेटौंडामा विद्यालय केही दिन बन्द गर्नुपर्ने बताएको छ । अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर वडाले नर्णय गर्नुपर्ने अभिभावक संघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले बताउनुभयो । ‘दिनदिनै बालबालिका बिरामी भइरहेको गुनासो आएको छ । तत्काल केही दिनका लागि विद्यालय बन्द गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

मकवानपुरमा अत्यधिक गर्मी बढेपछि जिल्लाको बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दैं जेठ २१ गते आइतबारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ । हेटौंडा–४ र ५ ले भने ३ दिन विद्यालय बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्