जमिन भासिएपछि पर्वत अस्पतालको भवन निर्माण अलपत्र 



पर्वत 
जमिन भाँसिएपछि पर्वत अस्पतालको नयाँ भवन निर्माणको काम अलपत्र परेको छ ।  अस्पतालको ‘इ’ ब्लक निर्माणको क्रममा जमिन भासिएपछि सो ब्लकको निर्माण कार्य अलपत्र परेको हो ।
‘इ’ ब्लकको भवनको भुईँ तलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकता अनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुईँ तलाको भागमा ‘बीम’ रहेको ठाउँ बाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न सकेको छैन। २०७७ सालको असार-साउनदेखि भासिन सुरु गरेको भवनको ‘बीम’ हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने भन्दै निर्माणको थप काम हुन सकिरहेको छैन।
भूगर्वविदहरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मीना अधिकारीले बताउनुभयो । ‘तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप कामहरू अगाडि बढ्न सकेनन्।  गतबर्ष  असोजमा ठुलो वर्षा भएको बेलामा फेरि पनि भासियो’, निमिक्त मेसु अधिकारीले भन्नुभयो  ‘समस्या समाधानको लागि  सहरी विकास कार्यालयको विभागबाट आएको टोलीले  ग्राउटीङ गर्न आवश्यक रहेको सुझाब दिएकाले पहिले  माटो परीक्षणको रिर्पोटपछि काम हुन सक्ने अपेक्षा छ।’
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शैयाको क्षमताबाट ५० शैया क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ। २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ।
अस्पतालको भवन बनेको डिलको भाग कालीगण्डकी नदी किनारतर्फ रहेको तथा भीरको नजिक रहेकाले भित्रभित्रै नदीले माटोको भाग तानेका कारण भासिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुन सक्ने भूगर्वविदहरूले अनुमान गरेका थिए। ‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमिनसमेत भासिएको छ।
ठेकेदारले काम गरिरहेको भए पनि धमाधम काम भएको छैन। निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो। निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रा.लि.प्रोजेक्ट म्यानेजर अमित कुमार पाण्डेले भवनको काम सक्नै लागि भनेर फेरि पनि भूगर्वविदहरूको टोली अध्ययनको लागि आउन लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्