सेनाले तयार गर्‍यो सामुदायिक विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति



काभ्रे।

नेपाली सेना कालीजंग गणद्वारा सञ्चालन गरिएको सामुदायिक विपद प्रतिकार्य तालिम २०८० समापन भएको छ । जिल्लाका १० वटा पालिकाका ८० जना सहभागी तालिम जेठ १६ देखि १९ सम्म आयोजना गरिएको थियो ।

‘विपदको परिचय र विपद व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामाग्री, सिप तथा कलाहरु, बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाहरुको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय श्रोत तथा साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधिहरु र विपद्को समयमा आधुनिक उपकरणहरुको प्रयोगका बारेमा तालिम उपलब्ध गराइएको हो’– कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भन्नुभयो–‘जिल्लाका अधिकांश भू–भाग पहाडी तथा भिरालो भएको, जिल्ला भएर बग्ने सुनकोशी, इन्द्रावती, रोशी लगायतका ठुला नदी तथा खोलाहरु विपद्को हिसावल जोखिममुक्त छ ।

वर्षायाम हुँदा पहिरोको जोखिम, पुराना घरहरु तथा बजार इलाकामा बाक्लो बस्ती, जंगल इलाका धेरै भएकाले हुन सक्ने आगलागीका घटनाहरु अत्यधिक मात्रमा हुने गरेको छ । यस्ता विपदका घटनाहरुमा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्न सक्ने क्षमताको विकास गर्न यो तालिम महत्त्वपूर्ण छ ।’

विपदको दौरान उद्धारकर्मीको उपस्थिति विना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ भई कार्य गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्य अनुरुप कालीजंग गणका दक्ष विपद् व्यवस्थापन टिमद्वारा सामुदायिक विपद प्रतिकार्य तालिम २०८० सञ्चालन गरिएको नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । प्राथमिक उपचार तथा मेडिकल सम्बन्धी प्रशिक्षण र अभ्यास शिर मेमोरियल अस्पताल, मेथिन्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुले गराउनु भएको थियो । चार दिन तालिममा सिकेका विषय र अभ्यासहरुलाई समापनको अवसरमा शिक्षार्थीहरुबाट डमोन्स्ट्रेशन गरिएको थियो । डोरीको सहायतबाट ¥याप्लिङ्ग, डोरीको माध्यमबाट विभिन्न गाँठो तथा नटहरु बनाउने तरिका (जसबाट उद्धारका लागि सहज हुनेछ ।), वाढी तथा डुबानमा रेस्क्युको दौरान इम्प्रोभिसेड ¥याफट बोट बनाउने तरिका, घाइते बिरामीलाई अस्पताल लैजान स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीबाट स्ट्रेचर बनाउने तरिका, घाइते बिरामीको प्राथमिक उपचारका बारेमा जानकारी गराइएको थियो ।

जिल्लाका १३ वटा पालिकाका १ सय ३५ वटा वडामै विपद् पछिको खोज तथा उद्धारमा दक्ष जनशक्ति उत्पादन गर्ने र उक्त जनशक्तिले आवश्यक सामाग्रीको पूर्व तयारी तथा अन्य जनशक्तिलाई प्रशिक्षित गर्न सकोस् भन्ने उद्देश्यमा पालिकाबाट सहभागीहरूले खुसी व्यक्त गरेका थिए । सहभागीहरूले यस्ता तालिम र प्रशिक्षण स्थानीय स्तरमा सञ्चालन गर्न पालिकाहरुलाई अनुरोध गरेका छन् । व्यक्तिको ज्यान बचाउने उद्देश्यले आयोजना गरिएको तालिम महत्त्वपूर्ण र फलदायी भएको सहभागीहरूले बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो–‘जिल्लाका नागरिकहरुको सुरक्षासँगै विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका सबै क्षेत्रमा दक्ष जनशक्ति, उपलब्ध श्रोत र साधनको समुचित प्रयोग गर्न सक्ने तर्फ ध्यान दिएका छौँ ।’ हरेक विपदमा जुध्न सक्ने जनशक्ति तयारका लागि तालिम महत्त्वपूर्ण भएको उहाँले बताउनु भयो ।

जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङले काभ्रेपलाञ्चोक जिल्ला विभिन्न दृष्टिकोणबाट विपदको उच्च जोखिममा रहेकाले विपद न्युनिकरणसँगै विपद पछि हुन सक्ने सम्भावित जोखिममा पर्ने नागरिकहरुको खोज तथा उद्धारका लागि नेपाली सेना कालीजंग गणले आयोजना गरेको चार दिने तालिम फलदायी र महत्त्वपूर्ण भएको बताउनु भयो । धुलिखेल नगरपालिकाको सभाहलमा भएको तालिमलाई धुलिखेल नगरपालिकाले सहयोग गरेको थियो । यस अघि नेपाली सेनाको कालीजंग गणले विपद् पछिको खोज तथा उद्धारको पूर्व अभ्यास सुनकोशी नदी दोलालघाटमा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्