वालिङको अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा



स्याङ्जा । भौगोलिक रुपले केही विकट मानिएको पहाडी जिल्ला स्याङ्जामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा आएको छ । जिल्लाको वालिङमा रहेको गह्रौं प्राथमिक अस्पतालमा अत्यावश्यक प्रसुती शल्यक्रिया सेवा सुरु भएको छ । वालिङ नगरपालिकाले विनीयोजन गरेको बजेट मार्फत वालिङमा रहेको प्राथमिक अस्पताललाई आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराईएपछि जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याईएको हो ।

सेवा अन्तर्गत पहिलो पटक ३२ वर्षिय महिलाले स्वस्थ्य बच्चालाइ जन्म दिएको अस्पतालले जनाएको छ । उक्त सेवाबाट २ जना महिलाले सेवा लिईसक्नुभएको छ । वालिङ नगरपालिका वडा नं. ६ र ८ का २ जना महिलालाई शल्यक्रियामार्फत प्रसुती सेवा प्रदान गरिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डा. सुरज ढकालले जानकारी दिनुभयो । उहाँले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । यो सेवालाई अझ सुविधायुक्त बनाउँदै लैजाने योजना रहेको ढकालको भनाई छ । विशेषज्ञ चिकित्सक डा. नारायणबहादुर गोदार र डा. सुरज ढकालको संयुक्त स्वास्थ्यकर्मीको टीमले पहिलो पटक शल्यक्रिया गरेको थियो ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलाहरुलाइ परेको समस्यामा केन्द्रित हुदँै समान्य शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्घोष गर्नुभएको थियो । सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएको भन्दै खांणले खुसी व्यक्त गर्नुभयो । सवै मिलेर काम गरियो भने असम्भव केहि नहुने भन्दै खांणले आफु वालिङको नगरप्रमुख भन्दा पनि जनताको सेवक भएको बताउनुभयो । नगरप्रमुख खाँणले धेरै प्रतिबद्धता गर्नु भन्दा पनि सकेसम्म जे योजना र अभियान चालिएको छ त्यो काममै निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले यस अस्पतालमा प्रसुती सेवा सञ्चालन भएसँगै धेरै महिलाहरुलाई सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । प्रसुतीको लागि अन्य जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उहाँले यो सेवालाई अझ सुविधायुक्त बनाउँदै लैजाने योजना रहेको बताउनुभयो । अहिले गह्रौं प्राथमिक अस्पतालमा अत्यावश्यक शल्यक्रिया अन्तर्गत हाइड्रोसिल, हर्निया र एपन्डिक्सको पनि सेवाप्रवाह भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्