कलंकीमाईको रजत जयन्ती मनाइँदै 



काठमाडौं।

कलंकीमाई मन्दिरको  संरक्षण गर्न गठित संस्था स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाइँदै छ । बिहीबार दृश्य होटल कलंकीमा पत्रकार सम्मेलन गर्दै कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले सो बताएको हो ।

उक्त संस्था २०५४ कात्तिक २५ गते सो संस्था विधिवत् रूपमा दर्ता भएको थियो । २०७९ फागुन २९ गते मन्दिरमा विशेष पूजा गरी रजत जयन्ती महोत्सव सुरु गरिएको संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । गत फागुनमा सुरु भएको कार्यक्रम कात्तिक २५ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइने भएको रजत जयन्ती समारोह समितिका संयोजक सुन्दर थापाले जानकारी दिनुभयो  ।

रजत जयन्ती मनाउन २ हजार ५ सय सदस्यीय समिति समेत गठन गरिएको छ । ‘पुर्खाले जोगाएका धार्मिक तथा सांस्कृतिक सम्पदाको हामीले जर्गेना गर्नुपर्छ’, काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठ भन्नुहुन्छ– ‘धर्मले नै हामीलाई सही बाटो देखाउने भएकाले यसको संरक्षण सम्वद्र्धनमा लाग्न जरुरी छ ।’ रजत जयन्ती मनाउन वडाले केही बजेट छुट्याएको पनि उहाँले कार्यक्रममा बताउनुभएको थियो ।

सोही कार्यक्रमअन्तर्गत संस्थाले यसअघि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, नववर्षको शुभकामना आदान–प्रदान, क्यालेन्डर वितरण,कलंकीदेखि दहचोक हुँदै कालुपाण्डे समाधिस्थलसम्म पदयात्रा कार्यक्रम गरिसकेको छ । कलंकीचोक प्रख्यात भए जस्तै कलंकीमाईको महिमा पनि सबैलाई बुझाउन जरुरी भएको संस्थाका अध्यक्ष वीरबहादुर थापा बताउनुहुन्छ । मन्दिरको प्रचार–प्रसार गरी यसको महिमा बुझाउने कार्यमा सहयोग गर्न उहाँले पत्रकारलाई अनुरोधसमेत गर्नुभएको थियो ।

त्यस्तै, संस्थाले यही २० गते रक्तदान कार्यक्रम गर्ने भएको छ । असार ३० गते धार्मिक प्रवचन, साउन २७ गते बुढानीलकण्ठ, गुहेश्वरी मन्दिरको धार्मिक भ्रमण, भदौ २३ गते विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्ने भएको छ । घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिने कार्यतालिका छ ।
रजत जयन्ती समापनका दिन स्मारिका प्रकाशन, ज्येष्ठ सदस्य र विद्यार्थीलाई सम्मान, गरिब तथा असहायलाई भोजनको गराइने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्