विद्यालय नर्स कार्यक्रम पुनः सञ्चालन



डडेल्धुरा। 

डडेल्धुराको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ डोलास्थित  दुर्गा माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय दिपायलमार्फत स्वास्थ्य कार्यालय डडेल्धुराले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रम दुर्गा माविमा पुनः सञ्चालनमा आएको हो । सो विद्यालयमा स्वास्थ्य कार्यालय डडेल्धुराले विद्यालय नर्सका रूप अनमी बसन्ती अवस्थीलाई खटाएको छ । विद्यालयमा नर्सले नियमित रूपमा विद्यार्थीको स्वास्थ्य चेकजाँच, महिनावारी स्वच्छता, वातावरण सरसफाइ, किशोरीहरूलाई आइरन फोलिक एसिड, किशोर–किशोरीलाई स्वास्थ्य शिक्षा, पोषण शिक्षा, स्यानिटेरी प्याड विवरणलगायतका कार्यहरू गर्दै आएको विद्यालयका शिक्षक इन्द्रबहादुर साउँदले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ । उक्त विद्यालयमा हाल सात सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नियुक्तिपछि आफूले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वास्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्ने गरेको दुर्गा माविमा कार्यरत विद्यालय नर्स अवस्थीले बताउनु भयो ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमबाट विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयको लक्ष्य रहेको छ । डडेल्धुराका १३ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको छ । कार्यक्रम निकै प्रभावकारी भएकाले अन्य सामुदायिक विद्यालयबाट पनि कार्यक्रम माग भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्