विश्व दूध दिवस : धुलिखेल अस्पतालका बिरामीलाई दूधका परिकार वितरण



काभ्रे । 

विश्व दुग्ध दिवसको अवसर पारेर बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौडाले धुलिखेल अस्पताल, चितवन अस्पताल तथा मकवानपुर र चितवनमा रहेका दुई आश्रममा दूध र दुग्धजन्य परिकारहरु हस्तान्तरण गरेको छ ।

‘दूधको सेवन तथा उपयोगले नागरिकहरु स्वस्थ बनाउन सहज हुन्छ’–बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्वधव सापकोटाले भन्नुभयो–‘दुग्ध दिवसको अवसरमा काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनमा दूध र दुग्धबाट बनेका केही परिकाहरु उपलब्ध गराएका छौँ ।’ धुलिखेल अस्पतालमा रहेका बिरामीहरूका लागि उपयोग गर्ने गरी बागमती प्रदेश दुग्ध विकास बोर्डका तर्फबाट २ सय ५० लिटर दूध उपलब्ध गराइएको निर्देशक डा. सचिता ज्ञवालीले बताउनु भयो । दूधका साथै दूधबाट बनेका परिकार ६० लिटर दही, १५ केजी घिउ र १० केजी पनिर उपलब्ध गराइएको निर्देशक ज्ञवालीले बताउनु भयो । विकास बोर्डका तर्फबाट उपाध्यक्ष टिकाबल्धव सापकोटा, निर्देशक डा. सचिता ज्ञवाली, सहायक निर्देशक मोहनकुमार यादव र सहयोगी अमृता केसी सहभागी थिए भने अस्पतालका तर्फबाट मेट्रन सुबासना माकजु लगायतको टिम सहभागी थियो ।

बागमती दुग्ध विकास बोर्डले कोरोनाको समयमा पनि धुलिखेल अस्पताल लगायतका स्थानमा बिरामीहरूका लागि दूध र दुग्धजन्य परिकारहरु उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्