सञ्चार जगत्मा देखिएको तरंग



नेपाली पत्रकारिता क्षेत्रमा पछिल्लो समय देखिएको ट्रेनलाई हेर्दा हामी कता जाँदै छौं र समाजको ऐनाको रुपमा रहेको नेपाली पत्रकारिता जगत् कस्तो समाज निर्माणमा जुटेको छ ? भन्ने अहं प्रश्नको रुपमा देखिएको छ । जसले जे गरे पनि हुने, जसले जसलाई खुइल्याए पनि हुने तर सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि कसैले औंला उठायो भने प्रेस स्वतन्त्रता हनन हुने नेपाली सञ्चारमाध्यमले कस्तो विधि स्थापना गर्न खोजेको हो ? यो अहिले विचारणीय विषय बनेको छ । केही समय सञ्चारमाध्यमले प्रवाह गरेका समाचारले कस्तो भाष्य निर्माण गर्न खोजेको हो ? यो आम मानिसको चासोको विषय बन्दै गएको छ । तथ्यभन्दा पनि सञ्चारमाध्यमले आफू अनुकूलको समाचार प्रकाशन तथा प्रसारण गराउने र सञ्चार गृहको चासोलाई स्वयं सञ्चारकर्मीले पिरो–अमिलो दलेर समाचार बनाउने कामले अहिले प्रश्रय पाएको देखिन्छ ।

अहिलेका समाचारलाई हेर्दा व्यक्तिगत कुण्ठा पोख्ने थलोको रुपमा सञ्चारमाध्यम र सञ्चारकर्मी प्रयोग हुनु देशको हितमा देखिँदैन । समाचार भनेको तथ्यपरक हुनुपर्ने हो तर अहिले सञ्चारमाध्यममा आउने समाचारलाई विश्लेषण गर्ने हो भने तथ्य एकातिर र समाचार अर्कोतिरका हुन थालेका छन् । समाजमा आफूलाई स्थापित गराउने नाममा समाजलाई नै दिग्भ्रमित पार्ने खालका समाचार आउनु पक्कै पनि राम्रो कुरा होइन । समाज निर्माणको एउटा पाटोको रुपमा हेरिएको र चौथो अंगको मान्यता पाएको सञ्चारमाध्यमले आफूलाई निष्पक्षरुपमा प्रस्तुत गर्नुपर्ने होइन र ? तर यहाँ त्यसो हुन सकेको छैन ।

छिमेकी मुलुक भारतका सञ्चारमाध्यमलाई समेत माथ खुवाउने गरी जसरी समाचारहरु प्रकाशन र प्रसारण भएका छन्, यसले विधिको शासनलाई सही मार्गमा ल्याउन सक्ने देखिँदैन । लोकतन्त्रको एउटा खम्बाको रुपमा रहेको पत्रकारिता क्षेत्र पछिल्लो समय मक्किने अवस्थामा पुगेको छ । क्षणिकरुपमा रापताप दिए पनि यसले दीर्घकालमा पार्ने असरका बारेमा सोच्नुपर्ने होइन र ? मुलुकमा नै बुद्धिजीवीको दर्जा पाएका सञ्चारकर्मीहरुको पछिल्लो अभिव्यक्ति र लेखनले कस्तो समाज निर्माण होला र भावी पुस्ताले नेपाली पत्रकारिता जगत्लाई कसरी हेर्लान् ? यो गहन विषय बन्न पुगेको छ ।

समाजमा भएका विसंगति र विकृतिको विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने सञ्चारमाध्यम नै आफ्नो मर्म भुलेर निहित स्वार्थमा लाग्ने हो भने यसले पक्कै पनि सकारात्मक परिणाम दिँदैन । त्यसैले आफ्ना व्यक्तिगत कुण्ठाभन्दा पनि यथार्थपरक समाचार प्रवाह गर्नु सञ्चारमाध्यम र सञ्चारकर्मीको नैतिक दायित्व हो । एउटा सानो गल्तीले ल्याउने दुष्परिणामको बारेमा सचेत हुनुपर्ने वर्ग नै विचलित हुँदै गयो भने यसले ल्याउने परिणाम भयावह हुन सक्छ । त्यसैले यस वर्गले सचेत नागरिकको भूमिका निर्वाह गर्न चुक्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्