आत्महत्याको ‘कारक’ मानसिक स्वास्थ्य 



काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख, मानसिक अस्पतालका निर्देशक, सञ्चारकर्मी, प्रहरीका प्रतिनिधिहरुले समुदायमा लुकेर बसेका मानसिक रोगका बिरामीहरूको पहिचान, उपचार र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको बताए ।

‘जिल्लामा बढिरहेको आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी छलफल भएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाईले भन्नुभयो–‘मानसिक स्वास्थ्यका लागि समग्र प्रणालीको विकास हुनुपर्छ । मानसिक स्वास्थ्यका बारेमा नागरिकहरु सचेत गराउन सकिँदा मात्रै आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।’ तिन तहकै सरकारको समन्वय, सहकार्य र सह अस्तित्वका आधारमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिँदा मात्रै प्रभावकारी बनाउन सकिने डा. सेढाईले बताउनु भयो । १३ वटा पालिकमा मानसिक स्वास्थ्यका बारेमा भएका अभ्यास, अवस्था र आगामी योजनाका बारेमा स्वास्थ्य शाखाका प्रमुखहरुले जानकारी गराउनु भएको थियो ।

मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारीले सरकारले पहिलो पटक बजेटमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । संघ सरकारले प्रस्तुत गरेको बजेटमा मानसिक स्वास्थ्यका बारेमा उल्लेख गरिएको बताउँदै डा. अधिकारीले स्थानीय तहबाट प्रभाव हुने सेवामा मानसिक स्वास्थ्य अनिवार्य हुनु पर्ने बताउनुभयो । विद्यालय, संघ संस्था, धामिझाँक्री तथा अन्य क्षेत्रले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर परीक्षण, पहिचान र उपचारमा ध्यान दिन सकेको अवस्थामा आत्महत्या न्यूनीकरण गर्न सकिने उहाँले बताउनु भयो । ‘मानसिक स्वास्थ्यलाई न्यूनीकरण गर्न नसक्दा आत्महत्याको दर बढिरहेको छ’–डा. अधिकारीले भन्नुभयो–‘२०४० सालमा स्थापना भएको ५० शय्याको देशभरमा एउटा अस्पताल छ । त्यो अस्पतालले दिने सेवाले कति नागरिकहरु स्वस्थ हुन सक्छन् ? स्थानीय तहले रणनीतिक योजनामा मानसिक स्वास्थ्यलाई समेट्नु आवश्यक छ ।’ नैराश्यता अथार्त डिप्रेसनले गाँजेको व्यक्तिले समयमै उपचार पाउन सक्दा आत्महत्या रोकिने बताउँदै डा. अधिकारीले त्यस्ता व्यक्तिले पटक पटकको प्रयास र योजनामा मात्रै आत्महत्या गर्ने भएकाले परिवार तथा आफन्तले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सरकारी स्तरबाट २४ सै घण्टा मनोसामाजिक परामर्शका लागि सरकारले ११६६ नम्वरको निःशुल्क हटर्लान सेवा सुरु गरेकाले नागरिकहरुले मानसिक स्वास्थ्य सम्बन्धी कुनै समस्या भए फोन मार्फत निःशुल्क परामर्श लिन डा. अधिकारीले अनुरोध गर्नु भयो ।

‘मानसिक स्वास्थ्यका अनेक कारण छन् । व्यक्तिको दायित्व बहन हुँदा, बेरोजारी समस्या तथा आर्थिक, सामाजिक, राजनीतिक दायित्व पुरा हुन सक्दा मानसिक स्वास्थ्यका समस्यामा कमी आउँछ र आत्महत्या रोकिन पुग्छ’–डा. अनन्त अधिकारीले भन्नुभयो–‘नियमित मानसिक स्वास्थ्यका शिविर, बालबालिकाहरुलाई जनचेतनामूलक कार्यक्रम, तीन तहकै सरकारको प्राथमिकतामा यि विषय पार्न आवश्यक छ ।’ नेपालमा १०–२० प्रतिशतसम्म नागरिकमा मानसिक स्वास्थ्य समस्या भएको तथ्याङ्कले देखाए पनि उपचार गराउन जाने र नियमित औषधी सेवन गर्नेको संख्या न्यून छ । जसका कारण आत्महत्याका घटना बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल, पनौती, पाँचखाल लगायतका पालिकाहरुले मानसिक रोगका बारेमा परामर्श, उपचार र पहिचानका लागि काम गरेको बताएका छन् भने अन्य पालिकाहरुले पनि प्राथमिकतामा राखेको बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेकी वरिष्ठ सई सम्झना पौडेल, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सचिव कपिल कोइराला लगायतले मानसिक स्वास्थ्यको अवस्था र समस्यालाई स्थानीय तहबाटै प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्