चापाकोट नगरपालिकाको जलपान खर्च ६० लाख



स्याङ्जा । 

५९ लाख ९४ हजार रुपैयाँ । यो कुनै विकास योजनाको बजेट होइन । स्याङ्जाको चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च हो । नगरपालिकाले यस शीर्षकमा निर्धारितभन्दा निकै बढी खर्च गरेको महालेखाले औँल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा खाजा, खाना तथा विविध खर्चमा झन्डै ६० लाख खर्च गरेको पाइएको छ ।

वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा यो खर्च धेरै देखिन्छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा चापाकोट नगरपालिकामा रहेको होटेल कालीगण्डकी एन्ड लज लगायत विभिन्न ठाउँमा खाजा, खाना तथा विविध खर्चमा मात्रै ५९ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।

महालेखापरीक्षकको कार्यालय, काठमाडौँले सार्वजनिक गरेको चापाकोट नगरपालिकाको पाँचौँ वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षणको क्रममा नमुना छनोटको आधारमा हेर्दा स्पष्ट प्रयोजन र आधार नखुलाई खाजा, खाना तथा विविध खर्च गरेको पाइएको भनिएको छ ।

खाजा खर्च मात्र होइन, भत्ता र यातायातमा पनि नगरपालिकाको खर्च अचाक्ली छ । प्रतिवदेनमा भनिएको छ, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा सो खर्चलाई पुस्टाई गर्ने प्रमाण कागजात समेतको लेखा राख्नुपर्ने तर सो अनुशार भएको पाइएन । नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड २०७७ को दफा २ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको शिलशिलमा खर्च गर्दा मितव्ययिता अपनाउनुपर्छ भनिएको छ । कार्यालय समान, मसलन्द, पानी, बिजुली, इन्धन, विविध खर्च लगायतका शीर्षकमा खर्च गर्दा मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था भएकोमा पालिकाले खाना, खाजा तथा अतिथि सत्कारको लागि ५९ लाख ९४ हजार खर्च गरेको छ । लेखापरीक्षणको क्रममा नमुना छनोटको आधारमा हेर्दा स्पष्ट प्रयोजन र आधार नखुलाई खर्च गरेको देखिन्छ । पालिकाले यसरी हुने खर्चमा नियन्त्रण गर्नुपर्दछ भनिएको छ ।

महालेखाले भनेको छ, विवरण केलाउँदा पदाधिकारीले खाजा खर्च, बैठक भत्ता र सवारी साधनमा गरेको खर्च अस्वाभाविक देखियो । महालेखाले प्रयोजन नखुलाई गरेको विविध खर्चको उदाहरणहरुमा होटेल कालीगण्डकी प्रा.लि.को मात्रै झन्डै १७ लाख बराबरको खर्च सार्वजनिक गरेको छ । खाजा, खाना तथा विविध खर्चमा २०७८ भदौ २३ गते ८८ हजार ७ सय ५०, सोही मितिमा ९८ हजार ७ सय ८२, भदौ २५ गते २ लाख ७६ हजार २ सय ७४, असोज १९ गते ३ लाख ८३ हजार ३, कार्त्तिक २ गते १ लाख ४१ हजार ८ सय ७०, पुस ५ गते ७५ हजार ६ सय ५, पुस ३० गते ९८ हजार ६ सय ५, माघ १३ गते १ लाख १३ हजार ४ सय ४९, फागुन १० गते २ लाख ७१ हजार ६ सय ३७ र फागुन २२ गते १ लाख ३१ हजार ५ सय ७० रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । महालेखाले उदाहरणको लागि मात्रै भनेर दिएको रकम मात्रै १६ लाख ७९ हजार ८ सय ६६ रुपैयाँ रहेको छ । गत वर्षको महालेखाको प्रतिवेदनमा पनि होटेल कालीगण्डकी प्रा.लि.मा प्रयोजन नखुलाई खर्च गरेको र यसलाई नियन्त्रण गर्नुपर्छ भनेर सुझाव दिएको थियो ।

नगरपालिकाका पदाधिकारीहरुले जलपानमा मात्रै दैनिक २१ हजार ३ सय ३० खर्च गर्दा रहेछन् । आव २०७८÷७९ मा उनीहरुले गरेको ५९ लाख ९४ हजारलाई कार्यालय खुलेको दिनका दरले हिसाब गर्दा यो अंक निस्कन्छ । दिनमा कति वटासम्म बैठक बस्ने, मेयर÷उपमेयरले जलपानमा कतिसम्म खर्च गर्न पाउने भन्ने नगरपालिकासँग कुनै नियम रहेको भेटिएन । कर्मचारीहरु यतिविघ्न खर्च भयो होला भनेर पत्याउँदैनन् । एक जना कर्मचारी भन्नुहुन्छ, ‘मेयर र उपमेयरकोमा मान्छे त टन्नै आउँछन् । तर, जलपानमा यति धेरै खर्च चाहिँ अस्वाभाविक नै हो ।’

प्रतिक्रिया दिनुहोस्