हेल्थ टिप्स- मानसिक रोगको उपचारलाई योगले थप प्रभावकारी बनाउँछ



भारतको कर्नाटकमा रहेको मानसिक रोगसम्बन्धी अध्ययन गर्ने प्रसिद्ध संस्था ‘राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्था’ मूलरुपमा मानसिक रोगीहरुको उपचार गर्ने संस्था हो । यस चिकित्सा विज्ञान संस्थामा मानसिक रोग विषयमा उच्च स्तरको पढाइ पनि हुन्छ ।

सन् १९७० मा खुलेको यो संस्थामा सन् २०१४ देखि योेगले मानसिक रोगहरुको उपचार गर्न कस्तो भूमिका खेल्न सक्छ भनेर अध्ययन पनि शुरु भएको थियो । मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने उक्त संस्थामा मानसिक रोग विज्ञहरु, आयुर्वेद तथा योग विज्ञहरुसमेत समावेश गरेर कसरी योगासनले मानसिक बिरामीलाई फाइदा गर्छ भनेर अनुसन्धान पनि गरिँदै आएको छ ।

यस संस्थानमा गरिएको अध्ययनबाट के देखिएको छ भने, निराशापन (डिप्रेसन) का बिरामीलाई औषधि, परामर्शको साथै योगासनहरु पनि गर्दा रोग निको पार्न बढी सहज भयो । यो अध्ययन कोरोनाको महामारीको बेला गरिएको थियो । प्रोफेसर मुरलिधरन केसवनले यो अध्ययनको नेतृत्व गरेका थिए ।

७० जना बिरामीलाई साढे ३ वर्षसम्म यो अध्ययनमा सहभागी गराइएको थियो । यो अध्ययनको प्रतिवेदन क्यानडाबाट प्रकाशित हुने ‘मानसिक रोग’ सम्बन्धी पत्रिकामा पनि प्रकाशित भएको थियो । यससम्बन्धी अध्ययन गर्दा बिरामीहरुको अनुभवको साथै मस्तिष्कको विभिन्न भागको पनि आधुनिक तरिकाको जाँच गरिएको थियो ।

विभिन्न योगासनहरु गरेपछि सहभागीहरुको मस्तिष्कबाट निस्कने त्यस्ता किसिमका रसायनहरु बढी भएको पाइयो, जुन रसायनहरु कम हुँदा मानिस निराश हुने गर्छ । अन्य विभिन्न अध्ययनहरुमा पनि योगासनहरु र व्यायामहरु गर्दा साधारणदेखि कडा खालका डिप्रेसनलाई कम गर्न मद्दत पुग्ने गरेको कुरा उल्लेख गरिएको छ । यसरी व्यायाम गर्दा, हिँड्दा, पौडी खेल्दा मानिसको शरीरमा विषेश प्रकारको हर्मोन ‘इन्ड्रोफिन’ निस्कन्छ । यो रसायन (हर्मोनको) प्रभावले तनाव कम हुन्छ अनि मानिसलाई सहज र स्वस्थ महसुस हुन्छ ।

पहिले–पहिले योग र व्यायामले मानसिक तनाव, मानसिक रोग आदिको उपचारमा मद्दत गर्छ भन्दा यो अवैज्ञानिक कुरा हो भनेर हाँसोमा उडाइन्थ्यो । तर अहिले विभिन्न मानसिक रोगमा यिनको भूमिकाबारे वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेका छन् । तर यस्ता प्रयोगहरु आफैँले घरमा गर्नुहुँदैन, विज्ञहरुको सल्लाह अनुसार मात्र गर्नुपर्छ भन्ने कुरामा चाहिँ ध्यान राख्नुपर्छ ।

अत्याधुनिक मेसिन प्रयोग गरेर योगासन गर्ने व्यक्तिहरुको मस्तिष्कको जाँच गर्दा मस्तिष्कका अस्वस्थ कोषहरु बिस्तारै स्वस्थ भएको पाइएको छ । उमेरसँगै मानिसको मस्तिष्कका कोषहरु कमजोर हुँदै जान सक्छन् । तर अध्ययनले योगासन गर्नेहरुको मस्तिष्क सक्रिय र स्वस्थ रहने गरेको पुष्टि गरेको छ । चिकित्सकहरुले पहिले–पहिले ‘मस्तिष्कका कोषहरु उमेर बढ्दै जाँदा मर्दै जान्छन् र मस्तिष्कको सक्रियता कम हुन्छ’ भन्ने गर्थे । तर अनेक वैज्ञानिक अनुसन्धान, व्यावहारिक प्रयोग आदिले के देखाएको छ भने वास्तवमा मस्तिष्कका कोषहरुलाई सक्रिय बनाइराख्न अनेक उपायहरु छन् । पहिले त सकेसम्म शरीरलाई चलायमान राख्नु नै हो । उमेर अनुसारको हिँडाइ, व्यायाम, योगासन गर्नुपर्छ भनेर अहिले चिकित्सकहरुले पनि सल्लाह दिन्छन् ।

विभिन्न किसिमको ध्यानले तनाव कम गर्न सहयोग पुगेको र ज्येष्ठ नागरिकहरुको डिप्रेसन, आत्तिने समस्या पनि कम गर्न मद्दत पुगेको पाइएको कुरा ‘वृद्धावस्था र मानसिक स्वास्थ्य’ नामक एक स्वास्थ्य पत्रिकाले एक अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै प्रकाशन गरेकोे छ । यसको साथै मसाज गर्ने, संगीत सुन्ने आदिले पनि मद्दत गर्छ भन्ने निष्कर्ष निकालेको छ । कुनै ठूलो दुर्घटना परेपछि लामो समयसम्म रहिरहने निराशालाई कम गर्न पनि योगासनले मद्दत गर्ने कुरासमेत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै श्वास–प्रश्वासको व्यायाम (अनुलोम–विलोम, कुम्भक) आदिले मस्तिष्कलाई सक्रिय गरेर निराशा (डिप्रेसन) कम गर्न सक्छ भनेर अनुसन्धानले देखाएको छ । हुन त योगका विभिन्न प्रकारहरु हुन्छन् । अनेक थरीका योगासन, श्वास–प्रश्वासले शरीरको लचकता बढाउन, तनाव कम गर्न मद्दत गर्छ ।

विभिन्न वैज्ञानिक अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार योगासनले खुशी हुने हर्मोन मस्तिष्कमा पैदा गर्छ । जस्तो– डोपामिन, सेराटोनिन आदि । यस्ता रसायनहरुको कमीले डिप्रेसन हुन सक्ने सम्भावना हुन्छ । योगासन गर्दा प्रायः व्यायामजस्तो छिटो–छिटो गरिन्न तर पनि यसले मुटुको धड्कन बढाउन र मस्तिष्कलाई पनि सक्रिय गराउन भूमिका खेल्छ, आनन्दको अनुभूति दिन्छ । औषधिको साथै योगको संयुक्त प्रयोगले मानसिक समस्या छिट्टै निको हुन मद्दत गर्न सक्ने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् ।

अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार दैनिकरुपमा योगासन गर्नेहरुमध्ये ८६ प्रतिशतले योगासनले तनाव कम गर्न मद्दत गरेको बताएका छन् । योगासनले निद्रा राम्रो लगाउन पनि मद्दत गर्छ । ६० जना सहभागीहरुलाई समावेश गरेर गरिएको एक अनुसन्धान प्रतिवेदन अनुसार योगासन नियमित गर्दा निद्राको गुणस्तर र समयावधिमा पनि वृद्धि भएको पाइयो । निन्द्रा राम्रो भएपछि तनाव पनि कम भयो ।

ध्यान, योग गर्ने व्यक्तिहरुको भोजन पनि प्रायः स्वस्थकर हुने गरेको पाइएको छ । यसले गर्दा तौल बढ्ने क्रम पनि नियन्त्रणमा आउँछ र नसर्ने रोगहरु हुने सम्भावना पनि न्यूनीकरण हुन्छ । तर ज्येष्ठ नागरिकहरुले योगासन शुरु गर्दा आफँैले नगरी गुरुहरुको निगरानीमा गर्नुपर्छ ।

अक्सर्फाेड विश्वविद्यालयले गरेको एक अनुसन्धान प्रतिवेदन अनुसार एकदम रिसाउने, झगडा गर्ने मानिसको व्यवहारमा योगासनको प्रयोगले परिवर्तन ल्याउन सफलता मिलेको पाइएको छ । यो अध्ययन बेलायतको जेलमा गरिएको थियो । जेलका १८ वर्षमुनिका व्यक्तिहरुमाझ गरिएको यो अध्ययन १० हप्तासम्म गरिएको थियो । यो अध्ययन गर्दा जेलमा भएकाहरुको मानसिक तनाव आदिमा योगासनले के प्रभाव पार्छ भनेर हेरिएको थियो ।

सो अध्ययनमा आएको परिणाम अनुसार योगासन नगरेका व्यक्तिहरुको तुलनामा १० हप्ते योगको अनुसन्धानमा भाग लिएकाहरुको तनाव कम भएको पाइयो । उनीहरुको व्यक्तित्वमा पनि धेरै सुधार भएको पाइयो । ‘यसरी योगासन गर्दैमा सबै कैदीहरु एकैचोटि रिसाउन त छोड्दैनन् तर योग र ध्यानले उनीहरुमा सकारात्मक भाव भने जगाउने गरेको पाइएको छ । रिसाउनु र झगडा गर्नुभन्दा अघि विचार गर्ने शक्ति बढाउँछ । जेलबाट आएपछि समुदायमा कसरी रहने भन्ने जानकारी दिन्छौँ’, साम सेटल अक्सफोर्ड जेलका बन्दीहरुसँग काम गर्ने संस्थाका निर्देशकले भनेका छन् ।

त्यसै गरी सो सम्बन्धी केन्या (अफ्रिका) मा गरिएको एक अध्ययन प्रतिवेदन बेलायतको ‘जुर्नाल अफ मेडिसिन’ नामक पत्रिकामा छापिएको छ । सो प्रतिवेदन अनुसार मानसिक समस्या भएका ६३२ जनालाई योगासनमा सहभागी गराइएकोमा उनीहरुको बानी–व्यवहारमा परिवर्तन आउनुको साथै रोगमा समेत कमी आएको पाइयो ।

यसै गरी कलेजमा पढ्ने ६० जना छात्रहरुलाई परीक्षा शुरु हुनुभन्दा १२ हप्ताअघिदेखि योगासन गराएर अध्ययन गरिएको थियो । त्यसपछि जाँचको बेलामा उनीहरुको रगत जाँच गर्दा ‘कोर्टिजोल’ नामक रसायन उनीहरुको शरीरमा कम भएको पाइयो । कोर्टिजोल शरीरमा बढी हुँदा तनाव उत्पन्न हुने गर्छ ।

सन् २०२१ मा गरिएको एक अध्ययनमा डिप्रेसन भएका ८४ बिरामीमध्ये केहीलाई दश हप्तासम्म हप्ताको दुईचोटि योगासन गराउनुको साथै औषधि र परामर्श दिइएको थियो । केहीलाई औषधिको साथै परामर्शमात्र दिइएको थियो । औषधि र परामर्शमात्र गरिएका बिरामीहरुको तुलनामा योगासनसमेत गरेका व्यक्तिहरुले बढी स्वस्थताको अनुभव गरेको पाइयो । यस्ता अनुसन्धानहरुबाट योगासनले मानव मस्तिष्कलाई स्वस्थ राख्न तथा तनाव कम गर्न भूमिका खेल्छ भन्ने त भएको छ तर केवल योगासनकै भरमा मानसिक रोगहरु ठीक हुँदैनन् भन्नेचाहिँ सबैले बुझ्नुपर्छ ।

(डा. अरुणा उप्रेती, साधना हेल्थ मासिक, वि.सं. २०८० वैशाखबाट साभार)

प्रतिक्रिया दिनुहोस्