स्वास्थ्यमा २० अर्बले बजेट घट्यो



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷२०८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपियाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा स्वास्थ्यको बजेट झण्डै २० अर्बले घटेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा स्वास्थ्यलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटलाई संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड गरी छुट्याइएको थियो । तर, यो वर्षको स्वास्थ्यको बजेटलाई संघ, प्रदेश र स्थानीय तहमा नछुट्याई एकमुष्ट उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले २८ बुँदामा साँघुरो पारेर सार्वजनिक गर्नुभएको स्वास्थ्यसम्बन्धी बजेटमा विगतकै शीर्षकलाई तलमाथि पारी बजेटको सिलिङ कटौती गरिएको स्पष्ट देखिन्छ । स्वास्थ्यका कतिपय विषयलाई समेत अन्यत्र मिसमास गरिएको छ ।

बजेटमा निःशुल्क औषधि, अस्पतालहरूको क्षमता वृद्धि, स्वास्थ्य बिमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण, खोप सेवा, उपचारलाई समन्वयात्मक रूपमा कार्यान्वयन गर्नेलगायतका विषयहरू विगतमा झंै यसपटकको बजेटमा पनि समेटिएको छ ।

डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि मनसुनपूर्व र पछि ‘डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ । त्यसै गरी औलो, कालाजार, हात्तिपाइलेलगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न पनि बजेटमा आवश्यक रकम विनियोजन गरिएको छ ।

बजेटमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३ सय श्ययामा विस्तार गरिने, पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवारोग अस्पताल आगामी वर्षसम्म सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ ।

बजेटमा सरुवारोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन गरिएको छ । क्षयरोगमुक्त नेपाल अभियानअन्र्तगत रोगीहरूको पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरिएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड रुपियाँ विनियोजन गरिएको छ भने यसै कार्यक्रमअन्र्तगत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने घोषणा गरिएको छ ।

बहुसंख्यक जनताले सेवा प्राप्त गर्नेगरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइनेछ । हाल ३ सय २२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ श्ययाका अस्पताल निर्माण कार्यका लागि ८ अर्ब विनियोजन गरिएको छ । आगामी वर्ष निर्माण सम्पन्न हुने १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड रुपियाँ विनियोजन गरिएको छ ।

मातृ तथा नवजात शिशु कार्यक्रम र आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ । क्यान्सर, मेरुदण्ड, पक्षघात र मिर्गाैला प्रत्यारोपण गरेका तथा डायलासिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्चवापत दिँदै आएको मासिक ५ हजारलाई निरन्तरता दिइएको छ । त्यसै गरी विपन्न नागरिकलाई मुटुरोग, मर्गाैला रोग, क्यान्सर पार्किङसन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, बेड इन्जुरी तथा सिक्लेस एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड छुट्टयाइएको छ । सबै संघीय अस्पतालहरूबाट मिर्गाैला प्रत्यारोपण सेवा प्रदान गर्ने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख छ ।

महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः विस्तार गरिनुका साथै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभि खोप कार्यक्रमलाई विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।

त्यसै गरी सबै संघीय अस्पतालमा बाँझोपन, निःसन्तान उपचार सेवा क्रमश विस्तार गरिनेछ मन्त्री महतले बजेट भाषणलाई सम्बोधन गर्दै भन्नुभयो । उहाँले सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिनेछ । सहिद गंगालाल हृदय केन्द्रमा अत्याधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा पेटस्क्यान मेसिन तथा साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरेको छ । जेष्ठ नागरिकका लागि सरकारी अस्पताल भएको जेडियाट्रिक वार्डलाई प्रभावकारी बनाउने र एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइएको छ । हाल सञ्चालनमा रहेको स्वास्थ्य बिमालगायत सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । परोपकार तथा स्त्रीरोग अस्पताल थापाथलीमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने पनि बजेटमा भनिएको छ । बीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोईराला राष्ट्रिय उपचार केन्द्र, शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियो थेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपचारका लागि बजेट व्यवस्था गरिएको छ ।

गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विस्तार गर्न बजेटको व्यवस्था गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगत दैलेखको आठबिस नगरपालिका राखममा १ सय शैयाको अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने पनि बजेटमा उल्लेख छ ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा ‘एक चिकित्सक÷स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन गर्न २४ करोड विनियोजन गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलगायत सबै संघीय स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन व्यवस्थापनमा एकरूपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्