आव २०७९/८० को आर्थिक सर्वेक्षण : निर्माण, उत्पादनमूलक उद्योग, थोक तथा खुद्रा व्यापार संकुचित



काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९÷८० मा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि जम्मा २ दशमलव १६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको २०७९÷८० को आर्थिक सर्वेक्षणमा सो अनुमान गरिएको हो ।

निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन भएपछि आर्थिक वृद्धि खुम्चिने अनुमान गरिएको छ। साथै त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्यतथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ। गतआर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो। ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत््, ग्यास, वाष्प र वातानुकूलित क्षेत्रको उत्पादनभने १९ प्रतिशतले विस्तार हुने अनुमान छ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र वागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहने अनुमान छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान छ। यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो।

विगतका वर्षदेखि नै कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ। उद्योग क्षेत्रको योगदानभने करिब स्थिर रहेको छ। चालु आर्थिक वर्षको कुलगार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.१ प्रतिशत, १३.५ प्रतिशत र ६२.४ प्रतिशत रहने अनुमान छ।

आर्थिक वर्ष २०७८÷७९ मा कुलगार्हस्थ उत्पादनको ९४.२ प्रतिशत रहेको कुलउपभोग चालु आर्थिक वर्षमा ९३.६ प्रतिशत रहने अनुमान रहेको छ। साथै, यस अवधिमा कुल गार्हस्थ वचत कुल गार्हस्थ उत्पादनको ६.४ प्रतिशत पुग्ने अनुमान छ । चालु आर्थिक वर्षमा कुल लगानी ५ प्रतिशतले घटेर १७ खर्ब ५४ अर्ब १६ करोड रुपियाँ कायमहुने अनुमान छ। आर्थिक वर्ष २०७८÷७९ मा कुल लगानी कुल गार्हस्थ उत्पादनको ३७.४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ३२.६ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ८.१ प्रतिशतले वृद्धि भई १ लाख ८२ हजार ६ सय ८३ रुपियाँ अर्थात् १ हजार ३९९ अमेरिकी डलर पुग्ने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख ६९ हजार ३८ रुपियाँ रहेको थियो। यस अवधिमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४१० अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्च योग्य आय १ हजार ७ सय ५२ अमेरिकी डलर पुग्ने अनुमान छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, विश्व आपूर्ति शृंखलामा देखिएको अवरोध, खाद्य तथा कच्चा पदार्थ लगायतका वस्तुको मूल्यमा भएको वृद्धिको असर समग्र मूल्य स्तरमा परेकाले चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रा स्फीतिमा दबाब सिर्जना भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

वित्तीय संघीयताको कार्यान्वयनसँगै तीन तहको एकीकृत खर्च क्रमिक रूपमा वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०७८÷७९ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च ९.४ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ६१ करोड पुगेको छ। कुल एकीकृत खर्चमध्ये चालु खर्च, पुँजीगतखर्च र वित्तीय व्यवस्थातर्फको हिस्सा क्रमशः ५७.६ प्रतिशत, ३२.९ प्रतिशत र ९.५ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७८÷७९ मा कुल गार्हस्थ उत्पादनमा संघीय राजस्व (संघीय सरकारले उपयोग गर्ने राजस्व) १९ प्रतिशत र संघीय खर्च २६.६ प्रतिशत रहेको छ। त्यसैगरी, प्रदेश रस्थानीय तहमा बाँडफाँट भएको राजस्व २.६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च १५.५ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब २३ करोड पुगेको छ। यस अवधिमा चालु खर्च, पँुजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्च क्रमशः १३.१ प्रतिशत, ९.२ प्रतिशत र ४६.३ प्रतिशतले बढेको छ।

बाह्य क्षेत्र सन्तुलन कायम गर्ने उद्देश्यले वस्तु पैठारीलाई नियन्त्रण गर्न २०७९ वैशाखदेखि पुससम्म अवलम्बन गरिएको नियमन नीतिको प्रभाव स्वरूप चालु आर्थिक वर्षको सुरुवात देखि नै वस्तु पैठारीमा उच्च संकुचन आएको छ। फलस्वरूप, आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म भन्सार बिन्दुमा संकलन हुने राजस्व लक्ष्यको तुलनामा ५६.१ प्रतिशतमात्र रहेको छ। गतआर्थिक वर्षको तुलनामा यस्तो राजस्व २८.९ प्रतिशतले न्यून रहेको छ।

आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म संघीय आय (राजस्व, वैदेशिक अनुदान र अन्यप्राप्ति) को तुलनामा २ खर्ब २३ अर्ब ११ करोडले बढी रहेको छ। आर्थिक वर्ष २०७८÷७९ मा बजेट घाटा कुलगार्हस्थ उत्पादनको ६ प्रतिशत रहेको थियो।
२०७९ फागुनसम्म आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड गरी संघीय सरकारको सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्ब ६ करोड पुगेको छ।

२०७९ असारसम्म सार्वजनिक ऋण दायित्व २० खर्ब १३ अर्ब २९ करोड रहेको थियो। आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म ८७ अर्ब २० करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म ऋण र अनुदान गरी १ खर्ब ३७ अर्ब १२ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएकोमा ७२ अर्ब ५८ करोड बराबरको सहायता परिचालन भएको छ। उक्त अवधिमा ५३ अर्ब ४४ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ।

आर्थिक सर्वेक्षणअनुसार कुलवस्तु निकासी २९.१ प्रतिशत र कुलवस्तु पैठारी १९.१ प्रतिशतले घटेको छ। यस अवधिमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चियालगायतका वस्तुको निकासी र पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्जआइरन, सुन, अन्यस्टेसनरी सामानलगायतका वस्तुको पैठारी बढेको छ। त्यसैगरी, सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निकासी र सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस बिलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पाट्र्सलगायतका वस्तुको पैठारी घटेको छ। आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ।

उतावैदेशिक रोजगारमा जानश्रम स्वीकृति लिनेको संख्या बढेको छ। वैदेशिक रोजगारीमा जान नयाँ श्रमस्वीकृति लिने नेपालीका मदारको संख्या २०७९ फागुनसम्म ५५ लाख २६ हजार ७०४ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृतिलिनेको संख्या ३ लाख ३७ हजार १४४ रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भएको छ। त्यसै गरी यस अवधिमा पर्यटक आगमन वृद्धि भई ५ लाख ५६ हजार ५ सय ४० पुगेको छ।

वस्तु पैठारीमा आएको उच्च संकुचन, विप्रेषण आय र भ्रमण आयमा भएको उच्च वृद्धिको कारण चालु आर्थिक वर्षको फागुनसम्म चालु खाता घाटामा उल्लेख्य सुधार आएको छ। फलस्वरूप, यस अवधिमा शोधनान्तर बचत १ खर्ब ४८ अर्ब ११ करोड पुगेको छ। आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म उद्योग विभागमा १८३ उद्योग दर्ता भई १ खर्ब ५५ अर्बको लगानी स्वीकृत भएको छ भने १२ हजार ७ सय ४८ जनाको रोजगारी सिर्जना हुने अनुमान रहेको छ। आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म उद्योग विभागमा दर्ता भएका १५९ उद्योगको २० अर्ब ५६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ।

चालु आर्थिक वर्षमा धान, गहँु, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.९ प्रतिशतले वृद्धि भई १ करोड १२ लाख मेट्रिक टन पुग्ने अनुमान रहेको छ। गतआर्थिक वर्षमा यस्तो उत्पादन ३.३ प्रतिशतले घटेको थियो। चालु आर्थिक वर्षमा कृषि बाली लगाइएको कुल क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल मात्र ७१.४ प्रतिशत रहेको अनुमान छ।

२०७९ फागुन मसान्तमा राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा ११ हजार ५ सय ३४ मेट्रिक टन र सार्क खाद्य सुरक्षा बैंकमा ८ हजार मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ।

चालु आर्थिक वर्षका लागि रासायानिक मलको कुलमाग ५ लाख २० हजार मेट्रिक टन रहेको अनुमान छ । कुल अनुमानित मागमध्ये ३ लाख १० हजार मेट्रिक टन युरिया, १ लाख ९० हजार मेट्रिक टन डीएपी र २० हजार मेट्रिक टन पोटास रहेको छ। आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म २ लाख ३२ हजार ८६ मेट्रिक टन रासायानिक मल पैठारी भएको छ।

२०७९ फागुनसम्म १७हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्राबेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक गरी हालसम्म राष्ट्रिय स्तरका सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म थप १ सय४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा ३ सय १६ किलोमिटर सडक ग्राबेलस्तरमा र २ सय ४८ किलोमिटर सडक कालोपत्रेस्तरमा स्तरोन्नति भएको छ ।

प्रतिक्रिया दिनुहोस्