सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौँ।

सेयर बजारमा लगातार ७ दिनको वृद्धिपछि आइतबार बजार करेक्सनमा गएको छ । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा अडिएको छ । २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा केही दबाब परेको अनुमान गरिएको छ । आइतबार पनि अन्तिम प्रहरमा मात्र बिक्रेता हावी भएका हुन् । कारोबार अधिकांश समय भने बजार हरियो नै रहेको थियो ।

लगातार ७ कार्य दिन बढेको बजारमा करेक्सन आउनु स्वभाविक पनि हो । ट्रेडरहरुले निश्चित प्रतिशत मुनाफामा खरिदबिक्री गर्ने भएकाले पनि बजारमा उतारचढावहरु आइरहन्छ, जुन स्वभाविक पनि हो । सोमबार नयाँ बजेट आउँदैछ । बजेटमा लगानीकर्ताले पुँजीगत लाभकर घटाउने लगायतका सुधारको अपेक्षा गरेका छन् ।

समग्रमा पछिल्ला दिनहरुमा सेयर बजारको गति सकारात्मक रह्यो । १८०७ विन्दुमा आएको बजार करिब डेढ सय अंक बढेर १९५० भन्दा माथि पुग्यो । यसले लगानीकर्तामा केही उत्साह भने अवश्य जगएको छ ।

यस दिन २७० कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्