झापामा मिटरव्याज पीडितहरूद्वारा ९७ वटा उजुरी दर्ता



झापा, भद्रपुर । झापामा मिटरव्याज पीडितहरूले ९७ वटा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन झापाले वैशाख १७ गते मिटरव्याज पीडितहरूलाई उजुरी दिन आह्वान गरेपछि झापामा ९७ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटव्याज पीडितहरूको उजुरी लिन वैशाख १७ गते १५ दिने म्याद राखेर सूचना प्रबाह गरेको र जेठ ७ गते फेरि सात दिनका निम्ति म्याद थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउँनुभयो ।

उक्त मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो । त्यसबेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए ।

तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताउँनुभयो । उहाँले २४ वटामध्ये ११ वटा मुद्दाको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

प्रशासनले कारबाही गर्ने अधिकारी नभएकोले कारबाहीका लागि पीडितहरू अदालत जानुपर्ने उहाँले बताउँनुभयो । केही उजुरीमाथि दुवै पक्षबीच छलफल गराएको उहाँले जानकारी दिनुभयो । उजुरी दिएर केही पीडितहरू सम्पर्कमै नआएको उहाँले बताउँनुभयो । झापामा पनि मिटरब्याजको अपराधबाट धेरै जना पीडित भएको बताइएको छ ।

केही निवेदकले आफूहरू पीडित भएको बताए पनि उहाँहरूको पनि कमजोरी भएको उहाँले बताउँनुभयो । केही निवेदन बैङ्कको ऋण नतिरेर बैंक बन्द गराउन परेको भन्दै पनि आएको उहाँले बताउँनुभयो । झापामा विशेष गरि शहरी क्षेत्रमा मिटरव्याजको प्रभाव धेरै देखिएको बताउँदै गाउँहरूमा पनि यसको प्रभाव पर्न थालेको बताउँनुभयो ।

गत साउनमा पनि जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४ जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए । तर, ती निवेदनमध्ये ११ वटा निवेदनको मुद्दा सुल्झि सकेको र नयाँ मुद्दामा पनि चार वटा मुद्दा सुल्झिएको न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्