नयाँ हतियार किन्ने कुनै योजना छैन : प्रधानसेनापति शर्मा



पाँचखाल, काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले चीनबाट हतियार गरिद गर्ने कुनै योजना नरहेको बताउनुभएको छ । नेपाली सेनाले २०४५ सालमा चीनबाट हतियार खरिद गरेपछि नयाँ हतियार खरिद प्रक्रिया अहिलेसम्म अघि नबढेको बताउनुभएको छ ।

केही समय यता नेपाली सेनाले चीनबाट हतियार गरिद गर्न ६ अर्ब रुपियाँ विनियोजन गरी हतियार खरिद प्रक्रिया अघि बढाएको भन्ने समाचारप्रति असहमति जनाउँदै प्रधानसेनापति शर्माले भन्नुभयो– ‘राष्ट्रसंघको मिसनमा खटिने शान्ति सैनिकका लागि हतियार खरिद प्रक्रिया अगाडि बढाएको भन्ने समाचार सोह्रै आना गलत हो ।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रधानसेनापति शर्माले कसको चाहनामा यस्ता समाचारहरु आइरहेका छन् मैले बुझ्न सकेको छैन भन्दै पूर्वप्रधानमन्त्री र पूर्वरक्षामन्त्रीलाई जोडेर आएका समाचारमा सत्यता नभएको बताउनुभयो ।

नेपाली सेनासँग पर्याप्त हतियार भए पनि सेनासँग हतियार छैन भनेर सेनाको मनोबल गिराउने प्रयास भइरहेको उहाँको भनाइ थियो । उहाँले हामीले कुनै पनि घातक हतियार चीनबाट खरिद गर्ने योजना बनाएका छैनांै, कसको योजनामा यस्ता समाचार प्रवाह भइरहेको छ भनी आफूले नबुझेको बताउनुभयो । सरकारको वर्तमान तथा पूर्वनेतृत्वले चीनबाट हतियार गरिद गर्न कुनै निर्देशन नदिएको बताउँदै प्रधानसेनापति शर्माले हतियारको आपूर्ति गर्नेहरुबाट फैलाइएको अफवाह मात्र भएको र सेनाको निष्पक्ष छविलाई धमिल्याउने प्रयास भइरहेको बताउनुभयो ।

सेनाले विभिन्न मुलुकमा शान्तिका लागि खटिएका शान्ति सेनाले प्रयोग गर्दै आएको सैन्य सामग्रीका लागि स्पेयर पार्टपुर्जाबाहेक अन्य कुनै पनि सामग्री खरिद गर्ने योजना नरहेको र शान्तिका लागि खटिएका नेपाली सेनाले प्रयोग गरेका सैन्य सामग्रीका पाटपुर्जा खरिदका लागि चीनको बजार सर्वे मात्रै गरेका हौं त्यसैलाई मसला बनाएर समाचार आउनु पक्कै पनि मुलुकको हितमा नभएको उहाँले बताउनुभयो ।

नयाँ सैन्य सामग्री खरिद गर्नुपरे जी टु जी प्रक्रियामार्फत खरिद गर्ने हो सेनाको एकल निर्णयले हतियार खरिद हुँदैन । कुनै देशले हतियार विकाउने उद्देश्यले पनि यस्ता समाचार आएको हुन सक्ने बताउँदै प्रधानसेनापति शर्माले भन्नुभयो– ‘हामीलाई आवश्यक प¥यो भने हतियार खरिद गर्छौं ।’

‘अहिले सञ्चारमाध्यममा यस्तासम्मका समाचार आए कि नेपाली सेनाले हतियार खरिद गर्नका लागि हिमालयन बंैकबाट एसली खोल्न खोज्दा बैंकले रोक्यो भन्नेसम्मका समाचार आए, हामीले सो बैंकमा पैसा राखेका छौं बैंकलाई हामीले आग्रह ग¥यौं भने बैंकले एलसी नखोली देला त ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो– ‘अहिले बजारमा कसको इन्ट्रेसमा यस्ता समाचार आएका छन् ।’

नेपाली सेना कसैको दबाबमा आएर हतियार खरिद गर्दैन । कसैले धमिलो पानीमा माछा मार्न खोजेको भए त्यो अर्को मिथ्या मात्रै हुने भन्दै प्रधानसेनापति शर्माले यस्ता गलत समाचारको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ । केही समय यता हतियार माफियाहरुले नेपाली सेनालाई विवादमा ल्याउन विभिन्न सञ्चारमाध्यमको प्रयोग गरी नेपाली सेनाले नयाँ हतियार किन्न लागेको भन्दै सञ्चारमाध्यमकै बदनाम गराउन उद्दत रहेका छन् भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्