काभ्रेमा ‘बाल विवाह’को डरलाग्दो तथ्याङ्क

कानुनले बर्जित गरेको उमेर समूहमा धेरै विवाह



काभ्रे।

जिल्लाको विकट पालिका महाभारत, खानिखोला, तेमाल, रोशी, चौरीदेउराली, भुम्लु, बेथान्चोक गाउँपालिकामा बाल विवाहको डरलाग्दो तथ्याङ्क देखा पर्न थालेको छ । खानिखोला र महाभारतमा बर्षेनी एक सय भन्दा धेरै बालबालिकाहरुले विवाह गर्ने गरेको प्रारम्भिक तथ्याङ्क विद्यालयहरुले तयार गरेका छन् ।

कानुनले वर्जित गरेको २० वर्ष भन्दा कम उमेर समूहमा धेरै व्यक्तिहरूको विवाह हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनमा व्यवस्था भए पनि जिल्लामा त्यही उमेर भन्दा कम उमेर समूहमा विवाह गर्नेहरुको ६२ प्रतिशत रहेको छ । अझै पनि १० वर्ष भन्दा कम उमेरमा विवाह भएका व्यक्तिहरूको संख्या कुल जनसंख्याको १ प्रतिशत छ भन् १० भन्दा माथि १४ भन्दा कम उमेर समूहमा विवाह गर्नेहरुको सख्या ८ प्रतिशत छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकामा यो उमेर समूहमा विवाह गर्नेहरु धेरै छन् । १५ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्नेहरुको संख्या २१ प्रतिशत छ भने १८ देखि २० वर्ष भित्र विवाह गर्नेहरुको संख्या ३२ प्रतिशत छ । २१ देखि २४ वर्षसम्म विवाह गर्नेहरुको संख्या २३ प्रतिशत छ । २५ देखि २९ सम्म विवाह गर्नेहरु ११ प्रतिशत छन् । ३० वर्ष उमेर कटाएर विवाह गर्नेहरुको सख्या ४ प्रतिशत छ । काभ्रेमा ३ लाख ६४ हजार ३९ जनसंख्या रहेको छ ।

 शहरी क्षेत्रमा बालविवाहको संख्या कम भए पनि ग्रामीण भेगमा बढिरहेको बालविवाहको तथ्याङ्क प्रति स्वयम बालबालिका र अभिभावकलाई जिम्मेवार बनाउने अभियान पालिकाहरुले शुरु गरेका छन् । ‘चालु आर्थिक वर्षमा महाभारत गाउँपालिकाले हरेक आधारभूत विद्यालयमा बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक नाटक, गीत र नृत्यका साथै प्रहरी मार्फत कानुनी ज्ञान र त्यसका असरका बारेमा जानकारी गराएका छौँ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘अभियान शुरु भएका केही वर्ष देखि बालविवाह गर्नेहरुको संख्या कम भए पनि मोवाईलको प्रयोग, गरिवी, चेतनाको अभाव तथा विविध कारणबाट बालविवाह रोक्न सकिएको छैन ।’ खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग ‘छिन्ताङ’ ले बालविवाह न्यूनीकरणका लागि पालिका भित्रका अधिकांश विद्यालयहरुमा सडक नाटक प्रस्तुत गरेको बताउनु भयो । ‘विद्यालयमा अभिभावक र बाललिबाहरु दुबैलाई सँगै राखेर बाल विवाह गर्दा कानुनी, आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले हुन सक्ने संकटका बारेमा जानकारी गरायौँ’– अध्यक्ष इन्द्रबहादुर थिङ्गले भन्नुभयो–‘८ हजार भन्दा धेरै ब्यक्तिहरुले नाटक हेर्नु भयो । नाटक हेरेकै भोलिपल्ट दुई जना बालबालिकाहरु विवाह गरेर भागेको सूचना पालिकामा आयो ।’
बालविवाह रोक्न चालिएका कदम प्रभावकारी बनाउँदै केही वर्ष भित्र शून्यमा पु¥याउने महाभारत र खानिखोला गाउँपालिकाको अभियानमा स्वयम बालबालिका र अभिभावक सचेत बनाउने गरी चेतनामूलक कार्यक्रम गरिएको जनप्रतिधिहरुले बताएका छन् । महाभारत गाउँपालिकाले २०७९ को कक्षा ८ को परीक्षालाई पालिका स्तरको बनाउँदै परीक्षा केन्द्रहरु तोकेरै विद्यार्थीहरुलाई गुणस्तरका बारेमा समेत जग बलियो बनाउने उद्देश्यले आयोजना गरेको थियो । कक्षा ८ मा पालिका भित्र रहेका भैरव मावि, गोकुले मावि, कालीदेवी मावि, जनकल्याण मावि, गौलेश्वरी, ग्रामोन्नती, सिद्धेश्वर, ज्योती, जनकल्याण आधारभूत, भैरवेश्वर र गौरीश्वरीमा गरी ६ सय ३० जना बालबालिकाहरु भर्ना भएका थिए । कक्षा ८ मा भर्ना भएका मध्ये ५ सय ४५ जना विद्यार्थी मात्रै अन्तिम परीक्षामा सहभागी भए । ८५ जना बालबालिकाहरु परीक्षामा सहभागी नभए पछि शिक्षकहरुले उनीहरूको खोजी गर्दा ४० प्रतिशत विवाह गरेर गइसकेको तथ्याङ्क प्राप्त गरे भने केही कामको खोजीमा भट्टामा, कोही अन्यत्र मजदुरीका लागि गएको र केही आर्थिक अभावका कारण विद्यालय आउन छाडेको तथ्याङ्क फेला प¥यो । कक्षा ८ सम्म पुग्ने बालबालिकाहरु विवाह गरेर जान थालेको तथ्यांक प्राप्त भए पछि पालिकाले यसलाई गम्भीर रुपमा लिँदै शिक्षाको गुणस्तर र चेतना बढाउने गरी आगामी शैक्षिक सत्रको कार्यक्रम प्रभावकारी बनाउने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत हरि सिं विष्टले जानकारी गराउनु भयो ।

सोही पालिकाको गोकुले स्थित गोकुले माविमा अध्ययनरत विद्यार्थीहरु मध्ये शैक्षिक सत्र २०७९ मा मात्रै कक्षा ६ अध्ययन गर्ने दुई जना, कक्षा १० मा अध्ययन गर्ने ३ जना, कक्षा ११ का ३ जना र कक्षा १२ का ४ जना बालिकाहरुले विवाह गरे । सामाजिक विषयका शिक्षक मोहनदास श्रेष्ठले विद्यालयमा बाल विवाह सम्बन्धी पाठ पढाएको मात्रै नभई सचेतनामूलक अभियान पनि संचालन भइरहेको बताउनु भयो । ‘कक्षा ६ र ७ को सामाजिक विषयमा सामाजिक विकृति अन्तर्गत ‘बाल विवाह’ सम्बन्धी पाठ बालबालिकाहरुलाई पढाइने गरिएको छ’–शिक्षक मोहनदास श्रेष्ठले भन्नुभयो–‘बालविवाह रोक्न प्रयत्न भयो सफल हुन सकिएन ।’ अभिभावक, बालबालिका आफै र आफन्त सचेत नहुँदासम्म विद्यालय र समुदाय एक्लैले बालविवाह रोक्न नसकिने प्रधानाध्यापक पदम तिमल्सिनाले बताउनु भयो । कक्षा ६ देखि गोकुले माविमा अध्ययन गरिरहेकी कक्षा १२ मा अध्ययनरत छात्रा शर्मिला मोक्तानले आफुसँगैका साथीहरु विवाह गरेर गएको बताउनु भयो । ‘भौगोलिक अवस्थाका कारण कक्षा ६ देखि डेरा लिएर बसिरहेको छु । गोकुले माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरी डेरा लिएर बसेको ६ वर्ष भयो । कक्षा १२ पढिरहँदा म सँगै अध्ययन गर्ने तीन जना साथीहरु त कक्षा १० सम्म पनि नपढी विवाह गरेर गइसकेका छन् । केहीले आर्थिक अभावका कारण बीचमै अध्ययन छाडेका छन्’– विद्यार्थी शर्मिला मोक्तानले भन्नुभयो ।

 विकट पालिकामा विद्यार्थीहरु बीचमै अध्ययन छाड्ने र बालविवाह गर्ने समस्या बलियो बन्दै गएको तथ्यहरुले देखाएको जनप्रतिनिधिहरुले बताएका छन् । काभ्रेको धुलिखेल र पनौती बालमैत्री नगर घोषणा भइसकेका छन् भने केही प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस्