संघीय मामिला मन्त्रालय, गण्डकी प्रदेश सरकार र विकास साझेदारहरुबीच अन्तरक्रिया



पोखरा ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सरकारको सहजीकरणमा आयोजित ‘नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदारहरु बीच अन्तरक्रिया कार्यक्रम’ पोखरास्थित होटल पोखरा ग्रान्डमा बिहीबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षता एवं गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको हालसम्मको प्रगति समीक्षा तथा कार्यक्रमको पुनरावलोकन–पुनर्संरचना गर्न सम्बन्धित सरोकारवाला निकायबीच छलफल र पृष्ठपोषण संकलन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव लगायत अन्य जिम्मेवार अधिकारीहरु, गण्डकी प्रदेश सरकारका उच्चपदस्थ जिम्मेवार अधिकारीहरु, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, लगायत विकास साझेदार निकायका जिम्मेवार प्रतिनिधिहरुको महत्वपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी सबै महानुभावहरुलाई कार्यक्रमबारे प्रकाश पार्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले ठूलो योगदान पुर्याउँदै आइरहेकोले र यसलाई आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रमको बनौट केही परिवर्तन गरी प्रभावकारी रुपमा निरन्तरता दिनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको स्वास्थ्य तथा यातायात क्षेत्रको सेवा प्रवाहमा यस कार्यक्रमले भविष्यमा सहयोग र्पुयाउनु पर्ने अनुरोधसंगै कार्यक्रम कार्यान्वयन प्रक्रियामा लचकता ल्याउनु पर्ने कुरामा ध्यानाकर्षण गराउँदै सम्बन्धित सबै सरोकारवाला निकाय र विकास साझेदार संस्थालाई कार्यक्रम कार्यन्वयन र पुनर्संरचनाको लागि पहल गर्न योगदान र्पुयाउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

मन्तव्यको क्रममा विकास साझेदार निकायका प्रतिनिधिहरु संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयशानी एम. लाबे र परराष्ट्र, राष्ट्रमंडल तथा विकास कार्यालय–संयुक्त अधिराज्यका सुशासन तथा राजनितिक सेवारटोलीनेता डा. एन्ड्रयू लङले कार्यक्रमको हालसम्मको प्रगतिको सन्दर्भसंगै आगामी बर्षको भावी कार्यदिशाको लागि यो अन्तरक्रियाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले कार्यक्रमलाई पुनरावलोकन गर्नको लागि एकै बैठकमा बसेर राजनैतिक प्रतिनिधि एवं उच्च अधिकारीहरुको यो भेला निकै सकारात्मक रहेको कुरा बताउँदै आ–आफ्नो क्षेत्रमा कार्यरत अन्य विकास साझेदारहरुसंगको निरन्तर समन्वय र सहकार्यले कार्यक्रममा हुने दोहोरोपन हट्ने धारणा ब्यक्त गर्दै आउने दिनहरुमा कार्यक्रमको प्रभावकारी निरन्तरताको लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा आयोजक तर्फबाट सोही मन्त्रालयका सहसचिव स्कीम श्रेष्ठद्वारा प्रदेश तथा ‘स्थानीय शासन सहयोग कार्यक्रमको संक्षिप्त प्रगति समीक्षा र संक्रमणकालीन वर्षका लागि कार्यक्रमको पुनसंरचना प्रक्रिया’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको परिचय, लक्ष्य, संरचना र सरोकारवाला निकायहरु, उपलब्धिहरु, कुल लागत र साझेदारी, वित्तीय प्रगति, अनुगमन तथा गुणस्तर सुनिश्चितता, हालको अवस्था, समस्यारचुनौतिह? र भावी कार्यदिशाबारे उल्लेख गर्दै महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

कार्यपत्रको समाप्तिसंगै गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थ, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी, गण्डकी प्रदेशका विभिन्न मन्त्रालय, आयोग र प्रतिष्ठानमा कार्यरत सचिवहरु र जिम्मेवार अधिकारीहरुले कार्यक्रमको अवस्था र आगामी कार्यदिशामा आ -आफ्ना तर्क सहितको कार्यक्रम पुनरावलोकनर पुनर्संरचनाका लागि सुझाव र पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा स्वास्थ्य, यातायात, पूर्वाधार विकास, शिक्षा, कानुन निर्माण, जीविकोपार्जन, लैगिक समानता तथा सामाजिक समावेशीकरण, सेवा प्रवाहमा अनलाइन प्रणालीको विकास, उद्यमशीलता विकास, प्राविधिक टिमको क्षमता अभिबृद्धि जस्ता थुप्रै क्षेत्रलाई चुस्तदुरुस्त बनाउनको लागि यो कार्यक्रमले आगामी दिनहरुमा पहल गर्नुपर्ने र सम्बन्धित निकायहरुसंग व्यापक छलफल गरी कार्यक्रमलाई आवश्यकतानुसार परिमार्जनका साथ आगाडि बढ्नु पर्ने कुरामा अत्यन्तै सकारत्मक ढंगले पृष्ठपोषण प्राप्त भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले कार्यक्रमको आगामी कार्यदिशाका लागि एकदमै सकारात्मक सुझावहरु प्राप्त भएको र ती सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता, सबै उपस्थित सहभागीप्रति आभार प्रकट गर्दै महत्वपूर्ण सहभागिताको लागि धन्यवादसहित कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्