वागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घट्यो (भाडादरसहित)



काठमाडौं । काठमाडौं उपत्यकासहितवागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । वागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि वागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।

काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो ।

लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १०–१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर रु १०–१० ले भाउ घटाएको थियो ।

घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै रु २० तिर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्