निक ट्रान्सफर्मर पुनः भुटान निर्यात सुचारु



काठमाडौं । तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन, ढुवानी र अन्तर्राष्ट्रियस्तरमा व्यापारसमेत गर्दै आएको ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)’ ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । कोभिड–१९ पछि ३ वर्षसम्म रोकिएको निर्यात सुचारु गरेको हो ।

भुटान पावर कर्पोरेशन लिमिटेड (बिपिसी)ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो । त्यसमा भारतलगायतका विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको थियो । ठेक्का पाएअनुसार ट्रान्सफर्मर उत्पादन गरी निर्यात सुरु भइसकेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताउनुभयो ।

ठेक्का सम्झौता अनुसार १४ करोड १४ लाख ३८ हजार रुपिया“बराबरको १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १६० ट्रान्सफर्मरहरूको निर्यात सुरु भएको निकका जोशीले जानकारी दिनुभयो । ‘अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धा छ’, उहा“ले भन्नुभयो–‘नेपाली उद्योगले समेत निर्यात क्षेत्रबाट पर्याप्त विदेशी मुद्रा आर्जन तथा देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्न सक्छ ।’
सरकारले निर्यात करमा छुट दिएमा तथा अन्य सहुलियत प्रदान गरेमा भुटान लगायत दक्षिण एसियाली मुलुकमा समेत ट्रान्सफर्मर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उहा“को भनाइ छ ।

निकले यसअघि भुटानसहित बंगलादेशमा ट्रान्सफर्मर निर्यात गर्दै आएको थियो ।केही अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी हेटौंडास्थित फ्याक्ट्रीमा उत्पादन गरेर स्वदेश तथा विदेशमा व्यापार व्यवसाय गर्दै आएको छ । निकले प्राधिकरणका विभिन्न ठेक्कामा ९ हजार वितरण ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएकोमा अहिलेसम्म ७ हजार हस्तान्तरण गरिसकेको जानकारी दिएको छ । वार्षिक १८ हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्याएको छ । निकले सन् १९९२ देखि ट्रान्सफर्मर उत्पादन तथा बिक्री, निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्