आरोपितमाथि कारबाही गर



नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका माथि गम्भीर रूपमा छानबिन गरी कारबाही गर्नुपर्ने माग देशव्यापी उठिरहेको छ । सो प्रकरणमा मुछिएका हिजो विभिन्न उच्च पदमा बसेका कथित उच्च पदस्थहरूमाथि छानबिनको माग गर्दै सदनदेखि सडकसम्म आवाज उठ्न थालेको छ । प्रहरीले सो प्रकरणमा दोषी देखिएकाहरूको प्रमाणसहित ३० जनामाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

फरार १४ जनाविरुद्ध मुद्दा दर्ता गर्ने जनाइएको छ । पक्राउ परेका व्यक्तिले आरोप लगाएका हाई प्रोफाइलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग उठेको छ । यद्यपि, प्रहरीले भने आवश्यक प्रमाणको अभावमा अन्य उच्च पदस्थहरूलाई पक्राउ गर्न नसकिएको बताउँदै आइरहेको छ । प्रहरीले त्यसरी आरोपित उच्च पदस्थहरूका बारेमा आन्तरिक रूपमा समेत छानबिन भइरहेको जनाएको छ ।

यसअघि पक्राउ परेकाहरूले विभिन्न व्यक्तिहरूको नाम लिएपछि संसद्मा पनि ती व्यक्तिहरूको बारेमा छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ । जसका कारण सरकारलाई चौतर्फी दबाब बढेको छ । सरकार आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सो काण्डमा मुछिएका जो कोही भए पनि तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । ।

हाल राजनीतिक दल र राज्यकै साख गिर्दै गएको बेला पक्राउ परेकामाथि कारबाही र नपरेकालाई तत्काल पक्राउ गरी छानबिन गरे सरकारको साख जोगिन्छ । यसअघि माओवादी लडाकु शिविर घोटाला, लाउडा, ललिता निवास घोटाला, सेक्युरिटी प्रेस खरिदलगायत दर्जनांै अपराधलाई सरकारले गहन छानबिन नगरी माफी दिएजस्तो यो घटनालाई साम्य पार्नु कदापि हुँदैन ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पटक पटक भेट गरेर घटनालाई साम्य पार्न खोजेको देखिन्छ । उनीहरूको एउटै चाहना छ, आफू निकटलाई कुनै कारबाही नहोस् । गलत गर्नेमाथि तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने सरकारको कर्तव्य हो । विश्वमै चर्चित बनेको नक्कली शरणार्थी प्रकरणलाई कुनै पनि दलले ढाकछोप गर्न मिल्दैन । पक्राउ परेका र आरोप लागेका यो वा त्यो पार्टीको भनेर जोगाउने हो भने मुलुकमा अराजकता मौलाउनेछ । दलप्रति जनताको विश्वास हराउँदै जानेछ ।

सत्य तथ्य छानबिन गरी दोषीलाई कठघरामा उभ्याउन सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन । राजनीतिक मामिला भएकाले संसदीय समितिले छानबिन गरेमा त्यसको निष्कर्ष सोचेभन्दा बढी पत्यारलाग्दो हुनेछ । दबाएर सामसुम पार्न खोजियो भने जनमानसमा आरोप सही भएको छाप पर्न सक्छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा शरणार्थी प्रकरणमा गल्ती गर्नेमाथि कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । सरकार भएको भान दर्शाउन सो प्रकरणमा गल्ती गर्ने जोकोहीमाथि कारबाही गर्नुपर्ने माग उठेको छ ।

पैसाको लोभमा पद बेच्न खोज्नेमाथि कारबाही गर्नुपर्छ । त्यसका लागि सरकारले खुट्टा कमाउनु हुँदैन । जनताको पूर्ण साथ र समर्थन रहेको अवस्थामा सरकारले आफ्नो लत्तो छाडेर फितलो अनुसन्धान गर्न र आरोप लागेकालाई त्यतिकै छाड्नु गम्भीर गल्ती ठहरिन्छ ।

प्रतिक्रिया दिनुहोस्