‘लौन केही गरौँ’ ले मनायो १९ औँ वार्षिकोत्सव



काठमाडौँ। 

शिक्षाबाट बञ्चित बालबालिकाको शिक्षामा समर्पित ‘लौन केही गरौँ’ भन्ने संस्थाले बिहीबार १९ औँ वार्षिकोत्सव मनाएको छ ।

राजधानीमा आयोजित उक्त समारोहमा संस्थाले पढाइराखेका ३३ जना विद्यार्थीहरूलाई आवश्यकताअनुसार विद्यालय पोशाक, किताब, कापीलगायतका स्टेशनरी र झोला वितरण गरिएको थियो । केही स्वयंसेवी दिदीबहिनीले चलाएको उक्त संस्थाले गौशालास्थित मंगलादेवी उच्च माध्यमिक विद्यालयमा २ कक्षादेखि १२ कक्षासम्मका ३३ जना विद्यार्थीहरूलाई पढाइरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व श्रम तथा समाज कल्याण राज्यमन्त्री भद्र कुमारी घले आँट गरे कुनै पनि काम असम्भव नभएको बताउनुभयो । उहाँले शिक्षाबिना जीवन अधुरो रहने भन्दै बालबालिकाका शिक्षाका लागि लौन केही गरौँ संस्थालाई एक लाख रुपियाँ सहयोग गर्नुभयो । कार्यक्रममा अन्य दाताहरूले पनि ती बालबालिकाको पढाइका लागि आफूले सक्दो सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष समाजसेवी सुनिता गुरुङले शिक्षाको अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनी संस्थाले आफ्नै पहलमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई १२ कक्षासम्म पढ्न सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले विदेशी दाताहरूसँग हात नथापि संस्थामा आबद्ध दिदीबहिनी र केही दयालु मन भएका व्यक्तिहरूले जुटाइदिएको खर्चबाट ती विद्यार्थीहरूको शिक्षा अघि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा बाल रियालिटी शो ‘द भ्वाइस किड्स’का फाइनालिष्ट सुसमी गुरुङका साथै संस्थाले पढाइरहेका अन्य बालबालिकाले सांगीतिक प्रस्तुति दिएका थिए ।
माओवादी द्वन्द्व कालमा सयभन्दा बढीलाई आफ्नै कार्यालयमा राखेर पढाएको यो संस्थाले १९ वर्षपछि आफ्नो संस्था नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित यस पटक १२ कक्षाको परीक्षा दिएका ४ जना छात्राहरूलाई संस्थाको नयाँ सदस्यको रुपमा भित्र्याएको छ ।
बालबालिकाको शिक्षामा समर्पित यो संस्थाले बेलाबेलामा स्वास्थ्य शिविर, वृद्धाश्रममा खाना खुवाउने, तीज बजार र देउसी भैली कार्यक्रमको पनि आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्