श्रमको सम्मान गर्न सिकाएनौं र सिकेनौं



– दीपककुमार गौतम
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख

संघीयता कार्यान्वयनसँगै काभ्रेपलाञ्चोक जिल्लालाई ६ नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह तथा सो अन्तर्गत १३५ वडा, २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । गणतन्त्र प्राप्तिका लागि युवा पुस्ताले ज्यानकै बाजी लगाएर आन्दोलनमा होमिए तर उनीहरुले सोचेजस्तो रोजगारी, देशको विकास हुन सकेन र युवाहरु विदेश पलायन हुने क्रम जारी छ । जिल्लालाई हरेक कुरामा आत्मनिर्भर बनाउने प्रशस्त आधार छन् । यिनै आधारमा टेकी समन्वयात्मक भूमिकाका लागि अघि बढेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

जिल्ला समन्वय समितिमा धेरै जिम्मेवारी छन् भनिन्छ, केके जिम्मेवारी पर्छन् जिल्ला समन्वय समितिमा ?

जिल्ला समन्वय समितिको संविधानमा व्यवस्था भएअनुसार अनुगमन र समन्वयको जिम्मेवारी तोकेको छ । यो समितिले जिल्लामा रहेका सम्पूर्ण पालिकाको अनुगमन, समन्वय, नियमन गर्ने काम गर्छ । साथै जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायहरुको पनि अनुगमन गर्ने काम गर्छ । स्थानीय पालिकाहरुलाई संघ र प्रदेशसँग समन्वयात्मक रुपमा जोड्ने पुलको काम पनि गर्छ । विशेष गरी नागरिकका समस्याहरुलाई नजिकबाट नियालेर कसरी समाधान गर्न सकिन्छ भन्ने विषयको खोजी गर्ने हो । हामी कुरा धेरै गर्छांै तर काम कम गर्छौं । नागरिकका यति धेरै समस्या छन् त्यो सुन्ने, बुझ्ने, हेर्ने कोही पनि छैन । हामी सबै बत्ती बाल्न, रिबन काट्न व्यस्त छांै । नागरिकका समस्यासँग सारथी बनेर काम गर्न सकिरहेका छैनौं । जिल्ला समन्वय समितिले यस्ता खाले देखिएका बेथितिहरुको अन्त्य गर्नका निमित्त हाम्रो उपस्थिति, अनुगमन हो । भएका समस्यालाई समाधान गर्ने समन्वयकारी भूमिका निर्वाह गर्ने काम जिल्ला समन्वय समितिको हो र काभ्रे जिल्ला समन्वय समितिले त्यही काम गरिरहेको छ ।

देशमै आर्थिक मन्दी भएका बेला समन्वय समितिले समन्वयात्मक भूमिका खेलेर काम गरिरहन कसरी सम्भव भयो ?

जिल्ला समन्वय समिति हिजोको जस्तो विकासे अड्डा पनि हैन र बजेट पनि हुँदैन । संघ र प्रदेशले निश्चित शीर्षकमा छुट्याएको बजेटबाट नै काम गर्छाैं । मेरो अनुभवमा राम्रो कामका लागि सबैले सहयोग गर्नुहुँदो रहेछ । काभ्रेमा विभिन्न संघसंस्थालाई जोडेर काम गर्ने गरेका छौं । कहिलेकाही स्वस्फूर्त आह्वान गरेर पनि ठूलाठूला कार्यक्रमहरु सम्पन्न गर्ने गरेका छांै । काम गर्ने इच्छाशक्ति छ भने बजेटको अभाव हुँदैन । यो देशमा भएका स्रोत र साधनहरुलाई सदुपयोग गरेर परिचालन गर्ने हो भने बजेटको अभावै हुँदैन । हामीले पहिला पैसा अनि मात्र कार्यक्रम खोज्दछौं । राम्रो परिणाम दिने काम गर्ने हो भने पैसाका कारण काम रोकिन्न र काभ्रे जिल्लामा रोकिएको पनि छैन ।

काभ्रेको १३ वटा पालिकाको स्वास्थ्य, शिक्षा र रोजगारीको अवस्था कस्तो छ ?

स्वास्थ्यका दृष्टिकोणले काभ्रे जिल्ला उत्कृष्ट घोषणा भई पुरस्कृत भएको जिल्ला हो । यद्यपि काभ्रेका ग्रामीण भेगमा आज पनि समस्या छ । त्यहाँ बाटो राम्रो नभएका कारण सहज यातायातको सुविधा छैन । कर्णाली प्रदेश, सुदूरपश्चिमको दाँजोमा काभ्रे जिल्ला अलि सहज अवस्था देखिन्छ । त्यसै गरी आर्थिक अवस्था कमजोर भएका कारण उपचारको पहुँचमै नपुग्ने नागरिकहरु पनि यही जिल्लामा छन् । ती नागरिकको उपचारमा पहुँच पुग्ने गरी काम गर्नुपर्ने छ । गरिबीको रेखामुनि रहेका धेरै नागरिक हाम्रो जिल्लामा छन् । आज काम गरेर आजै खानुपर्ने बाध्यतामा रहेका श्रमिकहरु पनि थुप्रै छन् । त्यसैले नागरिकको पक्षमा धेरै गरियो भनेर जनप्रतिनिधि, नेताहरु कसैले पनि गर्व गर्नुपर्ने ठाउँ बनेको छैन । हामीले नागरिक र देशका लागि भयंकर गरेका छांै भन्ने कुरा मलाई त लाग्दैन । हाम्रो चाहिँ गर्ने प्रयत्न छ र गरिरहेका छौं । जहाँ समस्या छ त्यहाँ जिल्ला समन्वय समिति पुग्दा नागरिकले राहतको महसुस गरेका छन् । नेपालको गणतन्त्र प्राप्तिको आन्दोलनको नेतृत्व लिने युवाहरु नै थिए नि । ती युवाहरु आन्दोलनमा होमिनुको मुख्य कारण बेरोजगार बस्न नपरोस्, खराब बाटोतिर लाग्न नपरोस्, परिवारलाई छोडेर खाडी मुलुकमा जान नपरोस् भनेर आन्दोलनमा लामबद्ध भएका हुन् । आज ती युवाहरुले रोजगारी पाएका छैनन् । आज पनि हामीले युवाहरुलाई उत्पादनका क्षेत्रमा जोडेर, उद्यमी बनाउने हिसाबले हाम्रा कार्यक्रमहरु आएका छैनन् । अरबका खाडीमा श्रम बेचेर बस्न बाध्य युवालाई नेपालमै रोजगारी दिन सक्ने कार्यक्रम बनाउनुपर्छ ।

संविधानले स्वास्थ्य शिक्षा र रोजगारीलाई मौलिक हकका रुपमा ग्यारेन्टी गरेको छ व्यवहारमा कहाँ छ ?

संविधानमा लेखिएको छ तर त्यो व्यवहारतः कार्यान्वयनमा आएको छैन । हामीले कार्यक्रम, बजेट बनाउँदै गर्दा पचास पचासको अवधारणा ल्याएर साझेदारीमा काम दिन सक्छौ नि । म त विकास भनेको बाटोघाटो, पूर्वाधारलाई मात्र लिन्नँ । स्थानीय तहमा कति कलकारखाना खोलियो र कति मान्छेलाई रोजगारी दिन सकियो ? २१आंै शताब्दिमा हिंसारहित, विभेदरहित समाज बनाउन सकिएको छ कि छैन ? महिला, अपांगता भएका व्यक्तिका क्षेत्रमा काम गर्न सकेका छौं कि छैनौ ? वातावरण मैत्री, अपांग मैत्री, बाल मैत्री, महिला मैत्री हाम्रा संरचनाहरु छन् कि छैनन् ? यो पनि विकाससँग जोडिन्छ । बाटो र भवन पनि आवश्यक छ तर अब यसलाई मात्र देखाएर भाषण गरेर मात्र हुन्न ।

नेपालले रेमिटेन्स भित्र्याएर देश चलेको छ भनिरहँदा भारतले त्योभन्दा बढी रेमिटेन्स नेपालबाट भित्र्याएको छ भन्ने बहस चलिरहेको छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

हामी नेपालीहरुको कमजोरी भनेको अरुका देशमा गएर जे पनि गर्न तयार हुने, आफ्नै देशमा काम गर्न लाज हुन्छ । कृषिप्रधान देशमा बाख्रा, कुखुरा, गाई, भैंसी पाल्न, सरसफाइ गर्न लाज हुन्छ । तरकारी खेती गर्न पढेलेखेकालाई लाज हुन्छ तर अर्काको देशमा जस्तासुकै काम गर्न, शौचालय सफा गर्न पनि हामी तयार हुन्छौं । हाम्रो देशमा भएको स्रोतको हामीले पहिचान नै गर्न सकेनौं । हामीले हाम्रो देशलाई चिन्नै सकेनौं भन्छु । विश्वका कुनै पनि मुलुक नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण छैन । नेपालमा यति धेरै कुरा छ त्यसको खोज अनुसन्धान नै भएन । हामीले त्यतातर्फ लाग्ने, सोच्ने कार्यक्रम नै बनाइदिएनौ । यहीं बसेर राम्रो गर्न सक्छौं भन्ने वातावरण नै बनाइदिएनौं । नेपालमा श्रमको सम्मान गर्न सिकाएनौं र सिकेनांै त्यो नै हाम्रो ठूलो कमजोरी हो ।

पछिल्लो केही वर्ष यता नेपालको भौतिक संरचना बनाउने, बाटो, घाटो बनाउने श्रमिक ७५ प्रतिशतभन्दा बढी भारतीय नागरिक हुन्छन् भनिन्छ नि ?

सही हो, म एउटा उदाहरण दिन्छु, सबैभन्दा बढी कवाडी सामान संकलन गर्ने श्रमिकहरु भारतबाट आएका छन् र सबैभन्दा धेरै पैसा पनि त्यहीं छ । नेपालीले त्यो काम गर्दैनन् । जसले धेरै कमाइ गरिरहेको छ उसलाई हामीले हेर्ने दृष्टिकोण फरक छ । तर सबैभन्दा बढी कमाइ उसले गर्छ । नेपालीले पैसा कहाँ छ भनेर स्रोतको पहिचान नै गर्न सकेनौं । मुख्य कुरा हामीले नेपाली युवालाई राम्रो तरिकाले शिक्षा दिनै सकेनौं । कोभिड जस्तो महामारी फेरि फैलियो भने नेपालीहरु भोकभोकै मर्नुपर्ने अवस्था आउँछ । नेपाललाई कृषिप्रधान देश भन्छौं, ६० प्रतिशतभन्दा माथि नागरिक कृषि कर्ममा छांै । तर नेपालमा गरेको कृषिले नेपालीको जीविकोपार्जन भएको छैन, छाक टार्न सकेका छैनौं । अबको समय आफूले गरेको उत्पादनले आफ्नो परिवारलाई धान्न सक्ने हुनुपर्छ र यतातर्फ सबैको ध्यान पुग्नुपर्छ भन्न चाहन्छु ।

काभ्रे कृषिमा आत्मनिर्भर तथा प्राकृतिक स्रोतका पनि धनी जिल्लाका रुपमा चिनिन्छ । यसलाई पुष्टि गर्ने आधारहरु के के छन् ?
हामी दुग्ध उत्पादनमा, मासुमा, तरकारीमा आत्मनिर्भर नै जिल्लाका रुपमा छौं । यसो हेर्दा आत्मनिर्भर छांै जस्तो लाग्छ फेरि यहाँको कौडीको मूल्यमा बिचौलियाले बाहिर लाने र बाहिरबाट सुनको मूल्यमा भित्र्याउने क्रम बढ्दो छ । किसानहरुले पनि निर्धक्कका साथ कृषि पेसा अपनाएर मेरो जीवन चलेको छ, लगानी उठेर फाइदा भएको छ भन्ने स्थिति नै छैन । किसानका लागि समयमा मल, बिउको व्यवस्थापन हामीले गर्न सक्दैनौं । यिनै कारणले अब कृषिबाट हामी टिक्नै सक्दैनौं भन्ने अवस्थामा हामीले पु¥यायौं र बोरामा प्याक भएको सामान किन्नेतर्फ आकर्षित गरायौं । कृषि गर्न र टिकाउनतर्फ सरकारले ध्यान नै दिएन ।

एक वर्षअघि सर्वसाधारण भएर बस्दा र अहिले पदमा रहेर जिम्मेवार सम्हाल्दा कस्तो पाउनुभएको छ र केके विषयलाई प्राथमिकतामा राखेर काम गर्दै हुनुहुन्छ ?

मूलतः हामी आउनेबित्तिकै जिल्लाको अवस्थालाई अध्ययन गर्ने प्रयत्न ग¥यौं । बाहिर बसेरभन्दा र जिम्मेवारी लिएर गर्दाको अवस्थालाई नियाल्यौं । काभ्रे जिल्ला द्रुत गतिमा हैन धिमे गतिमा विकासमा फड्को मार्दै गरेको जिल्ला हो । जुन गतिमा विकास निर्माणको काम अघि बढाउनुपर्ने हो त्यो सकिरहेको छैन । संघ, प्रदेश, स्थानीय सरकारले बजेट विनियोजन गर्दा काम भएका छन् तर त्यहाँ मापदण्ड पु¥याएको छैन, बेथिति र अनियमितता छ । अनुगमन, नियमन गर्न गयो भने नआइदिए हुन्थ्यो, नगरिदिए हुन्थ्यो भन्ने अवस्था छ । त्यसैले जिल्लाको सामुदायिक शिक्षालाई सुधार्नेतर्फ केन्द्रित भएर काम गरेका छौं । कृषिमा हरेक जिल्लालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर काम गरिराखेका छौं । हिंसारहित समाज निर्माणमा जोड दिएका छौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवाहरुका सन्दर्भमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएका छौं । यति मात्र नभई युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन कसरी सचेतना जगाउने भनेर कार्यक्रमहरु गरिरहेका छौं । नागरिकलाई सुसूचित गराउने अठोटका साथ अघि बढेका पत्रकारहरुलाई दक्ष बनाउन तालिमको आयोजना गर्दै आएका छौं । हाम्रो उपस्थितिले, अनुगमनले, समन्वयले कुनै क्षेत्रलाई बाँकी राखेका छैनौं । परिवर्तन गर्न सकिन्छ भने किन नगर्नु । अनियमितता भएको छ भने किन नबोल्ने ? विकासमा सन्तुलन भएको छ छैन भन्ने कुरालाई पनि हेरका छौं । मापदण्डविपरीतका कतिपय कामहरु भएका छन् भने सच्याउन लगाएका छौं । काममा ढिलासुस्ती भएको छ भने हामी आफैं स्पटमा बसेर काम गरिरहेका छौं । यसको उदाहरणका लागि धुलिखेल खावाँ सडक, महाभारत, खानीखोलाका विकास निमार्णका कामहरुलाई हामीले हेर्न सक्छौं । अन्य पालिकाको कामलाई हेर्न सक्छौं । प्राकृतिक दोहनलाई कसरी रोक्न सकिन्छ भनेर काम गरिरहेका छौं ।
साथै कुनै पनि नागरिक सदरमुकाममा प्रक्रिया पुगेर आएको काममा नरोकीकन काम सकेर फर्कियोस् भनेर जिल्ला प्रशासन, घरेलु, स्वास्थ्य शिक्षा, मालपोतमा छड्के अनुगमन गरेर जनतालाई सहज बनाउन जिल्ला समन्वय समिति अनुगमन र समन्वयको कामलाई कार्यक्रमिक योजना बनाएर अघि बढेका छौं ।

काभ्रेलाई दिगो बिकास र आत्मनिर्भर बनाउने के के छन् ?

काभ्रेलाई दिगो विकास र समृद्ध बनाउने हो भने दुईटा कुरा छन् पहिलो कृषि र दोस्रोमा पर्यटन । खोज अनुसन्धान गर्दा जडिबुटी पनि छ । यी तीन क्षेत्रमा काम गर्ने हो भने प्राकृतिक स्रोतको धनी जिल्लाका रुपमा उदाहरण बन्न सक्छ । व्यवस्थित गर्न सकियो भने मात्र यो सम्भव छ ।

व्यवस्थित गर्ने विषयमा कुन कुन निकाय जिम्मेवार छन् ?

तिनै तहका सरकार जिम्मेवार हुनुपर्छ । जिल्लाको हकमा कुरा गर्दा स्थानीय सरकार हो भने काम गर्न सहज प्रदेशले बनाइदिनुपर्छ । केन्द्रले संघीयतामा अधिकार सिंहदरबारमै राख्नुभएन विकेन्द्रीकरण गर्नुप¥यो । तीनै तहको सरकार मिलेर काम गर्ने हो भने काभ्रे बनाउन सकिन्छ । काम गर्ने इच्छाशक्ति जनप्रतिनिधिमा हुनुपर्छ ।

नेपालको व्यवस्था परिवर्तनपछि केके प्राप्ति भयो र केके गुम्यो ?

व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन । अर्को गणतन्त्र आयो भनियो गणतन्त्र कुन चरीको नाम हो नागरिकले थाहा पाउन सकेनन् । गणतन्त्र संसद् भवन, बालुवाटार, मन्त्रालयमा हो ? जनताको झुपडीमा गणतन्त्र पुग्नुपर्दैन ? किसानका घरघरमा गणतन्त्र पुग्नुपर्दैन ? उनीहरुका माझ गणतन्त्र पुग्न सकेको छैन त्यो पुग्ने गरी काम गर्नुपर्छ ।

अन्तिममा केही छ कि ?

काभ्रेपलाञ्चोक जिल्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । यहाँ सम्भावना नै सम्भावना छ, हाम्रो इच्छाशक्तिका कारण धिमे गतिमा अघि बढेको छ । काभ्रे बनाउने कुरामा राजनीति नगरौं । विकासमा राजनीति नगरौं । विकासमा राजनीति गर्न खोजेनांै भने काभ्रेको परिवर्तन, सवृद्धि सम्भव छ । अति धेरै खिचातानी छ, नागरिकहरुलाई कुठाराघात नगरौं । जुन शपथ खाएर आएका छौं व्यवहारमा उतारौं ।

प्रतिक्रिया दिनुहोस्