यौनिकता शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरू



काठमाडौं । बृहत् यौनिकता शिक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा शुरू भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सम्मेलनको उद्घाटन गर्दै यो सम्मेलनले नेपालको संविधानमा भएको प्रजनन् स्वास्थ्यमा मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय शिक्षामा यौनिक शिक्षा समेट्ने कुरामा सरकार सजग रहेको जिकिर गर्दै सरोकारवाला निकायको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।

शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यूएनएफपीए नेपाललगायतका विभिन्न संघ संस्थाहरूको आयोजनामा शुरू भएको सम्मेलनमा यूएनएफपीएका नेपाल प्रतिनिधि योङहाङले बृहत् यौनिक शिक्षा छात्रालाई मात्र नभई छात्रलाई पनि दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बृहत् यौनिक शिक्षा विद्यालय तहमा शुरू भएकोमा प्रशन्नता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूलाई पनि थप तालिम दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल शर्माले केही वर्ष पहिला सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भन्दा समाजले ढुंगाले हानेर लखेट्ने अवस्था रहेको स्मरण गर्दै आज बृहत् यौनिक शिक्षाको पहिलो सम्मेलन गर्न सकेकोमा हर्ष प्रकट गर्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले परम्परागत नेवारी समुदायमा गुफा राख्नु पनि यौनिक शिक्षा दिनु हो भन्नुभयो ।

मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद वेगले यो सम्मेलनले नेपालको संविधानमा भएको व्यवस्थालाई मुस्लिम समुदायमा कसरी जोड्ने र कसरी बृहत् यौनिक शिक्षा दिने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सम्मेलनमा बझाङ्गबाट आएकी रविना थामीले किशोर किशोरीमैत्री सूचना केन्द्रका कारण परम्परागत सोच र छोरी मान्छेको मर्मलाई केही हदसम्म सुधार आएको बताउँदै भविष्यमा सबै निकायको सक्रियतामा हरेक विद्यालयमा सूचना केन्द्र स्थापना होस् भन्ने कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्