स्थानीय तहबाट खेलकुदलाई सहयोग

मानन्धर खेलकुद गतिविधि बढाउन प्रयत्नशील



काठमाडौं । स्थानीय तहको एक वर्ष कार्यकाल सकिएको छ । यसमा विभिन्न क्षेत्रमा एक वर्ष के भयो भन्ने क्रममा खेलकुद पनि यसको एक हिस्साको रूपमा रहेको छ । खेलकुद आफैंमा बहुउपयोगी क्षेत्र हो । खेलकुद स्वास्थ्य शरीर र स्वच्छ मानसिकताका लागि अपरिहार्य छ । खेलकुदकै माध्यमबाट राष्ट्रको शिर ठाडो हुने गरेको छ ।

त्यतिमात्र होइन, खेलकुदमार्फत् देशको अर्थतन्त्रलाई पनि टेवा पुग्ने गरेको छ । रोजगारीको अवसर सिर्जना भएर आम नागरिकको जीवनस्तर उकास्न पनि खेलकुदको भूमिका महत्वपूर्ण हुने गरेको छ । त्यसैले खेलकुदका लागि राष्ट्रले सक्दो सहयोग गर्नु आवश्यक देखिन्छ र गर्नु पनि पर्छ ।

केही साताअघि मात्र कागेश्वरी मनोहरा नगरपालिकाले रग्बी मैदानको लागि १ सय ८ रोपनी १२ आना ३ पैसा ३ दामको जग्गा उपलब्ध गराउने सम्झौता राष्ट्रिय खेलकुद परिषद्सँग भएको थियो ।

काठमाडांै महानगरपालिकाबाट भने यस्तो सहयोग भने कतै गरिएको पाइएको छैन । यसैले पनि होला स्थानीय तहको एक वर्षे कार्यकालमा स्थानीय क्षेत्रमा खेलकुदले कुनै फड्को मार्न सकेन । केही ठाउँमा छाडेर हेर्ने हो भने खेलकुद गएको वर्ष भएकै छैन । कामनापा–२१ अन्तर्गतको जैशीदेवलमा कराँते र तेक्वान्दो खेल स्थानीय तवरमा प्रतियोगिता आयोजना भएको थियो ।

यसको बावजुद स्थानीय तह खेलकुदको लागि तत्पर देखिँदैन । यसमा सानो आकारको बजेट प्रमुख कारण हो भने र अहिले उपलब्ध हुने बजेटले विभिन्न वडामा प्रतियोगिता आयोजना गर्न नै कठिन छ । काठमाडौं महानगरपालिका–२१ अध्यक्ष उदयचुडामणि वज्राचार्यले स्थानीय स्तरबाट खेलकुदका लागि सहयोग न्यून रहेको बताउनुहुन्छ ।

‘उनीहरूले दिने भनेको २०÷३० हजार मात्रै हो । यतिले त खेलकुद प्रतियोगिता आयोजना गर्न सकिँदैन । टोल टोलमा खेलाउन पनि ठाउँ चाहियो, त्यो हामीसँग छैन । यसमा फेरि स्थानीयबासीबाट कुनै चासो राखेको पनि देखिँदैन । खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्नाले पनि स्थानीय तहमा खेलकुदको शून्य प्रभाव परेको हुन सक्छ ।’ –उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो— ‘महानगरपालिका धाउन एक जना व्यक्तिलाई सधंै लगाउनु पर्ने हुन्छ । यसो गर्न सकेमा हामीले वडामा पैसा ल्याएर खेलकुद आयोजना गर्न सकिन्छ । तर, महानगरपालिका धाइरहन पनि सकिने अवस्था छैन । कसैलाई दिनदिनै महानगरपालिका धाउन फुर्सद पनि हुनुप¥यो ।’

यस्तै, वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले बताउनु भए अनुसार स्थानीय तहबाट आउने बजेटले क्लबहरूलाई सहयोग गरिएको छ ।

यसै गरी वडा नंं. १७ का अध्यक्ष नविन मानन्धरले कुन प्रकारको कार्यक्रम हो त्यहीअनुसार बजेट दिइने बताउनुभयो । यस्तै वडानम्बर २५ का अध्यक्ष राजेश डंगोलले बताउनुभयो स्थानीय तहबाट आउने रकम क्लबहरू र सामुदायिक विद्यालयको लागि खर्च हुने गर्छ । उहाँले बताउनुभयो—खेलकुद सामग्री पनि दिइन्छ । रकम उपलब्ध पनि गराइन्छ । तर, कार्यक्रम लिएर जानु प¥यो ।

मानन्धर खेलकुद गतिविधि बढाउन प्रयत्नशील

कविरस शर्मा

विगत तीन दशकदेखि विभिन्न भूमिकामा स्थानीय तहमा निरन्तर रूपमा क्रियाशील हुनुहुन्छ राजेन्द्र मानन्धर । हाल काठमाडौं महानगरपालिका २० का अध्यक्ष मानन्धरले २० वडा क्षेत्रमा लामो समयदेखि थुप्रै विकास निर्माणका कार्यमा अग्रसरता देखाउनु भएको छ । थुप्रै तारिफयोग्य काम गर्नु भए पनि मिडियासमक्ष बिरलै मात्र उपस्थित हुन रुचाउने उहाँ पछिल्लोपटक स्थानीय चुनावबाट निर्वाचित भएको एक वर्षभित्र वडामा खेलकुद गतिविधि पनि बढाउन प्रयत्नशील रहेको बताउनुहुन्छ । अध्यक्ष मानन्धरले काठमाडौं महानगरपालिकाले निकासा गर्ने खेलकुद शीर्षकको बजेट सदुपयोग हुँदै आएको बताउनुहुन्छ ।

खेलकुदका लागि भनेर आउने सानो आकारको बजेटबाट यसपटक वडामा रहेको खेल क्लबको स्तरोन्नति, वडास्तरीय फुटसल प्रतियोगिता तथा वडाभित्रका सामुदायिक विद्यालयहरूमा खेल सामग्री वितरण गरेको बताउनुहुन्छ । उहाँले वडाको निर्माणाधीन भवनमा अत्याधुनिक जिम हल बनाउने योजना रहेको समेत खुलासा गर्नुभयो । उहाँले ग्रासरुटदेखि खेलकुद विकास गर्ने हो भने विद्यालयमा अनिवार्य खेलकुद प्रशिक्षक राखिनु पर्ने जिकिर समेत गर्नुभयो ।

विदार्थीले खेलकुदमा पनि चासो लिने हो भने पढाईसँगै खेल करियरलाई पनि अगाडि बढाउन मद्दत पुग्ने बताउनुहुन्छ । खेलकुदको उर्वर क्षेत्र नै विद्यालय भएकोले आफ्नो वडामा रहेको सामुदायिक विद्यालय तथा त्यहाँ पढ्ने विद्यार्थीलाई खेल्नका लागि सहयोग गरेको बताउनुहुन्छ ।

‘वडाले परोपकार स्कुलमा खेल्नका लागि कोर्ट बनाउन सहयोग गर्नुका साथै प्रतियोगितामा भाग लिने विद्यार्थीलाई आर्थिक सहयोग पनि उपलब्ध गराएको छ’–उहाँले भन्नुभयो–‘त्यतिमात्र होइन, विद्यार्थीहरूलाई मध्यनजर गरी शान्ति निकुञ्ज विद्यालयमा क्रिकेट एकेडेमी बनाउने सोच रहेको छ ।’

महानगरबाट प्राप्त हुने बजेटले मात्र एकेडेमी बनाउन सम्भव नहुने भएकोले कुनै व्यापारिक संस्थाले सहयोग गरेको खण्डमा क्रिकेट एकेडमी बनाउने योजनालाई मूर्तरूप दिन सकिनेछ । नेपालका चर्चित खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि यही वडाको स्थायी बासिन्दा भएकोले क्रिकेटमा केही गर्नुपर्छ भन्ने लागेको छ ।’

उहाँले बितेको एक वर्षभित्र २० वडामा रहेको नेपाली बक्सिङको पुरानो मध्येको योङस्टार क्लबको स्तरोन्नति गर्नुका साथै खेल सामग्रीहरू पनि प्रदान गरेको बताउनुभयो ।

‘विगतमा पनि बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजनाका लागि यस वडाले साथ र सहयोग गरेको थियो । योङस्टार क्लबसँग समन्वय गरी चाँडै नै यस वडामा रहेको र विद्यालयमा बक्सिङ खेल प्रशिक्षण गराउने र प्रतियोगिता पनि गराउने योजना छ ।’–उहाँले भन्नुभयो ।

‘ठूलो ठाउँ अभावका कारण फुटबलजस्तो आउटडोर खेल खेलाउन भने अलि समस्या नै छ । त्यसैले कम ठाउँमा खेल्न सकिने अन्य खेलहरूमा केन्द्रित रहेर खेल गतिविधि बढाउने सोच छ ।’

उहाँ भन्नुहुन्छ – ‘त्यतिमात्र होइन देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका तथा नेपाली खेलकुद विकासमा योगदान पु¥याएका खेलाडीहरूको अभिलेख पनि सम्बन्धित वडामा राख्ने संस्कारको थालनी आवश्यक भइसकेको छ । हरेक वडाबाट प्रतिभावान् खेलाडी जन्माउने हो भने प्रत्येक नगर र गाउँ पालिकामा खेलकुद नीति बनाएर सरकारले त्यही अनुसारको बजेट पनि उपलब्ध गराउनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्