पर्साका स्थानीय तह,लथालिङ्ग चाला,भताभुङ्ग पारा



मुलुकका अन्य जिल्लाजस्तै पर्सा जिल्लाले पनि गणतन्त्र स्थापनापछि भने दास्रो कार्यकालको स्थानीय तहको अभ्यास गरिरहेका छन् । पर्सामा गाउँपञ्चायत हुँदै गाविस र अहिले गाउँपालिका तथा नगरपालिकाहरूले स्थानीय शासन सञ्चालन गरिरहेका छन् । जिल्लामा १२ वटा स्थानीय तहरू रहेका छन् । देशको ८ वटा महानगरपालिकामध्येको एक वीरगन्ज महानगरपालिका पनि पर्सामा नै छ । वीरगन्ज महानगरपालिका भएपछि,दोस्रो मेयर यसले पाएको छ र अहिले वीरगन्ज महानगरपालिकाले पनि दोस्रो कार्यकालको अभ्यास गरिरहेको छ । पर्सामा एक महानगरपालिकासहित तीनवटा नगरपालिका र ६वटा गाउँपालिका रहेका छन् । यी सबैको आ–आफ्नै महत्वसहित विशेषता पनि छ । तर,यिनीहरू सबैको विशेषता पनि एक छ त्यो भनेको यी स्थानीय तहहरूमा बेरुजु, अनियमितता र असमझदारी भने सतहमा नै देखिन्छ ।

यो हिसाबले पनि पर्साका स्थानीय तहरूमा चरम बेथिति छ । वीरगन्ज महानगरपालिकाको नै कुरा गर्ने हो भने यहाँ विगत एक वर्षमा नै तीनवटा कार्यकारी अधिृतकृृतहरू फेरबदल भए । केही दिन कार्यकारी अधिकृतको अभावमा पनि महानगरपालिकाले राम्रोसँग काम गर्न सकेन । कार्यकारी अधिकृत र मेयरको आपसी तालमेलको अभावका कारण यो महानगरपालिकामा पनि अपेक्षाकृत सफलता हासिल गर्न सकेको छैन । यसअघि निर्वाचित मेयर बिजयकुमार सरावगीले गरेको केही कामको अहिलेका मेयर राजेशमान सिंहले अनुशरण गरे पनि अघिल्लो सरकारको निर्णय उल्ट्याउनैमा वीरगन्ज महानगरपालिकाका मेयरको एक वर्ष व्यतीत भएको देखिन्छ । यद्यपि, महानगरपालिकाले एक वर्षमा निकै ठूलो काम गरेको मेयर सिंहको तर्क छ । विशेषगरी सरकारी र महानगरपालिकाकै जग्गा व्यक्तिको नाममा रहेकोमा तीनलाई फिर्ता ल्याउने कार्य आफ्नै कार्यकालमा सफल भएको सिंहको दाबी छ । अनि विकास निर्माण र वीरगन्जको सौन्दर्यको सवालमा २० वर्षदेखि नभएको काम एक वर्षमा भएको मेयर सिंह निकटका व्यक्तिहरू दाबी गर्छन् तर महानगरपालिकाका बासिन्दाले भने अझै सिंह सानातिना काममा अल्झिरहेको बताउँछन् ।

वीरगन्ज महानगरपालिकापछि नगरपालिका बनेका पर्साको,पर्सागढी,पोखरिया र बहुदरमाई नगरपालिकाको अवस्था पनि उस्तै छ । यिनीहरूमा पनि प्रमुख प्रशासकीय अधिकृतको त समस्या रह्यो नै कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयको अभाव त छँदैछ साथमा जनप्रतिनिधिकै बीचमा पनि समस्या छ । नगरप्रमुख र उपप्र्रमुखकाबीचमा आवश्यक समन्वयको अभाव छ । दुवैले आफूआफू ठूलो भएको घमण्ड देखाउने र पुरुष जनप्रतिनिधिहरूको व्यवहार अलि संकीर्ण हुँदा पनि समस्या भइरहेको पोखरिया नगरपालिकाकाकी पूर्व उपप्र्रमुख सल्मा खातुनको अनुभव छ । विकास निर्माणलाई नै यी नगरपालिकाहरूले प्राथमिकतामा राखेको बताए पनि जनताको दैनिक समस्यामा उनीहरू कम संवेदनशील छन् ।

अब कुरा गरौं,पर्साका ८ वटा गाउँपालिकाहरूको, पर्साको बिन्दवासिनी गाउँपालिका, छिपरमाइ, कालिकामाइ, पटेर्वासुगौली तथा जीराभवानी ,पकाहामैनपुर तथा धोबिनी र ठोरीको कुरा गर्दा यिनीहरू सबैको भूगोल अनुसारको आ–आफ्नै विशेषता छन् । ठोरी अलिक पहाडी भूभागमा छ भने धोबिनीसहितका केही पालिकाको सीधा प्रभाव भारतको बिहारसँग छ । छिमेकी देश भारतसँगको सीधा र खुला सीमा तथा सम्बन्धका कारण विहारको प्रभाव यिनीहरूमा पर्नु सामान्य नै हो । विहारको कतिपय काम तथा व्यवहारको समेत यी गाउँपालिकाका जनप्रतिनिधिहरूले अनुशरण गरेको पाइन्छ । जनप्रतिनिधिहरूको व्यवहार विहारी शैलीको भए पनि जनतामा कुनै आक्रोश देखिँदैन । कतिपय शैली विहारको पनि राम्रो भएकाले जनप्रतिनिधिहरूको रबैयामा उनीहरू धेरै बेखुस छैनन् ।

समग्रमा विश्लेषण गर्दा,पर्साका स्थानीय सरकारहरूमा विकृति भए पनि काम नै नभएको पनि छैन । धेरै परिवर्तन पनि भएका छन् । वीरगन्ज महानगरपालिकाकै कुरा गर्ने हो भने सडक निकै साँघुरो,फोहोर तथा सडकमा नै केही वर्ष अगाडिसम्म दिसाको थुप्रो देखिए पनि आजकल यस्तो छैन । सडक सफा छ । फोहोरमा धेरै सुधार आएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । जनप्रतिनिधिहरू आएपछि धेरै विषयमा सुधार आएको हो । जनतले सेवा लिने विषयमा पनि सहज भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएका ठोरीका स्थानीय रामप्रसाद ढुंगानाले जनप्रतिनिधि आएपछि कम्तीमा सरकारका तालुकदार निकायमा केही समस्या भए भनसुनका आधारमा समस्या समाधान गर्न सकिएको बताउनुभयो । यो भनेको जनप्रतिनिधिहरू नागरिकहरूप्रति पनि उत्तिकै जिम्मेदवार र गम्भीर छन् भन्ने पनि देखिन्छ । स्थानीय तहका कर्मचारीकाबीचमा समन्वय,जनप्रतिनिधि र जनप्रतिनिधिकैबीचमा समन्वयसहित सहकार्य र भ्रष्टचार जन्य क्रियाकलापमा कम संलग्न रहेको खण्डमा पक्कै पनि स्थानीय तह अझै समृद्ध बन्दै जाने अपेक्षा भने गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्