पोखरालाई पर्यटक राजधानी बनाउने अभियान जारी : पोखरा महानगरपालिका प्रमुख आचार्य



-धनराज आचार्य
प्रमुख, पोखरा महानगरपालिका

सामाजिक क्षेत्रमा समेत आफ्नो सफल पहिचान बनाउनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पोखरालाई मुलुककै पर्यटकीय शहर बनाउने प्रण गर्नुभएको छ । तर, उहाँले निर्वाचनमा व्यक्त गरेको प्रतिवद्धता भने पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुखमा मैदानमा उत्रनु भएका उहाँ अहिले पोखरालाई अझै व्यवस्थित शहर बनाउने अभियानमा हुनुहुन्छ । निर्वाचित भएर आएको एक वर्षका अवधिमा उहाँले गर्नु भएको कामलगायत समग्र पोखरा महानगरपालिकाको विषयमा प्रमुख आर्चायसँग नेपाल समाचारपत्रकर्मी टंक अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

पोखरा महानगरको नेतृत्व सम्हालेको १ वर्ष भइसक्यो । जनप्रतिनिधिका रूपमा तपाईंको अनुभव कस्तो रह्यो ?

समय त छिटो जाँदो रहेछ ! बेलाबेलामा १ वर्ष भयो र ? जस्तो पनि लाग्छ । जनप्रतिनिधिका रूपमा मैले पक्कै केही नयाँ अनुभव गरेको छु । यहाँ आइसकेपछि खासगरी सुशासनको सन्दर्भमा नागरिकहरूले सेवा सुविधा राम्रोसँग पाउनुपर्छ, उहाँहरूको जीवन सरल हुनुपर्छ भन्ने मुख्य ध्येय रह्यो, छ ।

यो कार्यालयबाट प्रदान, सम्पादन गरिने सेवाहरू सही समयमा पाउनुप¥यो । यदि, कुनै कारणले ढिला हुनुपर्छ भनेदेखि त्यो पनि उहाँहरूले थाहा पाउनुप¥यो भन्ने पनि व्यवस्था गरेका छौं । त्यसकै लागि महानगरले शुरूमै एकद्वार प्रणाली लागू ग¥यौं ।

सँगसँगै ‘हेलो मेयर’ पनि शुरू ग¥यौं । कसैको केही समस्या, सल्लाहसुझाव छ भने पनि सामान्यतया २४ घन्टाभित्र समाधान गर्ने गरी व्यवस्था गरेका छौं । यसले कतिपय ठाउँमा हामीलाई थाहा नभएका कुरा पनि तत्कालै थाहा पाउने भयौं । सामान्यतया दिनमा ५० वटा फोन आउने गरेको छ ।

अनुभवका हिसाबले यो वर्षलाई मैले आधार वर्षका रूपमा लिएको छु । ५ वर्षमा हामीले गर्ने वा गर्नुपर्ने काम, योजना केके हुन् ?

अल्पकालीन र दीर्घकालीन दुवैखाले योजना हामीले बनाएका छौं । जुन हाम्रा घोषणापत्र, नीति तथा कार्यक्रममा तय गरेका थियौं ।

यो शुरूको वर्षमा आधार बनाउने समयका रूपमा बुझेको छु । यति हुँदाहुँदै पनि केही देखिने कामहरू अगाडि बढिसकेका छन् । अरु क्रमशः हुँदैछन् । सरकारी प्रक्रिया केही लामो पनि हुने रहेछ । अध्ययन गर्नुपर्ने, डीपीआर बनाउनुपर्ने, ठेक्का, टेन्डरमा लामो समय लगाउनुपर्ने हुने रहेछ ।

व्यावसायिक र सरकारी कामकारबाही प्रक्रियामा फरक अनुभव त गर्नुभयो । त्यो अनुभवले तपाईं जनप्रतिनिधिका रूपमा निर्वाचित हुनुभन्दा अगाडि र अहिलेको उत्साहलाई फरक पारेको छ कि छैन ?

उत्साह घटेको छैन । यो ५ वर्षसम्म कुनै घन्टा, मिनेट, सेकेन्ड मेरो कुनै उत्साह कम हुँदैन । मेरो मात्रै होइन, हाम्रा ३३ वटै वडाध्यक्ष उत्साहित हुनुहुन्छ । हाम्रा उपप्रमुखदेखि सबै जनप्रतिनिधि युवा उत्साह बोकर आउनु भएको छ ।

अहिलेसम्मका सबै कार्यपालिका बैठकहरू सर्वसम्मत निर्णयका साथ अगाडि बढेका छन् । यो भनेको हामी सबैको सकारात्मक उत्साह नै हो । हाम्रो स्पिडमा कुनै कमी आएको भन्न मिल्दैन ।

कर्पोरेट क्षेत्रको नेतृत्वबाट पहिलोपटक सरकारी नेतृत्वमा आउनुभयो । यो महानगरलाई तपाईंले बाहिरबाट हेर्दा र अहिले आफैंले नेतृत्व गर्दा केही फरक पाउनु भयो ?

पहिले र अहिले के फरक भयो भन्ने त वास्तवमा नागरिकले भन्नुपर्ने हो । हामीलेचाहिँ ढिलासुस्ती हटाएका छौं भन्ने लाग्छ । अर्को नागरिकको गुनासो सुन्नका लागि निःशुल्क नम्बर नै उपलब्ध गराएर पनि जनतालाई सरकारको अनुभूति दिलाई राखेका छौं ।

महानगरभित्रैबाट पनि कतिपय सन्दर्भमा काम नगरिदिने, अरू कुनै माग गर्ने आदि कुराहरू पनि हिजो थियो । तर, अहिले ती कुराहरू ‘हेल्लो मेयर’मा गुनासो सीधै गर्न पाइन्छ । दिनमा औषत ८, १० वटा गुनासा आउँछन् । कहिलेकाहीँ आधिकारितामा अलिकति समस्या त हुन्छ नै । तर, त्यसलाई हामीले सम्बोधन गरिरहेकै छौं ।

समयमै काम सक्नका लागि सक्दो गरिरहेकै छौं । हुन त हाम्रा महाशाखाहरू सबै यही भवनमा छैनन् । जहाँ रहे पनि महानगरबाट प्रवाह हुने सेवा समयमै सम्पादन भएका छन् । पहिले प्राविधिक समिति नै नभएका कारण ठूला निर्माणका कुराहरू २, ३ वर्ष रोकिएका थिए । अहिले कुनै पनि निर्माणका कामहरू एक महिनाभन्दा बढी फाइलहरू नरोक्ने गरी अगाडि बढाएका छौं ।

टेन्डरमा लैजानुपर्ने योजनाहरू पनि कुनै रोकिएका छैनन् । यो वर्ष वडा र महानगरस्तरीय टेन्डरमा जानुपर्ने झन्डै ५ सय परियोजनाहरू सबै अगाडि बढिसकेका छन् । हामी आइसकेपछिको मुख्य परिवर्तन भनेको वडालाई ठूलो बजेट दिएका छौं । पहिले वडामा १ करोडभन्दा तलका बजेट पनि थिए । तर, अहिले त्यस्तो छैन । महानगर स्तरीय योजना पनि वडालाई नै दिएका छौं । त्यसले गर्दा ठूला वडामा १५ करोडसम्म बजेट गएको छ ।

अहिले महानगरको सेवा प्रवाहमा राम्रो सुधार भएको लाग्छ । पूर्वाधारतर्फ पनि सुधार शुरू भइसकेको छ । खासगरी दातृ निकायसँग केही वर्षअघिबाट काम रोकिएको अवस्था थियो । हामी आइसकेपछि सबै दातृ निकाय, जसले नेपालमा ठूला योजना चलाइराखेका छन्, उनीहरूको काम पनि सँगसँगै अगाडि बढेको छ । यो पनि ठूलो उपलब्धि नै मान्नुपर्छ । अहिले पोखरा महानगरभित्र विभिन्न दातृ निकायहरूको सहयोगमा २३ अर्व बराबरको लगानीको वातावरण तयार गरिएको छ ।

पोखराको फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सन्दर्भमा म अस्ति भर्खर जापान पुगेर फर्केको छु । जाईका र जापानको सरकारी स्तरबाट यसको रेस्पोन्स राम्रो आएको छ । पोखरा ४ वटा सेक्टरमा विभाजन गरेर फोहोर पानी प्रशोधनका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको छ । यसमा करिब ११ अर्ब बराबरको लगानी जापानकै तर्फबाट हुने हो । पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न कोरियासँग सम्झौता गरिसकिएको छ । महेन्द्रपुलमा एनआरएनए र लायन्स क्लव अन्तर्राष्ट्रियको सहयोगमा अत्याधुनिक सार्वनजिक शौचालय र अन्तराष्ट्रिय झण्डा पार्क निर्माण गर्दैछौँ । महानगरमा उज्यालो पोखरा अभियान सञ्चालन गरिएको छ । यी सबै परियोजनाहरू सम्पन्न हुँदा पोखरामा एक चरणको विकास साच्चै अनुभूति गर्ने खाल कै हुन्छ ।

पोखराको एउटा आफ्नै नारा छ ‘समुन्नत पोखरा’ । समुन्नत पोखरा बनाउन के छन् तपाईंका योजना ?

समुन्नत पोखरा महानगरपालिकाले नै तय गरेको नारा हो । समुन्नत भन्नाले बाटोघाटो अथवा २, ४ वटा पूर्वाधारले मात्रै समुन्नत हुँदैन । समुन्नत हुनका लागि यहाँका नागरिकहरू खुसी हुने वातावरण हामीले बनाउनुपर्छ । शिक्षा, स्वास्थ्य, मानव संशाधनदेखि लिएर हामीलाई चाहिने सबै जति पनि विकास र अरू पूर्वाधारका कुरासँगसँगै पाउने सेवाहरू त्यसलाई हामीले सँगै लैजान सक्दा समुन्नत बाटोमा जान्छ ।

पोखरा महानगर आइसकेपछि तपाईंले पहिलो निर्णय नै पर्यटकी राजधानी बनाउने भन्ने निर्णय गर्नुभएको थियो । त्यो प्रक्रिया कहाँसम्म पुग्यो ?

पोखरालाई पर्यटनको राजधानी घोषणा गरियोस् भनेर हामी आइसकेपछिको पहिलो निर्णय थियो । नेपाल सरकारलाई पठाइसकेका छौं । प्रदेश सरकारले पनि निर्णय गरिसकेको छ । यो संघ सरकारको मन्त्रिपरिषद्मा छ ।

यो मुख्य सचिवको टेबलमा छ । यसमा उहाँले केही विषयमा राय परामर्श लिन जरुरी छ, बाँकी छ भनेर भन्नुभएको छ । पोखरालाई पर्यटनको राजधानी नै भन्ने कि केही विशेष क्षेत्र भन्ने विषयमा छलफल भइराखेको छ, हामी टुंग्याउँछौं भनेर भनिसक्नु भएको छ ।

पोखरा विमानस्थलको उद्घाटन गर्न आउँदा पनि प्रधानमन्त्री र मुख्यसचिवसँग यही एजेन्डामा छलफल गरेका हौं । यो चाँडै घोषणा हुनेछ भन्ने हामीलाई विश्वास छ ।

एउटा निश्चित क्षेत्रलाई मात्रै राजधानी घोषणा गर्दा संघलाई समस्या हुन सक्छ । पोखरालाई एउटा भन्ने, अर्कोलाई अर्को भन्ने धेरै ठाउँमा प्रश्न उठ्न पनि सक्छ । यदि त्यस्तो हो भने संघलाई बाधा नपर्ने गरी हामीले हाम्रो स्टाटस के हो भनेर त देखाउन सक्छौं नि ! पोखरा पर्यटनको राजधानी हो, सबै पोखरा आइदिनुस् भनेर हामी भन्न सक्छौं । पोखरालाई ब्रान्डिङ गरेर एउटा विशेष कार्यक्रम १० वर्षभित्र गर्छौं । यसमा हामी माइस टुरिजम् कुरा गर्छौं । मिटिङ गर्न, ठूलाठूला अन्तर्राष्ट्रिय कन्भेन्सन गर्न, एक्जिभिसन गर्न पोखरा आइदिनुस् भन्छौं ।

पोखरालाई पर्यटनको राजधानी भन्नुपर्ने, घोषणा गर्नुपर्ने कारण के हुन् ?

पोखरा नेचर र कल्चर दुवैको संगम ठाउँ हो । पोखराको जुन सुन्दरता छ, संसारमै यो खालको अनुपम परिस्थिति अन्त छैन । हिमालको काखमा छौं । तर, जाडो हुँदैन । न त जाडो न गर्मी ! मौसमका हिसाबले पनि पोखरा अत्यन्तै सुन्दर छ । हरियाली र तालतलैया पनि पोखराको सम्पत्ति नै हो ।

पोखरा तालहरूको सहर पनि हो । रूपाताल, बेगनासताल, फेवातालसहित हामीसँग ८ वटा ताल छन् । नयाँ तालहरू, पुराना पानी सुकेका, गाउँका ठूला पोखरीहरू पनि फेरि पुनर्निर्माण गर्न गइराखेका छौं ।

यो चौरहरूको सहर पनि हो । चौरकै नामबाट पनि पोखरामा धेरै ठाउँ बनेका छन् । बाटुलेचौर, ¥यालेचौर, सीमलचौरलगायत थुप्रै चौरबाटै ठाउँको नाम बनेका छन् । पोखरा पाटनको सहर पनि हो । मालेपाटन, फलेपाटन, बाँझापाटन, मियाँपाटनलगायत २० औं पाटन पनि हामीसँग छन् । एक जमाना यो चौतारीहरूको पनि सहर हो । संस्कृतिका रूपमा पनि हामी धनी नै छौं ।

यी सबै कुराहरूलाई मिलाएर पोखरा साँच्चै सुन्दर प्राकृतिक हिसाबले, सांस्कृतिक हिसाबले मात्रै होइन, सबै कोणबाट पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो । पोखरा पर्यटकहरूले अध्ययन, अनुसन्धान गर्न आउने ठाउँ पनि हो । यहाँ खेलकुद, स्वास्थ्य, शिक्षा, पर्यापर्यटन, साहसिक पर्यटन जुनसुकै कोणबाट हेर्दा पनि पोखरा उत्तम गन्तव्य हो । पोखरा मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार पनि भएकाले यो धार्मिक पर्यटनका हिसाबले पनि उत्तिकै उत्कृष्ट छ ।

झन्डै ५ दशकको पर्खाइपछि पोखरेलीले आँगनमै अन्तर्राष्ट्रियस्तरको विमानस्थल पाएका छन् । यसलाई पोखरेलीले अपनत्व महसुस गर्नेगरी महानगरले केही योजना बनाइरहेको छ कि ?

विमानस्थल महानगरको भन्दा पनि संघीय सरकारको हो । तर, भूगोल हाम्रो हो । यसले दिने सेवा र उपभोग गर्न सक्ने कुरा महानगरकै हो । पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्छ भन्नुको पछाडि यो विमानस्थल हुँदै संसारभरिका व्यक्तिहरू सोझै पोखरा आउन सकून् भन्ने पनि हो । त्यसका लागि वातावरण हामीले बनाउने हो ।

यहाँ आइसकेपछि पोखरामा केही दिन भए पनि बसाइँ लम्बाउन सक्ने गरी पर्यटकीय गन्तव्य थप्नुपर्छ, खोज्नुपर्छ । सँगसँगै यहाँबाट कार्गोमा के लैजाने त ? भन्ने विषयमा यहाँका उद्योगी व्यवसायी र अरू क्षेत्रका साथीहरूसँग पनि छलफल गरिरहेका छौं । उताबाट आउँदा व्यक्तिमात्रै लिएर होइन कि सामानसहित आउनुप¥यो र हामीसँग पनि निर्यात गर्ने चिजहरू हुनुप¥यो भन्ने विषयमा महानगर गम्भीर छ ।

पोखरा विमानस्थललाई व्यापक रूपमा प्रयोग गर्न सक्नुपर्छ । खासगरी हामीसँग ठूला जनसंख्या भएका २ ठूला छिमेकी देश छन् । बोर्डरका २ वटा सहर अथवा मुख्य सहरसँगमात्रै कनेक्टिभिटी ग¥यौं र देशभरिका ७ वटै प्रदेशमा यो सम्पर्कलाई जोड्न सक्यौं भने पोखरा विमानस्थल राम्रोसँग चल्छ । सातै प्रदेशसँग जोडिएपछि यो विमानस्थल व्यस्त हुनुपर्छ, त्यसमा हाम्रो साथ र सहयोग रहन्छ ।

महानगरको नेतृत्व गरिरहँदा संघ सरकारबाट हुने सहयोग र दृष्टिकोण कस्तो पाउनुभएको छ ?

संविधानले नै व्यवस्था गरेको हुनाले दृष्टिकोण फरक छ भन्न मिलेन । ३ तहको सरकार छ । यसमा एकल, साझा अधिकारको व्यवस्था गरेको छ । केही संघ र प्रदेश, केही प्रदेश र स्थानीय तहको पनि अधिकार छ ।

एकल अधिकारको विषयमा हामीसँग नागरिकलाई प्रत्यक्ष रूपमा चाहिने र जोडिने सबै अधिकार दिएको छ । उदाहरणका लागि स्कुल लेबलसम्मको शिक्षा दिएको छ । आधारभूत स्वास्थ्य दिएको छ । कानुन आफैं बनाउन सक्ने लागू गर्न सक्ने अधिकार दिएको छ । ३ तह निकाय होइनन्, सरकार हुन् ।

पोखरा महानगरमात्रै नभएर प्रदेशको राजधानी पनि हो । प्रदेशसँगको सम्बन्ध, समन्वयचाहिँ कस्तो छ ?

प्रदेश सरकारसँगको समन्वय अघिल्लो ५ वर्षमा राम्रो नभएको पाइयो । प्रदेश सरकारको राजधानी पोखरामै छ । तर, पोखराभित्र कुनै पनि योजना प्रदेशबाट लागू भएनन् । त्यो दुर्भाग्य रह्यो ।

अब प्रदेश सरकारमा व्यक्ति जो सुकै भए पनि ३ तहको सरकार हो, प्रदेश सरकार पनि पोखरामै भएकाले हिसाबले समन्वय एकदमै भएर जानुपर्छ भन्ने पक्षमा छौं । कतिपय योजनामा केन्द्र, प्रदेश र स्थानीय तह सबैको बजेट परेर डुब्लिकेसन भएको पनि देखिन्छ । यो नहुने गरी प्रोजेक्ट बैंक बनाउने, ठूला योजना संघसँग आग्रह गर्ने, मझौला प्रदेशसँग गर्ने र साना दैनन्दिनका काम यताबाट गर्ने गरी काम गरिरहेका छौं । हामीले सबै वडाका योजना लिएर राष्ट्रिय योजना आयोग, प्रदेश सरकार, संघ सरकार सबैसँग मिलेर जानुप¥यो भनेका छौँ । विगतमा समन्वय कम भएको होला, तर अब घनिभूत रूपमा समन्वय गरेर अघि बढ्छौं ।

जनताको अपेक्षा ठ्याक्कै पूरा गर्न बाधाअड्चन चाहिँ के हुने रहेछ ?

एउटा त साधन र स्रोतकै अभाव हो । ठूलो परियोजना चलाउन हामीसँग बजेटको अभावै छ । यो वर्ष राजस्व कम उठेको छ । निर्वाचन, घरजग्गा कारोबार हुन सकेन त्यसले पनि राजस्वमा प्रभाव पा¥यो । राजस्व संकलन नै कम भएपछि विकास निर्माणका कामलाई असर गर्ने नै भयो ।

अर्को भनेको सरकारी प्रोसेज अलि लामो र झन्झटिलो हुने रहेछ । खरिद प्रक्रिया, ३५ दिनको समय दिएर टेन्डर गर्नुपर्ने, त्यसमा कोही आएनन् भने अर्को सूचना निकाल्नुपर्ने, अर्को सम्झौता गर्न अर्को समय लाग्ने गर्दागर्दै बर्खा लागिहाल्ने ! बर्खामा काम हुन सक्ने कुरै भएन । यसलाई अलिकति नेपाल सरकारले नै परिवर्तन गर्नुपर्छजस्तो लाग्छ ।

समय छोटो बनाएर द्रूत गतिमा काम गर्न नमिल्दो रहेछ, कानुनी झन्झट अलि धेरै पाएँ । तर, त्यति हुँदाहुँदै पनि हामीले छिटोभन्दा छिटो काम कसरी गर्न सक्छौं भन्ने ढंगले काम गरिरहेका छौं ।

आफूले गरेको मुख्य कामहरूलाई कसरी बुँदागत रूपमा दिन सक्नुहुन्छ ?

यो वर्ष त हाम्रो आधार वर्ष नै हो । यसमा विदेशी दातृ निकायहरूसँग ठूलाठूला परियोजना शुरू गर्र्दैछौं । विश्व बैंकसँग ३ अर्बको योजना अघि बढाएका छौं । एडिबीसँग सस्टेनेभल टुरिजममा सर्पोट गर्नका लागि अर्बौंको काम अगाडि बढाउँदैछ । जाइकाको पोखराभित्रको खानेपानी, ढल निकास, फोहोर पानी प्रशोधन केन्द्र स्थापनाका लागि ११ अर्बभन्दा बढीको काम हुँदैछ । एउटा पुरानो शुद्ध पानी पिउने योजना पनि चलिरहेको छ ।

कोइकासँग पोखराको यातायात, ग्रिन ट्रान्सपोर्टका सन्दर्भमा पनि सम्झौता गरिसकेका छौं । अर्को कोरियन सरकारसँग झन्डै २ अर्बभन्दा ठूलो परियोजना अगाडि बढ्दैछ । फालिएका चिजहरू हजारौंको संख्यामा रोजगार सिर्जना गर्ने गरी हस्ताक्षर गरिसकेका छौं । पछिल्लो समयमा हामीले दातृ निकायसँग निकै ठूला बजेटका काम अगाडि बढाइसकेका छौं । यो ठूलो उपलब्धि हो ।

हाम्रै कुरा गर्ने हो भने पनि हामीसँग ९ अर्बको बजेट छ । वडास्तरमा ठूलाठूला योजना अगाडि बढाएका छौं । हाम्रा सबै वडाका वडा कार्यालय बनाउन लागिपरेका छौं । यहीबीचमा ५ वटा वडा कार्यालयको शिलान्यास गरिसक्यौं । सबै वडामा सुविधासम्पन्न आधुनिक शौचालय बनाउँदैछौं ।

महानगरको आफ्नै सुविधासम्पन्न कार्यालय बनाउन पनि योजना अगाडि बढिसक्यो । सबै महाशाखा एकै ठाउँमा हुने गरी बिल्डिङको डीपीआर बन्ने क्रममा छ । पर्यटन बसपार्कको अगाडि पुरानो गल्फकोर्समा महानगरको भवन बनाउने गरी जग्गा प्राप्ति प्रक्रिया शुरू भइसकेको छ । अबको २ वर्षभित्र आफ्नै कार्यालयबाट काम गर्न सक्ने, सेवाग्राहीले सबै काम एकै ठाउँबाट पाउने अवस्था हुनेछ ।

पृथ्वीचोकमा पोखरा भवन बनाउँदैछौं । पृथ्वीचोकमा बन्ने पोखरा भवन टेन्डरमा जाने क्रममा छ । जसको भूइँतलामा सूचना केन्द्र, बीचमा पुस्तकालय, माथि आर्ट ग्यालरी र माथिल्लो तलामा घन्टाघर हुने गरी नक्सा पास भइसकेको छ ।

उज्यालो पोखराका लागि सबै चोकमा हाइमास्ट लाइटहरू राखिसकेका छौं । १५०४ वटा पोलको लाइट र २३ वटा ठूला हाइमास्ट लाइट राखेर पोखरालाई उज्यालो र सुन्दर बनाइएको छ । न्युरोडको काम अन्तिम चरणमा पुगेको छ । अब यो काम एक साताभित्र सकिन्छ भन्ने विश्वास छ ।

हामी आइसकेपछि गरेको सबैभन्दा मुख्य काम फोहोरमैला व्यवस्थापन नै हो । हामी दीर्घकालीन हिसाबले फोहोरलाई मोहोर उन सकिन्छ भन्ने हिसाबले वेस्टबाट इनर्जी निकाल्न वडा नं. ३३ मा प्रारम्भिक काम सकेका छौं । त्यसका लागि प्रश्ताव आह्वान भइसकेको छ ।

पोखरा ३२ मा अहिले अल्पकालीन व्यवस्थापन नगरेको भए विमानस्थल चल्ने नै थिएन । हाम्रो आधाभन्दा बढी समय ल्यान्डफिल साइटकै व्यवस्थापनमा गयो । अरू काम गर्नुभन्दा पनि प्राथमिकतामा त्यही थियो । सँगसँगै अब कस्तो बनाउने भन्ने विषयमा पनि रिसर्च ग¥यौं, अनुभव आदानप्रदान ग¥यौैं ।

हामीले पोखराका राम्रा विज्ञ राखेर सल्लाहकार समिति पनि बनाएका छौं । उहाँहरूले पनि हामीलाई सल्लाहसुझाव दिनुहुन्छ । समग्रमा भन्नुपर्दा अब हामी गियरअप गर्ने अवस्थामा छौं ।

५ वर्षमा जाँदाजाँदै अर्को नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै गर्दा कस्तो महानगर सुम्पिने योजनामा हुनुहुन्छ ?

यसमा ४, ५ वटा कुरा भन्न सकिन्छ । एउटा पोखरा देशभरिका मान्छेहरूले फोहोर मैलाको व्यवस्थापन कसरी हुँदो रहेछ अध्ययन गर्न आउने थलो बन्नेछ । फोहोरमा खर्च होइन, राजस्व संकलन भएको, रोजगारी सिर्जना भएको देखाउनेछौं ।

अर्को, वातावरणीय हिसाबले सुन्दर सफा र हरियालीमैत्री हुनेछ । पहिलो वर्ष मै मेघा ट्री प्लान्टेसनको काम शुरू गरेका छौं । हाम्रो कार्यकाल भरि हामीले १ लाख वृक्षरोपण गर्छौं, त्यो पनि हामीलाई काम लाग्ने विरुवा हुनेछन् । यसमा वनविज्ञान अध्ययन संस्थानसँग सहकार्य गरिरहेका छौं ।

अर्को ब्युटिफिकेसनमा पोखरालाई के खालको सुन्दरता दिनुपर्ने हो ? अर्थात दिनमा मात्रै होइन, रातको पोखरा कस्तो हुन्छ भनेर बनाइसकेका हुनेछौं । पूर्वाधारका हिसाबले पनि ६०९ किमी बाटो धुले बाटो छ । ५ वर्षमा कालोपत्रे भइसक्नेछ । जाँदाजाँदै कुनै पनि बाटो बन्न बाँकी रहेको भन्ने हुनेछैन ।

हामीसँग ३ थरी भूवनोट छ । पुरानो पोखरा, लेखनाथसहित गाविस थपिएको पोखरा गरी सबै भूवनोटका बासिन्दालाई हामी महानगरबासी हौं भनेर अनुभूति गर्न सक्ने खालको बनाउँछौं । कुन ठाउँलाई कस्तो विकासको आवश्यकता छ, सोहीअनुसार नै विकास भइसकेको हुनेछ ।

सुखी, खुुसी र सम्पन्न पोखरेलीहरू भएको पोखरा हामी बनाउँछौं । हुन त आवश्यकता एकपछि अर्को थपिँदै जान्छन् । तर, प्रारम्भिक रूपमा, एउटा महानगरमा हुनुपर्ने न्यूनतम कुरा हामीले बनाइसकेका हुनेछौं ।

प्रतिक्रिया दिनुहोस्