एक वर्षमा बाजुराका पालिकालाई फर्केर हेर्दा- सडक सञ्जाल र विद्यालय भवन निर्माण पहिलो प्राथमिकता



संघीय संरचनाअनुसार राज्यका तीनवटा संरचना छन् । तीनवटै संरचना कानुनतः आफैमा स्वायत्त छन् । स्थानीय तहका जनप्रतिनिधिको पहिलो कार्यकाल सम्पन्न भई दोस्रो कार्यकालको पनि एक वर्ष पुुगेकोे छ । बाजुरामा चारवटा नगरपालिका र पाँचवटा गाउँपालिका गरी नौवटा पालिका छन्। आठवटा पालिकाको निर्वाचन पहिलो चरण अर्थात २०७९ वैैशाख ३१ गते सम्पन्न भएको थियो । जेठ तीन गते पदभार ग्रहण गरेका थिए । विडम्बना बूढीगंगा नगरपालिकाका केही मतदान केन्द्रमा गोली चलेको थियो कयौं मतदाता हताहतभएका थिए । निर्वाचनमा धाँधली भयो भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । तत्पश्चात असार २३ गत पुनः निर्वाचन भएको थियो । असार २६ गते देखि नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका थिए ।

नागरिकको नजिकको सरकार भनेर चिनिने स्थानीय सरकारले सडक, शिक्षा कृषी स्वास्थ्य र सञ्चारका क्षेत्रमा काम गरेका छन् । बाजुराका अधिकांश गाउँमा सडक सञ्जालमा जोडिएका छन् । बाजुराका नौ वटै पालिकालाई विगत एक वर्ष फर्केर हेर्दा कतै सन्तुलित विकास छ भने कतै एकात्मक निरंकुश शैलीमा कामहरू अघि बढिरहेको पाइएको छन् । गत २०७९ चुनावी वर्षका कारण विकासले ठोस गति लिन नसकेको स्वयं जनप्रतिनिधिको बुुझाइ छ ।

बूढीगंगा नगरपालिका

गत साउन देखि बूढीगंगा नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी समालेका नगरप्रमुख रामबहादुर बानियाँ युवापनको जोस जाँगरका साथ लागि परेको बताउनुहुन्छ । बहुवर्षीय ठेक्का पिचका लागि बाम्का नगरपालिका, ताँप्रिसेरा साबिक गाविस ब्रहमतोला, बेतालमाण्डौं त्रिशक्ती बाह्रबिसलाई पहिलो प्राथमिकतामा राखेको छ । १० लाखभन्दा बढिका योजना सबै ठेक्का गरेका छन् । कानुन निर्माणतर्फ ४० बढी कार्यविधि निर्माण, नगर प्रोफाइल, नगरआवधिक योजना, मध्यकालीन खर्च संरचना, कृषि रणनीतिक योजना, शिक्षा, स्वास्थ्य रणनीतिक योजना, सडक गुरुयोजना, बार्जुकोट दरबार र सम्भाव्यता पहिचानको डीपीआर, बूढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्रको स्थापाना, बूढीगंगा मिनि औद्योगिक ग्रामका लागि पहल, बूढीगंगाको शिक्षाको सिकाई उपलब्धि मापन, ५ देखि ७ प्रतिशत मात्र रहेकाले कम्ती आगामी वर्षसम्म ३० प्रतिशत पु¥याउने योजनाअघि सारिएको छ ।

वार्षिक परीक्षामा ६ वटा स्कुल निल भएकाले सबै विद्यालयका प्रधानाध्यापकसँग करारनामा तीन–तीन महिने, प्रअले शिक्षकसँग गर्ने नीति अघि सारिएको छ । तीन– तीन महिना सीपलाई उपलब्धि जाँच गर्ने थिति बसालेको नगरप्रमुख बानियाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पतालको काम सुरु भएको छ । ४ नयाँ ठाउँबाट स्वास्थ्य सेवा सुचारु , भएकोमा थप मजबुत बनाउँदै, विशेषज्ञ स्वास्थ्य शिविर, आँखा अप्रेसन शिविर सम्पन्न भएको पनि उहाँले जानकारी दिनुभएको छ ।

त्यसैगरी, सामाजिक सुरक्षा भत्ता घर घर गएर वितरण गर्ने, सबै वडामा बीएलबी सेवा सुरु गरिएको, घरघरमा इन्टरनेट सेवा सुरु एन्टी फाईवर नेट कृषिमा आधुनिकता एक वडामा दुई व्यवसायिक फार्म सुरु गरेको नगरपालिकाले जनाएको छ । पढेलेखेका ५ देखि १० जनाको समूहबाट उत्पादन भएका सामग्री बिक्रीको पालिकाले ग्यारेन्टी लिएको छ । वर्षमा ५० परिवार व्यवसायिक बनाउने नीति नगरपालिकाले लिएको छ ।

विभिन्न ठाउँमा लिफ्ट खानेपानी र सिचाइँका योजनाहरू निर्माण भएका छन भने एक घर एक धाराको अवधारणा अनुसार खानेपानी निर्माणको काम भएको छ । विद्यालयमा स्वास्थ्य संस्थामा ई हाजिरिको व्यबस्था ,मासिक रूपमा शिक्षकलाई तलब, जेष्ठ नागरिक स्वास्थ्य शिक्षा घरघरमा कार्यक्रम शुुरु गरेर बूढीगंगा नगरपालिकाले आफ्नो गतिविधिलाई तीव्र बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका

हिमाली गाउँपालिका बजुराको सर्वाधिक विकट गाउँपालिका हो । विकास प्रेमी जनप्रतिनिधिका रूपमा चिनिने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल विकासलाई दीगो विकासमा रूपान्तरण गर्न लागि पर्नुभएको छ । दोस्रो कार्यकाल पनि अध्यक्षमा निर्वाचित हुनुभएका मल्ल भन्नुहुन्छ –‘हिमालीमा जल, जंगल, जडीबुटी र बाजुराको करिब २८ प्रतिशत भूभाग ओगटेको हिमाली गाउँपािलकामा प्रचुर सम्भावना छन् ।’

हिमाली सर्वाधिक विकटताको पहिचान हैन सुन्दर अनि विकसित हिमालीको पहिचान बनाउन जुटिरहेको र विकास निर्माणमा सबैको साथ र सर्मथन आबश्यक रहेको उहांको भनाइ छ । युवा जोश–जाँगर असल योजनाकार कुशल व्यवस्थापकका रूपमा चिनिने हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी पनि स्थानीय वासिन्दा भएकोले विकासको गति अघिबढेको स्थानीय सेवाग्राहीको बुझाइ छ ।

हिमालीका पाँच वडामा मोटरबाटो पुुगेको छ भने हिमाली गाउँपालिकाले नागरिकको दिगो खाद्य सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको छ । विद्यालय सुधार कार्यक्रम, गुणस्तरीय शिक्षा पाठ्यपस्तक तथा स्वंसेवक शिक्षक व्यवस्थापन, पालिकाले असहाय अपाङ्ग भत्ता वितरण गरेर नागरिकलाई सामाजिक सुरक्षा प्रत्याभुति गराएको छ । प्राकृतिक विपतमा परेका २४७ घर पुर्ननिर्माण गरिएका छन् । कृषीमा आलु पकेट क्षेत्र घोषणा गरिएको छ । पर्यटन प्रवद्र्धन अन्तरगत माथिल्लो कर्णाली जलपर्यटक महोत्सव हालै सम्पन्न भएको छ। तीनवटा स्वास्थ्य सेवा केन्द्र स्थापना भएका छन् । धुलाचौर औद्योगिक ग्राम सञ्चालन, हालै पूर्ण खोपयुक्त पालिका घोषणासमेत गरिएको छ ।

पालिकाले आफ्नै एम्बुलेन्सबाट सुत्केरीको निःशुल्क एम्बुलेस सेवा सञ्चालन गरेको । २०० किलोवाटको कवाडी लघुजलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको केही महिनाभित्र बाढीले बगाएपछि पुनःनिर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । साविकको १,२ र ३ नं वडा र कवाडी, सैन मानोसरबर सम्म सडक सञ्जालमा जोड्न डीपीआर तयारी लगायतका काम गरेको छ । युवा स्वरोजगार बनाउन विभिन्न दातृ निकायसँग सांझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभएको छ ।

खापर स्वामीकार्तिक गाउँपालिका

खापर स्वामीकार्तिक गाउँपालिका कर्णाली पारिका गाउँपालिका भनेर चिनिन्छ । स्याउ र भिर माहुरीका लागि प्रख्यात मानिन्छ । कुपोषणले ग्रस्त स्वामीकार्तिक गाउँपालिकाको स्वास्थ्य अवस्था सुधार गर्न विभिन्न परियोजना सञ्चालन गर्दै आएको स्वामीकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको भनाइ छ ।

गाउँपालिकालाई सडक सञ्जालमा जोडन कर्णालीमा फेरीको माध्यमबाट प्रत्येक वडामा कच्ची मोटरबाटोको पहुँच पुु¥याएको छ । नुन खाद्य बिक्री केन्द्र स्थापना गरी खाद्यान्नमा सहजता ल्याएको छ । १२ कक्षासम्म निःशुल्क शिक्षा घोषणा गरिएको छ । स्थानीय उत्पादन संकलन तथा बिक्री केन्द्र स्थापना, पोषण कार्यक्रम सञ्चालनका लागि ६७ लाख रुपैयाँ अनुदान सहयोगमा निर्माण गरेको छ । योगदानमा आधारित कृषि कार्यक्रम ¥याप्टिङ्ग र फेरीबोर्ड व्यवस्थापन गरेको छ । गाउँपालिकाले कृषकलाई आकर्षित गर्न भेडापालनसमेत सञ्चालनमा ल्याएको स्वामीकार्तिक गाउँपालिकाका सूचना अधिकारी कुबेर शाहीले जानकारी दिनुुभयो ।

बूढीनन्दा नगरपालिका

“नगर सरकार शासक हैन जनताको सेवक हो । ” “भ्रष्टाचारमा शून्य सहनशीलता” भन्ने नारा लिएर काम गर्न थालेको एक वर्ष पुुग्यो । फर्केर हेर्दा जति गर्नुपर्ने हो, विविध कारणले त्यति गर्न नसके पनि बूढीनन्दा नगरपालिकामा शुसासन र विकास निर्माणका उल्लेखनीय काम भएको बूढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहोराले दाबी गर्नुभएको छ ।

गत वर्षदेखि सञ्चालनमा ल्याएको हेलो मेयर कार्यक्रम प्रभावकारी भएको छ । जनप्रतिनिधि स्वउत्तरदायी र नागरिक सुसूचित हुने अवसर प्राप्त भएको उहाँको बुझाइ छ । भ्रष्टाचारमा शून्य सहनशीलता हाम्रो प्रतिबद्धताअनुसार विगतको बिल मिलाएर खाने परम्परा तोडेका छौं । आफ्नो पहिलो काम भनेको भ्रष्टाचार रोक्नुभएको उहाँले बताए ।

पानीको हाहाकारमा काकाकुल बस्तीको रूपमा चिनिएको कोल्टी बजारको खानेपानी नियमित २४ घण्टा आउने बनाइएको पनि छ । वडा नम्बर ३ चुकीमा ६० किलोवाट विद्युत उत्पादन गरी कोल्टीमा जडान गर्ने कार्य अन्तिमचरणमा पुुगेको छ ।

घरघरमा पुुगेर वृद्धभत्ता वितरण, १८÷४० वर्षका चार सय बढी युवालार्ई स्वरोजगार दिएको नगरप्रमुख बोहोराले बताए । त्यस्तै, शिक्षातर्फ कक्षा सुधार कार्यक्रम, १२ कक्षासम्म नगरपालिकाले शुल्क व्यहोरेर ट्युसन कक्षाको व्यवस्था गरेको छ । भौतिक संरचना निर्माणमा नगरपालिकाका १० वटै वडा कार्यालयमा कच्ची मोटरबाटो जोडिएको छ नगरप्रमुख बोहोराले भन्नुुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुंदा केही महिना काममा बाधा भए पनि नीतिगत र केही उल्लेखनीय काम सुचार गर्न सफल भएका छौं ,मेयर बोहोराको भनाइ छ ।

खप्तड छेडेदह गाउँपालिका

खप्तड राष्ट्रि«य निकुञ्ज र छेडेदह ताल खप्तड क्षेडेदह गाउँ पालिकाका पहिचान हुन् । मनोरम क्षेत्रमा पर्ने खप्तड छेडेदह गाउँपालिका पर्यटकीय हिसाबले अत्यन्त रमाइलो ठाउँका रूपमा परिचत छ । छेडेदह ताल गाउँपालिकाको नाममा पर्यटन प्रवद्र्धनका आधारभूत संरचनाहरू तयार गरेको छ । उक्त गाउँपालिकाले शिक्षामा गुणस्तरीय सुधार नभएसम्म दीगो विकास नहुने भन्दै सामुदायिक विद्यालय सुधार कार्यक्रमलार्ई जोड दिएको गाउँपालिकाका उपाध्यक्ष विसुदेवी नाथले बताउनुभयो । विद्यालय संरचना भौतिक सामग्री र नगर शिक्षकको व्यवस्थापन गरेका छौं उहाँले भन्नुुभयो । त्यसैगरी, गाउँपालिकाका ६ वटा वडामा वाटो पुुगेको छ ।

त्रिवेणी नगरपालिका

बडिमालिका र नाट्येश्वरीले प्रख्यात त्रिवेणी नगरपालिका जिल्लाको सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका हो । उर्वर कृषि भुमि सिरानमा जंगल र फेदीमा बूढीगंगा नदीले घेरिएको छ । यो नगरपालिकाको समृद्धिको आधार बडिमालिका र नाट्येश्वरी क्षेत्र हो । पर्यटन मन्त्रालय र त्रिवेणी नगरपालिको साझेदारीमा ६ करोड पचास लाख रुपैंयाको लगानीमा बडिमालिका नाटेश्वरी बृहत् आयोजना सञ्चालन गरिएको छ । वडा नं ५ किम्नीबाहेक सबै वडामा सडक सञ्जालमा जोडिएका छन् ।

नगरपालिकाले भवन निर्माण गरी गत वर्षदेखि आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको नगर उपप्रमुख कमला न्यौपानेले बताउनुभयो । त्यसैगरी, पाँचवटा वडाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । त्रिवेणीका सबै वडा एक घर एक धाराको अवधारणा अनुसार खानेपानी निर्माण भइरहेका छन् । पालिका भित्रका ९५ प्रतिशत भवनहरू पक्की बनेका छन् ।

त्यसैगरी, स्वास्थ्य सेवातर्फ पालिकाका नौ वडामा १२ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १५ सय कामदारले १ सय दिनको रोजगारी दिएर मर्मतका आयोजना सम्पन्न भएको त्रिवेणी नगरपालिकाका इन्जिनियर देवीराम न्यौपानेले जानकारी दिनुुभयो ।

गौमूल गाउँपालिका

गौमूल गाउँपालिका जडिबुटीको पर्याप्त सम्भावना भएको पालिका हो । भौगोलिक विकटता भए पनि जडीबुटी तथा वनपैदवारको खानीका रूपमा चिनिन्छ । मदिरालाई व्यवस्थापन गर्न मदिरा कार्डसहित १८० एमएलसम्म मदिरा पिउन पाउने पालिकाले कानुनी व्यवस्था गरेको छ । वडा नम्वर १ र २ वाहेक पालिकाका सबै वडामा बाटो पुगेको छ ।

आगामी वर्षभित्र सबै वडामा सडक सञ्जाल जोडिसक्ने योजना अनुसार काम रफ्तारमा भइरहेको गौमुल गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदिश भट्टले जानकारी दिनुुभयो । त्यसैगरी, अन्तर जिल्ला सडक मार्ग पातेसम्म पुु¥याइसकेकोले आगामी वर्षभित्र बझाङ्गको सिमाना घडीलेखसम्म सडक सञ्जाल जोडिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले जानकारी दिनुभयो ।

अधिकांश विद्यालय भवन नयाँ निमार्ण गरिएका छन् पालिकाले स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ । पालिकाले घटमुनामा अपांग मैत्री आधुनिक भवन निर्माण गरी गत वर्ष देखि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । १० शैयाको अस्पताल भवन निर्माण गरी भिडियो एक्सेर सहितका उपकरण र दक्ष जनशक्ति डाक्टरको व्यवस्थापन गरी स्वास्थ्य सेवा दिइरहेको उहाँले बताउनुभयो ।

बडीमालिका नगरपालिका

बडीमालिका नगरपालिका सदरमुकामको नगरपालिका एवं जिल्लाको पहिलो नगरपालिका हो । नौवटा वडा रहेको यो नगरपालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् । विगतको प्रविधीमैत्री ई.बडीमालिका, उज्यालो बडीमालिका बनाउने नीतिगत व्यबस्था गरेको थियो । पछिल्लोपटक निर्वाचित जनप्रतिनिधिले विकासमा काममा ठोस गति ल्याउन सकेको छैनन् । विगतकै दायित्व रकम तिर्नुपर्ने भन्दै प्राय यो वर्ष खासै नयाँ कामको योजना केही छैनन् ।

पुरानो ऋण तिरेपछि आगामी वर्षबाट नयाँ योजना सुचारु गर्ने गर्ने नगरप्रमुख अम्मरवहादुर खड्काको भनाइ छ । नगरपलिकाले विगतदेखि काम गर्दै आएका ५२ जना कर्मचारी हटाएर नयाँ कर्मचारी राखेको छ । विगत एक वर्षमा विकासका गतिविधि के–कसो भइरहेका छन् भन्ने सन्दर्भमा बडीमालिका नगरपालिकाले कुनै पनि विवरण उपलब्ध गराउन सकेको छैन ।
उता जगन्नाथ गाउँपालिकामा सडक निर्माण तीव्ररूपमा भइरहेको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो । पालिकाको थप प्रगतिबारे उहाँले कुनै जानकारी दिनुभएन ।

प्रतिक्रिया दिनुहोस्