विराटनगर महानगरमा कोइरालाको एक वर्ष : शुरु भयो तर पूरा भएन



विराटनगर । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएको लगभग एक वर्षको समय भएको छ । निर्वाचन पछि देशका ६ महानगरमध्ये कोशी प्रदेशकै एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको नेतृत्व नेपाली कांग्रेसका युवा नेता नागेश कोइरालाले सम्हालिरहेका छन् ।

एक वर्ष पुग्दै गर्दा नगरवासीले महानगरमाथिको अपेक्षा अपेक्षामै सीमित हुने हो कि भन्ने अनुमान गर्न थालेका छन् । महानगरबाट हुने नियमित कामबाहेक महानगरको नयाँ नेतृत्वसँगको असन्तुष्टि र आक्रोश अझै उस्तै उस्तै नै छ । बजेट र योजना आए पनि कोइरालाले नेतृत्व सम्हालेको एक वर्षसम्म गर्व गर्नुपर्ने दीर्घकालीन महत्वका परिणाममुखी काम नदेखिएको नगरवासीको मत रहेको छ ।

यद्यपि, एक वर्षमा केही प्रचारमुखी पपुलिस्ट काम भने भएका छन् । स्थानीय तहको निर्वाचनमा नागेश कोइरालाका प्रतिस्पर्धी रहेका एमाले नेता सागर थापा लगायतले सुशासन कायम गर्ने विषयमा नेतृत्व चुकेको आरोप लगाएजस्तै महानगरवासीहरू पनि यसमा ऐक्बद्धता जनाउँछन् । महानगर नेतृत्व प्रचारमुखी र अल्पकालीन काममा केन्द्रित भएको, दीर्घकालीन महत्वका योजना नल्याई टालटुले काममा जनप्रतिनिधि अल्झिएको तथा संघ र प्रदेशसँग योजना मागेर नयाँ काम गर्न महानगर चुकेको आक्षेप लाग्ने गरेको छ ।

तर, मेयर नागेश कोइराला भने एक वर्षमा गुणात्मक तबरले काम गरेको दाबी गर्नुहुन्छ । सडकको पार्किङ व्यवस्थापन, बजारको सरसफाइ, सुशासन लगायत धेरै क्षेत्रमा काम गरेको उहाँले बताउनुभएको छ । कतिपय काम विराटनगरबाट अरू पालिकाले सिकेर गरेको उहाँको दाबी छ ।

खैनी–सूर्ती निषेधित अभियान, आन्तरिक आयलाई वृद्धि गर्न करको दर घटाएर दायरा बढाएपछि कर संकलन अभियान, फुटपाथ खाली गराउने अभियान, बिजुलीका तार व्यवस्थानलगायत काम गरेको बताउँदै उहाँले दीर्घकालीन महत्वका योजना प्रक्रियामा रहेको दाबी गर्नुभएको छ ।

नगर बस सञ्चालन, नगरवासीलाई खानेपानी वितरण, महानगरको प्रशासनिक भवन, पाँच स्थानमा पार्क निर्माण, सडक पूर्वाधार र महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम दीर्घकालीन महत्वको भएको उहाँले बताउनुभएको छ ।

पार्किङमा सुधार गर्दै व्यवस्थित बनाएको बताउँदै मेयर कोइरालाले भन्नुभयो– दमकल, एम्बुलेन्स छिर्नुपर्छ । जनताले तिरेको करोडौं करले निर्माण गरेको सडक पार्किङका लागि होइन सहजरूपमा आवतजावगत गर्नका लागि हो । हामीले वैकल्पिक पार्किङको व्यवस्था गरेका छौं । पार्किङलाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउने कार्यमा महानगर लागिपरेको छ । उहाँले विराटनगरको व्यापार प्रवद्र्धनका लागि विराटनगरमै सामान खरिद गर्नका लागि ग्राहकलाई आग्रह गर्दै दशैं–तिहारमा एक महिना माइकिङ, स्थानीय सञ्चारमाध्यममा सचेतनामूलक सूचना प्रकाशित तथा प्रसारित गरेको बताउनुभयो ।

ठाउँ–ठाउँमा स्थानीय व्यापारको प्रवद्र्धनका लागि सचेतनामूलक होर्डिङ बोर्ड राख्ने योजनामा रहेको पनि उहाँले बताउनुभयो । महानगरवासीको ठूलो समस्या बन्दै आएको डुबानको समस्या पनि यो एक वर्षमा समाधान हुने गरी काम गरेको कोइराला बताउनुहुन्छ । डुबान नहोस् भनेर अहिले नै (विगत ३ महिनादेखि) विराटनगरका नाला र ढल सफा गर्ने कार्य भइरहेको छ । उहाँ भन्नुहुन्छ विगतमा जब डुबान हुन्थ्यो अनि हतारहतार नाला सफा गरिन्थ्यो । यस्तै, विगतमा सडकसम्मै सामान राख्ने गरिन्थ्यो अहिले क्लियर भएको छ ।

यसैगरी, उज्यालो विराटनगर अभियान चलाएको भन्दै अहिले सवारी साधनको बत्ती अफ गरेर हिँड्न सकिने बनाइएको उहाँको भनाइ छ । यस्तै, एकवर्षे उपलब्धिमा कोइरालाले बिजुलीको तारको व्यवस्थापन, फुटपाथबाट हिँड्दा टाउको ठोकिनेगरी बनाइएको सेटब्याक हटाउनेदेखि सुशासन÷आन्तरिक प्रशासनमा सुधार, कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेहिता बनाइएको, १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था गरिएको, आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियान, यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बेचविखनमा रोक लगाइएको, हाटबजारमा हुँदै आएको खु्ल्लारूपमा माछामासुको बिक्रीलाई व्यवस्थित बनाउने अभियान जारी रहेको तथा खानेपानीका लागि जाइकाले काम अगाडि बढाएको विषयलाई उहाँले आफ्ना उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको छ ।

विकास निर्माणका काममा बहुवर्षीय योजनाका रूपमा ठेक्का लागिसकेको समेत उहाँले बताउनुभएको छ । जसमा रानीपोखरीका लागि ५ करोड बढी, मण्ठापोखरीका लागि ६ करोड बढी, विराट राजाको दरबारका लागि १ करोड, प्रधानमन्त्री पार्कका लागि १७ करोडभन्दा बढी, हृदयेन्द्र पार्कका लागि २ करोड ११ लाख, सन्ध्याकालीन आरती स्थल निर्माणका लागि ५ करोडभन्दा बढी, महानगरको प्रशासनिक भवनका लागि १४ करोड ७५ लाख ठेक्का लागेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, ऐतिहासिक वीरेन्द्र सभागृहको केही महिनामै पुनर्निर्माण सकिने पनि उहाँले जानकारी दिनुभयो । मेयर कोइरालाले यस अवधिमा साहित्य महोत्सवदेखि कुकुरको दुईपटक बन्ध्याकरणसम्मलाई आफ्ना उपलब्धि भएको बताउनुभएको छ ।

भारत र नेपालका करिब ४ सय कवि लेखक सहभागी रहेको नेपाल भारत साहित्य महोत्सवको आयोजना तथा विराटनगर प्रज्ञा प्रतिष्ठान गठनका लागि कार्यविधि र नियमावली तयार भइसकेको र परिषद्बाट पारित गरेपछि विराटनगर प्रज्ञा प्रतिष्ठान गठन हुने पनि उहाँले बताउनुभएको छ ।

महानगरले १ देखि ५ सम्मको महानगरको पाठ तयार गरिसकेको र अब ६ देखि ८ सम्मको पनि तयारी गरिरहेको छ । यस्तै, सामुदायिक कुकुरको दुईपटक बन्ध्याकरण गर्दा करिब १६ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको मेयर कोइरालाले बताएका छन् । १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जसमा ४ हजारभन्दा बढीले निःशुल्क रूपमा स्वास्थ्य जाँचसहित निःशुल्क औषधि वितरण गरिएकोदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजनालाई पनि महानगरले उपलब्धिमूलक कामका रूपमा लिएको छ ।

विराटनगर महानगरको अबका योजना

महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरू घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताउनुभयो । उहाँले जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिनुभयो । मेयर कोइरालले अबको तयारीका रूपमा नगर बस सञ्चालन र सिटी मेट्रो अस्पताल रहेको बताउनुभएको छ ।
यस्तै, विराटनगर महानगरको आफ्नै लोगोको तयारी गरिरहेको सुनाउँदै उहाँले लगानी सम्मेलन गर्ने समेत योजना बनाउनुभएको छ । महानगरले ऐतिहासिक राधाकृष्ण रथयात्रामा देशका ६ वटै महानगरका प्रमुख–उपप्रमुख, अमेरिकाको न्युयोर्क महानगरका मेयर र महाभारत सर्किटमा पर्ने भारतका विभिन्न सहरका प्रमुखलाई आमन्त्रण गर्ने योजना बनाएको छ ।
यस्तै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लविङ गर्ने, औद्योगिक तथा कृषि प्रदर्शनीस्थल निर्माण गर्नेदेखि सुनसरीको अमडुवामा रहेको सुगरमिलको साढे ६ सय बिघामा विशेष आर्थिक क्षेत्र (सेज) बनाउन विदेशी दातृ निकायसित सहयोगका लागि वार्ता र छलफल भइरहेको मेयर कोइरालाले बताउनुभएको छ ।

विराटनगरको सम्भावना

कोशी प्रदेशको राजधानी विराटनगरमा पर्यटनको समेत अव बन्न सक्ने सम्भावना छ । तर, १६ लाख जनसंख्या भएको बिहारसित जोडिएको विराटनगरमा उनीहरूलाई विराटनगरसम्म भित्र्याउने गरी पूर्वाधार र पर्यटकीय क्षेत्रहरूको समूचित विकास भइसकेको छैन् । यो स्वास्थ्य र शिक्षाको हब बनेको छ । पछिल्लो समय नेपालमा अध्ययन हुने सबैजसो शिक्षा विराटनगरमा रहेरै अध्ययन गर्न सकिन्छ । चिकित्सा, इन्जिनियरिङदेखि हरेक संकायमा पठनपाठन हुने क्याम्पसहरू यहाँ उपलब्ध रहेका छन् ।

आफैंमा औद्योगिक नगरी विराटनगर तर कोभिडदेखि यहाँका उद्योगधन्दा धरासायी भएका छन् अहिले पनि यस क्षेत्रका उद्योगीहरू बैंकको बढ्दो ब्याजदर र विद्युत्को ट्रिपिङको समस्याका कारण सडक आन्दोलनमा उत्रिन बाध्य छन् ।

यहाँ उत्पादन गर्न सके बजारको अभाव रहने छैन । संखुवासभाको किमांथांका सडक बनेपछि चीन र भारतको व्यापारिक केन्द्रको मुख्य हब विराटनगर बन्न सक्छ । सात–सात जना प्रधानमन्त्री जन्माउने विराटनगर परिवर्तनको प्रतिक्षामा छ । यसैले भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउने हाम्रो दायित्व अहिले नागेश कोइराला नेतृत्वको विराटनगर महानगरपालिकामा आएको छ ।

निर्णय गर्दै पछि हट्दै

२०७९ भदौ ४ गतेबाट विराटनगर महानगरपालिकाले हरेक हप्ताको शुक्रबार नगर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय ग¥यो । निर्णय कार्यान्वयनका लागि मेयर नागेश कोइराला झाडु लिएर सडकमा निस्किए । तर यो अभियान लामो समयसम्म टिक्न सकेन । दुई महिना सञ्चालन भएपछि अभियान नै बन्द भयो । गत फागुन पहिलो साता महानगरले नगरबस सञ्चालन गर्ने निर्णय ग¥यो । निजी क्षेत्रको साझेदारीमा तत्कालै बस सञ्चालन गर्ने प्रचारप्रसार भयो । तर, रुट परीक्षण गरे पनि नगरबस सञ्चालनको योजना निश्चित छैन ।

चुनावी प्रतिबद्धतामा के थिए ? के पूरा भए ?

मेयर कोइरालाले चुनावी अभियानमा नगरवासीमाझ ५९ बुँदे संकल्प पत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले सुविधासम्पन्न मेट्रोसिटी अस्पताल निर्माण गर्ने, सार्वजनिक सुविधाका लागि नगर बस चलाउने, प्रविधिमार्फत जनतालाई घर–घरमा महानगरको सेवा प्रदान गर्ने, विद्युत्, टेलिफोन इन्टरनेट लगायतका तारलाई भूमिगत गर्ने, सामुदायिक विद्यालयहरूमा भेन्डिङ मेसिन सहितको प्याड बैंक स्थापना गर्ने, ६५ वर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने संकल्प गर्नुभएको थियो ।

यस्तै, स्वच्छ खानेपानीको व्यवस्था, केशलिया र सिंघिया खोलाका किनारमा वृक्षारोपण गरी ग्रीन बेल्ट करिडोर निर्माण गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, विराटनगरमा औद्योगिक र राजनीतिक संग्रहालय निर्माणलगायत संकल्प थियो ।

तर, उहाँका यी वचनहरू एक वर्षको अवधिमा पूरा हुन सकेका छैनन् । यद्यपि, मेयर कोइरालाले यो अवधिमा विराटनगरको व्यस्त बजार मेनरोडमा पछिल्लो समय ट्राफिक जामको समस्या न्यून भएको छ । महानगले सडकको पार्किङ हटाएपछि ट्राफिक जाम कम भएको हो । तर, महानगरको यो निर्णबाट बजारका व्यापारी भने सडकमा पार्किङ नहुँदा व्यापार घटेको भन्दै असन्तुष्ट भएका छन् ।

यस्तै, महानगरपालिकाले मुख्य बजारमा फुटपाथ खाली गराएको छ । फुटपाथसँगै नक्सापास नगरी सडकसँग जोडिएका ‘सेटब्याक’ पनि हटाएको छ । मेयर कोइरालाको एकवर्षे उपलब्धि सडक बत्ती पनि हो । मुख्य सडकमा राति यात्रा गर्दा हेडलाइट नबाली हिँड्नसक्ने गरी सडक बत्तीमार्फत उज्यालो बनाइएको उहाँको दाबी छ ।

महानगरपालिकाले पछिल्लो समय सरसफाइमा पनि सुधार गरेको छ । तर, महानगरको फोहोरमैला व्यवस्थापनका लागि केशलिया खोलामा अव्यवस्थित डम्पिङ साइट बनाएको छ । यसको स्थानीयले विरोध जनाउँदै आएका छन् ।

महानगरले करको दर यसको स्थानीयले विरोध जनाउँदै आएका छन् । महानगरले करको दर घटाएर अहिले यसलाई फराकिलो बनाएपछि राजस्व संकलनमा भने वृद्धि भएको छ । महानगरले देशभरका स्थानीय तहमध्ये कर संकलन वृद्धिमा विराटनगर अग्रणी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्