तरकारी खेती गर्ने किसानलाई विषादी छिट्ने स्प्रे ट्याङ्की वितरण



सिन्धुली।

सिन्धुलीको घ्याङलेख गाउँपालिकाका तरकारी खेती गर्दै आएका किसानलाई विषादी छर्ने प्रयोग हुने स्प्रे ट्याङ्की वितरण गरिएको छ । घ्याङलेख गाउँपालिकाका वडा नं. २ र ३ का ४२ जना तरकारी खेती गर्दै आएका किसानहरुलाई स्प्रे ट्याङ्की वितरण गरिएको हो ।

घ्याङलेख गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा जिल्ला लघु उद्यमी संघ (डिगेमा) सिन्धुलीको आयोजनामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई स्प्रे ट्याङ्की वितरण गरिएको हो ।

व्यवसायीक रुपमा तरकारी खेती गर्ने किसान बढाउनका लागि गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र डिगेमा सिन्धुलीसँग साझेदारी गरेर कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम संचालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको अहिले सम्म १ सय २१ जना किसानलाई स्प्रे ट्याङ्की, साना सिँचाईकन लागि १२ सय मिटर पाइप वितरण गरी सकिएको डिगेमा सिन्धुलीका अध्यक्ष रिता बोगटीले जानकारी दिनुभयो । अध्यक्ष बोगटीका अनुसार किसानलाई करेसा बारी तथा तरकारी उत्पादन लगायतका व्यवसायीक तरकारी खेतीका बारेमा तालिम पनि दिइएको छ ।

किसानलाई हाते ट्याक्टर पनि वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष बोगटीको भनाई छ ।

महाभारत क्षेत्रमा पर्ने घ्याङलेख गाउँपालिकामा तरकारी खेतीको लागि चिसो र उपयुक्त हावापानी रहेको छ । परम्परागत खेती प्रणालीमा अल्झी रहेका किसानलाई व्यवसायीक बनाउन कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम संचालन गरिएको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान बताउनुहुन्छ ।

पाँच वडा रहेको गाउँपालिकाको सबै वडामा कृषि प्राविधिकको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्