सार्वजनिक स्थलमा धूम्रपान सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह



काठमाडौँ।

  जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न नगराउन सबैमा आग्रह गरेको छ ।

 प्रशासनले  बुधवार एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान गर्न नहुने कानुनी प्रावधान रहेको स्मरण गराउँदै सोही अनुसार गर्न सबैमा आग्रह गरेको हो ।

 पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन,विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रंगशाला, धार्मिकस्थल,प्रतीक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न नगराउन सम्पूर्णमा आग्रह गरिएको  काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ।

 यसैगरी  प्रशासनले सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरको पसलबाट समेत धूम्रपान र सूतीजन्य पदार्थ विक्री वितरण नगर्न आव्हान गरेको छ । साथै प्रशासनले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ वितरण नगर्न समेत सरोकारवाला निकायलाई सचेत पारेको छ ।

 काठमाडौँ प्रशासन सो नियम विपरीत  काम गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ बमोजिम कडा कारबाही हुने स्पष्ट पारेको छ ।
साथै काठमाडौँ प्रशासनले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने , नगराउने कार्यमा सुरक्षाकर्मी , सामुदायिक संस्था तथा आमनगारिक बाट आवश्यक जागरुकता , सचेतता र सहकार्य गर्न समेत आव्हान गरेको छ ।

सार्वजनिक स्थलहरुमा धु्रमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्न  निषेध गरिएको  भएपनि कानुनलाई चुनौती दिँदै त्यस्ता पदार्थको सेवन गर्ने क्रम बढेपछि काठमाडौँ प्रशासन गम्भीर बनेको हो ।

प्रतिक्रिया दिनुहोस्