एमआईएसमा तीन वर्षपछि खेलकुद



काठमाडौं । चोभारस्थित मोडर्न इन्डियन स्कुल (एमआईएस) ले तीन वर्षपछि खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।

गत तीन वर्ष कोभिड १९ को कारण खेलकुद प्रतियोगिता हुन सकेको थिएन । यस पटक आयोजना भएको एमआईएस कप प्रतियोगितामा आयोजक स्कुलसहित ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एमआईएस, सेन्ट जेभियर्स, ज्ञानोदय, रातो बंगला, त्रियोग, रुपीस, आलोक विद्याश्रम, राई स्कुल, चाँदबाग, केभी स्कुल, टोरेन स्कुल र डीएभीका विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा बास्केटबल, फुटबल, ब्याडमिन्टन, टेबलटेनिस र चेस गरी ५ खेल समावेश गरिएको छ । पहिलो दिन मंगलबारको खेलमा बास्केटबल ब्वाइजतर्फ एमआईएसले रुपीसलाई ४२–२३ अंकले हराएर जित हासिल गरेको थियो । यस्तै अन्य खेलमा आलोकले डीएभीलाई ४०–१२ ले हरायो भने ज्ञानोदयले सेन्ट जेभियर्सलाई १७–१५ ले पराजित गरेको थियो । यस्तै राई स्कूलले केभीलाई २६–२० ले हराएको थियो ।

यसैगरी ब्वाइज फुटबलतर्फ सेन्ट जेभियर्ससँग घरेलु टोली एमआईएस ३–१ गोलअन्तरले स्तब्ध भएको थियो । अर्को खेलमा केभीले आलोकको पोस्टमा ५ गोल प्रहार गरेको थियो । आलोकले एक गोल मात्रै फर्काउन सक्यो ।

ब्याडमिन्टनको जुनियर ब्वाइजतर्फ घरेलु टोली एमआईएसले जित हात पारेको थियो । टोलीले सेन्ट जेभियर्सको चुनौती २–१ सेटमा समाप्त गरेको थियो । यस्तै त्रियोगले आलोकलाई, केभीले डीएभीलाई र रुपिजले टोरनलाई समान २–१ सेटले पन्छाएका थिए ।

वार्षिक प्रतियोगिता पुनः संचालन गर्न पाउँदा खुशी लागेको एमआईएसका प्रधानाध्यापक पिटर राजुले बताउनुभयो । प्रधानाध्यापक राजुले बताउनुभयो—यो हाम्रो वार्षिक प्रतियोगिता हो । यस्तो प्रतियोगिता आयोजना गर्नुको उद्देश्य विद्यालयहरुबीचको अन्तरक्रिया र विद्यार्थीहरुलाई प्रतिस्पर्धा र उत्कृष्टताको लागि धरातल प्रदान गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्