सुशासनका चर्का गफ र भित्री चरित्र



नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भ्रष्टाचारमा संलग्न राजनीतिक र प्रशासनिक जालो कायम गरिरहेका केही पक्षलाई छानबिनको दायरामा ल्याएको छ । यद्यपि प्रहरीबाट भएको अनुसन्धानमा केही राजनीतिक दबाब परेको छनक देखिएको छ । प्रहरीले पैसाको कारोबार भएको अडियो सार्वजनिक हुँदासमेत सो अडियोमा पैसा बुझेका भनिएकाहरुको बारेमा खासै अनुसन्धान गर्न सकेन ।

त्यसैले सरकार र प्रहरी प्रशासनको यो अनुसन्धान पनि शंकाको घेरामा रहन पुग्यो । यद्यपि चौतर्फी भ्रष्टाचार मौलाइरहेको अवस्थामा नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धानलाई सकारात्मकरुपमा नै लिनुपर्छ । यसमा प्रहरीमाथि कुन तहको राजनीतिक नेतृत्वको दबाब कतिसम्म प¥यो भन्ने कुराको पटाक्षेप हुँदै जाला ।

अहिले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलो सफलता हासिल गरेको र सरकार सुशासन कायम गर्न सफल भएको भनेर निकै जश लिने काम भइरहेको छ । ठीक छ, सरकारले यसमा जश लिन पाउँछ तर सरकारले अन्य विषयमा भएका भ्रष्टाचार र अनियमितताका विषयमा भने किन कुनै खोजतलास गर्न चासो देखाइरहेको छैन ? योचाहिँ अचम्मको विषय भएको छ । यसका साथै वर्तमान सरकार र सरकारी संयन्त्रले अहिले गरिरहेका काम–कारबाहीमा उनीहरुले कतिको सुशासन कायम गर्न सकेका छन् त ? भन्ने प्रश्न पनि जबर्जस्ती रुपमा उठिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बारम्बार जश लिन खप्पिस सरकारले अहिले के सिँहदरबारका आलिसान महलमा भइरहेका सबै क्रियाकलापमा सुशासन कायम गर्न सकेको छ त ? अहिले पनि मन्त्रिपरिषद्बाट हुने कैयौं निर्णयहरु अपारदर्शी किसिमले भइरहेका छन् । विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको सेटिङ धन्दामा खासै कमी आएको छैन । सरकारले समग्र भ्रष्टाचारको जालो तोड्ने गरी कुनै प्रभावकारी योजना र कार्यक्रम ल्याउने सोच नै राखेको छैन ।

मिलेर देशको विकास, समृद्धि कायम गर्ने र सुशासन स्थापित गर्नेभन्दा पनि कसरी हुन्छ लुटतन्त्र मच्चाउनकै लागि राजनीतिक दलहरुले निर्वाचनमा गठबन्धन गरेका हुन् । तिनै गठबन्धनधारीहरुले अहिले सरकार चलाइरहेका छन् । सरकार गठन भएको पाँच महिना पुग्नै लाग्दासमेत जनतालाई राहत हुने खालका कुनै प्रभावकारी कार्यक्रम आउन सकेको छैन । सरकार यथास्थितिवादमा रुमल्लिन पुगिरहेको छ ।

अहिले पनि विभिन्न खाले राजनीतिक नियुक्त गरिँदा चलखेलका आधारमा गरिएको छ । मन्त्रीहरुले सुधार गर्नुपर्ने महत्वपूर्ण ठाउँमा आफ्नै पीएलाई कार्यकारी निर्देशक बनाएर लगेका छन् । गठबन्धनका बैठकमा कहाँ कसलाई फिटिङ गर्ने र त्यहाँबाट अत्यधिक लाभ लिने भन्ने विषयमा मात्रै दलका नेताहरुबीच छलफल हुने गर्छ । जनताले के–कस्ता समस्या भोगिरहेका छन् ? उनीहरुलाई कसरी राहत दिन सकिन्छ र आमजनतालाई सरकारी निकायबाट दिनुपर्ने सेवालाई कसरी समयमा नै दिन सकिन्छ भन्ने बारेमा गठबन्धनधारीको बैठकमा कुनै छलफल र निर्णय हुँदैन ।

दिनको संकेत बिहानीले गर्छ भनेझैँ यो सरकारले जनजीविकाको विषयमा र विकास, समृद्धि र सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको देखिँदैन । त्यसैले यो सरकारबाट आशा गर्ने खासै ठाउँ छैन । यदि सरकारले अहिलेसम्म हरेक संयन्त्रलाई सिस्टममा चलाउन सकेको भए, आफ्ना हरेक निर्णयहरु पारदर्शी बनाउन सकेको भए सुधारका संकेतहरु देखा परिसकेका हुन्थे । तर सरकारका कुनै पनि संयन्त्रमा कुनै प्रकारको संकेत देखिएका छैनन् ।

ओहो कस्तो राम्रो कामको शुरुवात भयो भनेर भन्ने अवस्था कुनै पनि मन्त्रालयमा देखिँदैन । अहिले पनि कर्मचारी सरुवा, बढुवामा उस्तै विकृति छ । सरुवा मापदण्ड लागू हुन सकिरहेको छैन । राजस्व छलीको क्रममा कमी आएको छैन । सरकारी, सार्वजनिक तथा निजी क्षेत्रहरु भ्रष्टाचारको दलदलमा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्रालयमा सशक्त अनुगमन गर्दै मन्त्रालयको काम कारबाहीलाई प्रभावकारी र सशक्त बनाउन सकिरहेको छैन । ठेक्कापट्टामा हुने सेटिङ धन्दा रोकिएको छैन ।

अहिले पनि मुलुकमा भ्रष्टाचार र कुशासन यति धेरै मौलाइरहेको छ कि यसले मुलुकको विकास र समृद्धिको ढोका बन्द गराइदिएको छ । अहिलेका प्रधानमन्त्री र शासकलाई मात्रै दोष दिन खोजिएको होइन । यसअघिका शासकहरुले पनि कुशासन मच्चाएकै हुन् । तर अहिले आम नागरिकस्तरमा पनि भ्रष्टाचारविरुद्ध जागरण वृद्धि भएकाले हालका शासकहरुले बारम्बार सुशासन कायम गर्ने विषयलाई उठाइरहेको हुनाले उनीहरुको कथनी र करणीमा फरक नहोस् भन्ने मात्रै हो । बाहिर अब सुशासनको र भ्रष्टाचार अन्तको लागि ठूलो लडाइँ शुरु हुने बताउने तर भित्र–भित्र सबै मिलेर कम्मल ओढी घिउ खान मिल्ला र ? यस्तो प्रवृत्तिले त देश र जनताको घोर अवमूल्यन भइरहेको छ ।

हामीकहाँ बाहिर जे बोलिन्छ भित्र पनि त्यही गर्ने इमानदार शासक–प्रशासक चाहिएको छ । बाहिर सुशासनका चर्का गफको डङ्का पिट्ने तर भित्र–भित्र कम्मल ओढेर घिउ खान माहिर भ्रष्ट शासक–प्रशासकहरु अब हामीलाई चाहिँदैन । त्यस्तालाई जनस्तरबाट बहिष्कार गर्ने गरी नयाँ अभियान थालिनुपर्छ । नत्र हामीकहाँ कहिल्यै पनि सुशासन स्थापना हुन सक्दैन र मुलुकले दुःख पाइरहने निश्चित छ । एउटा अध्ययनका अनुसार भ्रष्टाचार गर्न माहिर शासकहरु बाहिर झन् ठूला–ठूला आदर्शका गफ छाँट्न खप्पिस देखिएका छन् । उनीहरु कुराकानी र गफ गर्न निकै सिपालु हुन्छन् तर सुशासन कायम गर्ने सवालमा पूर्णरुपले असफल हुने गरेका छन् । त्यस्ता खराब व्यक्तिहरुले पाएसम्म बीउ नै खाइदिने गरेका छन् । हामीकहाँ बीउ रोपेर फलाउने र फल खानेतर्फ ध्यान नदिने र बीउ नै खाइदिने भ्रष्टाचारीको बिगबिगी छ ।

हामीकहाँ भ्रष्टाचारीको बिगबिगी देख्दा भ्रष्टाचार रोक्न सानोतिनो अभियानले मात्रै सम्भव देखिँदैन । यसका लागि अब भ्रष्टचारीलाई जन्मकैद गर्ने गरी कठोर कानुन बनाउनुपर्छ । अब भ्रष्टाचार रोक्न महामानवरुपी शासक चाहिएको छ । तर विडम्बना, नेपाल र नेपालीले त्यस्ता असल शासकहरु पाउन सकेका छैनन् । भ्रष्टाचार र कुशासनको खियाबाट समृद्धिको ढोका नराम्ररी मक्किएको छ ।

हाम्रा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व भ्रष्टाचारको आहालमा पौडी खेल्न मस्त छन् । ती दुवै पक्षलाई तेल लगाउने काम निजी तथा व्यापारिक प्रतिष्ठानहरुले गरिरहेका छन् । राजनीतिक दल र तिनका नेताहरुमा विचार, निष्ठा र सिद्धान्त स्खलित भइसकेको छ । देश र जनताको हित हुने कार्यमा उनीहरुको कुनै प्रकारको मिलेमतो हुँदैन । आफ्नै स्वार्थ पूरा हुने र निश्चित फाइदा हुने विषयमा राजनीतिक दलका नेताहरु एकजुट हुने गरेका छन् । पछिल्ला वर्षहरुमा त झन् सत्तामा जानका लागि राजनीतिक दल र तिनका नेताहरुले जस्तोसुकै हर्कत गर्न पनि बाँकी राखेका छैनन् । राजनीति विचार, सिद्धान्त र निष्ठाले चल्न छोडेपछि भ्रष्टाचारका नयाँ–नयाँ रेकर्ड कायम हुने रहेछ । अहिले त्यस्तै भइरहेको छ ।

आज पदमा पुगेकाहरु राम्रा र असल नियत राख्नेहरु अत्यन्तै कम छन् । प्रशासनमा घूस नदिई कुनै पनि काम हुनै छोडेको छ । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न संस्थागत, नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाहरु नभएका होइनन् तर त्यसको कार्यान्वयन हुन नसक्दा भ्रष्टाचार फैलँदो क्रममा पुगेको हो । यहाँ भ्रष्टाचारको जालोले समाजका प्रायः सबै क्षेत्रलाई नराम्ररी गाँजिरहेको छ । भ्रष्टाचार जीवनशैली भएको छ । यसरी भ्रष्टाचार फैलनुका पछाडि धेरै कारणहरु रहेका छन् ।

जसमा राजनीतिक र प्रशासनिक नेतृत्वमा राष्ट्रप्रति प्रेमभाव र समर्पण देखिन नसक्नु, भ्रष्टाचारीहरुलाई राजनीतिक नेतृत्वबाटै संरक्षण हुनु, अधिकांश राजनीतिक नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुब्नु, भ्रष्टाचारीहरु र माफिया बिचौलियाहरु आफैँ राजनीतिमा लाग्नु, राजनीति र चुनाव महँगो हुनु, समाजमा नैतिक मूल्य र मान्यतामा ह«ास आउनु, व्यक्तिगत स्वार्थ हाबी हुनु, देशको नीति निर्माणमा संलग्न हुनेहरुको आचरण शुद्ध हुन नसक्नु, प्रशासनमा राजनीतीकरण हुनु लगायतका कारणले गर्दा भ्रष्टाचार बढिरहेको छ ।

यस्ता सबै हर्कतहरु रोक्न शासन सत्तामा आउनेहरु सच्चरित्रवान्, नैतिकवान् र इमानदार बन्नै पर्छ । अहिलेका हाम्रा शासकहरुमा सुधार आउला र उनीहरुबाट मुलुकले समृद्धि हासिल गर्न सक्ला भन्ने विश्वास आम नागरिकमा देखिँदैन । त्यसैले अहिलेका दल र तिनका नेताहरु आमूलरुपमा नसच्चिने हो भने उनीहरुको पतन निश्चितजस्तै छ । गत निर्वाचनले त्यस्तो संकेत गरिसकेको छ र आगामी निर्वाचनपछि पुराना दलहरु नसच्चिएमा शिला खोज्नुपर्ने अवस्थामा पुग्न सक्नेछन् । त्यसैले उनीहरुले गम्भीर भएर सोच्नुपर्ने अन्तिम समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्