दोषीले उन्मुक्ति नपाऊन्



मुलुकको दलीय व्यवस्थालाई नै धज्जी उडाउने गरी सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा भएको छ । प्रहरीले उक्त प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ भने अनुसन्धान प्रक्रियालाई खुल्ला राख्ने निष्कर्षमा प्रहरी पुगेको छ । पैसाका लागि आफ्नै नागरिकलाई बेच्न तयार विभिन्न दलका नेता, सरकारी कर्मचारी तथा बिचौलिया अहिले प्रहरी हिरासतमा रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि अहिले विश्व समुदायको ध्यान नेपालमा परेको छ । उक्त प्रकरण सार्वजनिक भएपछि नेपालका राजनीतिक दल, प्रशासनिक नेतृत्व कति अमर्यादित रहेछन् भन्ने कुराको पटाक्षेपसमेत गरेको छ । सरकारले उक्त प्रकरणलाई कोही कसैको दबाबमा नपर्ने बताए पनि अरु–अरु काण्डमा आफ्ना नेता तथा कार्यकर्ता संलग्न रहेकाले आफू पनि परिने डरले सरकार सञ्चालकहरु अहिले डराउन थालेका छन् भने अनुसन्धानलाई पनि प्रभाव पार्न खोजेको भान हुन थालेको छ । हिजो ठूला–ठूला कुरा गर्नेहरु आज यस विषयमा चुप रहनुले पनि उनीहरुको नियतमाथि प्रश्नचिह्न खडा भएको छ ।

प्रहरीले उक्त प्रकरणमा संलग्न रहेका सबैलाई राष्ट्रद्रोह, संगठित अपराध र ठगीमा मुद्दा चलाउने गरी प्रतिवेदन बुझाएको भए पनि अदालतले सोही बमोजिम काम गर्छ वा गर्दैन, त्यो भने हेर्न बाँकी नै छ । नेपालका अदालतहरुसमेत विभिन्न मुद्दामा विवादमा तानिदै आएकाले यो प्रकरणमा कस्तो फैसला हुन्छ, त्यो भने हेर्न बाँकी रहेको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई मध्यजनर गर्दै अदालतले यो मुलुक नै बदनाम हुने काण्डमा संलग्नलाई अभियोग अनुसारको कारबाही गर्नु उचित हुने देखिन्छ । प्रहरीले अनुसन्धान गर्ने तर अदालतले प्रमाण नपुगेको भन्दै केहीलार्ई मात्रै दोषी देखाउने विगतको परम्परालाई यसपटक दोहो¥याउनुहुँदैन । यो राष्ट्रप्रतिको गद्दारी गर्नेहरुउपर कडाभन्दा कडा कारबाही हुनुपर्ने देखिन्छ ।

केही व्यक्तिको लालसाले मुलुकको अहिलेको व्यवस्था नै धरापमा पर्ने देखिन्छ । अहिलेको व्यवस्था विरोधीहरुले यो काण्डलाई मलजलका साथ उचालिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रले समेत गणतन्त्र भनेको यही त रहेछ भन्दै आफ्नो सनातनदेखि चल्दै आएको राजतन्त्रलाई ब्युँझाउने कोशिश गरेको देखिन्छ । गणतन्त्र नै असफल भइसक्यो, जनताले सोच्ने बेला आएको भन्दै गणतन्त्र विरोधीहरु सडकमा नारा लगाउन थालेका छन् । त्यसैले यस्ता अपराधमा संलग्न रहेकाहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

जुनसुकै पार्टीका मानिस भए पनि अपराध गर्ने कसैलाई छुट छैन, त्यस्ता अपराधीलाई कानुनको दायरामा ल्याएर नेपालमा अपराध गर्नेमाथि कारबाही हुन्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन जरुरी देखिन्छ । आफ्ना मान्छे जोगाउने भन्दै कुनै पनि व्यक्ति वा समुदायले कारबाही प्रक्रियालाई प्रभाव पार्ने काम रोकिनुपर्दछ । नेता र नीति खराब भए पनि यो मुलुक भने संसारकै उत्कृष्ट रहेकाले मुलुकलाई बदनाम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याऊ ।

प्रतिक्रिया दिनुहोस्