लुम्बिनीमा २४ दिनपछि दोस्रो पटक सरकार विस्तार, अझै भएन पूर्ण



बुटवल।

लुम्बिनी प्रदेका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले २४ दिनपछि मन्त्रीमण्डल विस्तार गरेका छन् । नेकपा माओवादी केन्द्र सहित ८ दलको समर्थनमा वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस संसदीय दलका नेता चौधरीले निकै लामो कसरतपछि सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन । बजेट निर्माणका बेला मन्त्रालय मन्त्री विहीन भएको भन्दै आलोचना भएपनि चौधरीले मन्त्रिमण्डललाई अझै पूर्णता दिन सकेनन् ।

सोमबार चौधरीले नेपाली काँग्रेसका राजु खनाल, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्ता (सिके) लाई मन्त्री नियुक्त गर्नु भएको हो । खनाल स्वास्थ्यमन्त्री, अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय र गुप्ता सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएको हो । नवनियुक्त मन्त्रीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु भएको हो ।

यसअघि विनाविभागीय मन्त्रीका रुपमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेयले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । सरकार विस्तारमै अलमलमा परेका चौधरीले जेठ १ गते सत्ता साझेदारको मुख्य दल नेकपा माओवादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मुख्यमन्त्री चौधरीले मन्त्रिमण्डल विस्तार गरे पनि पूर्णता दिन सक्नु भएको छैन । मुख्यमन्त्रीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय गरी ३ वटा मन्त्रालय आफैसँग राख्नु भएको छ । माओवादी र काँग्रेसमा अझै मन्त्रीका लागि आकाक्षीहरु धेरै छन् । त्यस्तै सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । धेरै दल र मन्त्रालयको संख्या कम भएकाले विस्तारका लागि सकस परेको छ । बजेट निर्माणमा खटिनुपर्ने भएकाले मन्त्रीमण्डल विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्