‘हैट ! टेकनाथजी कहाँ फसेको ?’



हरेक प्राणीको फरक विशेषता हुन्छ । भनिन्छ, गाई कल्चौँडोेले बाँच्छ । गोरु काँधले बाँच्छ । गधा पिठ्यूँले बाँच्छ तर मानिस बुद्धि र विवेकले बाँच्छ । यो प्राणी विशेषका विशेषताका आधारमा भनिएको हो । आटव्य जंगलमा जब सिकारीहरू आफ्ना सिकारको खोजीमा गोलीगठ्ठा भिरेर चरा मार्न पस्छन् सारा जंगली चराचुरुङ्गीहरू चाप्पचुप्प भएर सासलाई नाकमा ल्याई अड्याएर चुप लागी सिकारीको चाल बुझेर लुकिरहेका हुन्छन् रे ! त्यही बेला तित्रो भन्ने चराचाहिँ जंगल शान्त भएको थाहा पाएर अझ जोडजोडले त्रुतत्रुत गरेर कराउँछ रे ! ऐन मौकामा सिकारीले उसलाई उसैका आवाजका आधारमा रेकी गरी ताकेर गोली प्रहार गर्छ र भुतुक्कै हुने गरी मार्दछ । यसैले भन्ने गरिन्छ कि ‘तित्राको मुखै बैरी !’

यदि तित्राले आफू नकराउँदो हो भने उसलाई सिकारीले अनाहकमा सिकार गर्ने थिएन । यो भयो जंगलको कानुन । अब समाज र पारिवारिक कानुनका बारेमा केही मीमांसा गरौं । यतिखेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका छिराउनेहरूको गिरोहलाई नेपाल प्रहरीले भटाभट पक्राउ गरिरहेको छ । माहौल देख्दा यस्तो लाग्छ कि यो गिरोहमा कुनै पनि मानिसहरू छुटेका छैनन् । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव पोष्टबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा सेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नाम चलेका ठूलाबडाका छोराहरू, पूर्वगृहसचिव टेकनारायण पाण्डे र अरू घगडान–घगडान नेता र कर्मचारीको निकै लामो सूची रहेको छ भनिँदै छ ।

प्रसङ्ग बीचैमा अर्कातिर मोडिएन र बहालवाला गृहमन्त्री र प्रधानमन्त्रीले खुट्टा कमाएनन् भने लहरो तान्दा पहरो गर्जने स्थितिको पूर्वानुमान गर्न सकिन्छ । भुटानी आन्दोलनले उसको देशका नेल्सन मण्डेला भनेर आदर गरेका नेता टेकनारायण रिजालसमेत यो काण्डमा तानिएका छन् । यस्तो खाले अन्तर्राष्ट्रिय शक्तिकेन्द्र, मित्र राष्ट्र र संयुक्त राष्ट्र संघलाई समेत मुछ्न सक्ने खालको काण्ड यसअघि कहिल्यै भएको रहेनछ । यो कुराले अहिले नेपालको प्राप्त स्वतन्त्रता र सिस्टमकै खिलापमा काम गरिरहेको हो कि भन्ने भान पारेको छ । हेर्दै जाऊँ अन्य लाउडा, धमिजा, चेज एयर, सत्तरी करोड, सुरक्षित मुद्रणालय र बालुवाटार जग्गाजस्तै यो पनि केही महिना र वर्षहरू बितेपछि सामसुम नहोला भन्न सकिँदैन । किनकि यो देश भनेको जे काण्डहरू पनि पहिले जनमानसमा आउँदा ठूलो स्वर भएर आउने अनि आफ्ना नातागोता र आफन्ती तथा राजनीतिक दलका सदस्यहरू एवं कमरेडहरूको संलग्नता भएको थाहा पाएपछि क्रमशः मुद्दा कमजोर बनाइँदै अन्त्यमा सामसुम भएर जाने केस उठान र बैठान भएको देश हो । त्यसैले यहाँ जे पनि हुन सक्छ ।

एकथरी कानुन व्यावसायीहरू भन्दै छन्– ‘अहिले यो केस देशभित्रबाट विदेशीको पहुँचमा गैसक्यो । त्यसैले यहाँका नेता र ठालुहरूले यसलाई मिलाएर हुनेवाला केही छैन । जब संयुक्त राष्ट्र संघ र अमेरिकाजस्तो शक्तिशाली देश यसमा तानियो भने अब नेपाल र नेपालीको विश्व रंगमञ्चमा केही बाँकी रहेन ।’ अर्का थरी कानुन व्यवसायीहरूको दलिल छ कि ‘यो पनि केवल सत्ता परिवर्तनका लागि रचिएको साजिस हो । यसमा कुनै दम छैन । यो भन्दाअघि पनि नेपालमा उठान हुने संगीन चरित्र भएका घटनाहरूलाई नियाल्दा यो पनि एक वर्षभित्रमा सामसुम भएर जाने खालकै घटना देखिन्छ । त्यसैले अहिले सत्ता गठबन्धनले प्रतिपक्षलाई तर्साउनका लागि यो घटनालाई देखाउने कोशिश गरिरहेका छन् ।’

कुरोको चुरो वा अन्तर्य के हो ? त्यो जनसामान्यलाई थाहा छैन । उनीहरू महँगी, वातावरण प्रदूषण, खाद्य र गृहस्थीका सामानको उपलब्धता, घरव्यवहार, खेतीपाती र उत्पादनबारे सामान्य कथोपकथन गर्दै आफ्ना व्यवहार र बुहार्तनलाई टार्न वा पु¥याउनै धौधौ गरिरहेका छन् । जो बसी खाने हुन्, तिनीहरू आफ्ना राजनीतिक रूपले थर, गोत्र र जात मिल्ने भए यो सब षड्यन्त्र हो, साजिस हो भनेर फत्तुर लगाइरहेका छन् भने माथिका ती केही पनि परिचय नमिलेमा यो मुद्दाको उठान अहिलेको गठबन्धन सरकारले ठीक समयमा ग¥यो भन्नेछन् । भनिन्छ नि ‘सर्प देख्दा पाखातिर हात र माछा देख्दा दुलामा हात ।’ यसरी नै अब केही दिन, हप्ता, महिना र वर्ष यो इसुले सामान्य चिया पसल, स्कुल, कलेज, हाटबजार, जात्रा, मेला, सरकारी कार्यालय र विभिन्न खाले जुलुस अनि आमसभाहरूमा आफ्नो विषयवस्तुका रूपमा सानदार इन्ट्री पाउने पक्का छ ।

हाम्रोजस्तो गरिब र विकासोन्मुख देशमा यस्ता खालका मुद्दाहरू केही महिना र केही वर्षका अन्तरालमा आइरहन्छन्, गइरहन्छन् । कतिपयले केही पानी फोकाहरूसमेत उठाउने ल्याकत राख्छन् भने कतिपयले सामान्य बलेँसीका पानी फोकासमेत उठाउने ल्याकतै नराखी तुहुन्छन् । मुख्यतया त्यसभित्रको माछा कत्रा र कस्ता छन् भन्ने कुराले यहाँ घर गर्ने रहेछ । यो कुरालाई हामीले राम्ररी थाहा भने पाउनुपर्छ ।

अहिलेको चित्र हेर्दा नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरू, कर्मचारीहरू, पूर्वसांसदहरू, शक्ति केन्द्रहरू र बिचौलियाहरूसमेत यसमा तानिन सक्ने देखिएका छन् तर जिब्रो नचपाई भन्ने हो भने यतिखेर नेपाल प्रहरी, नेपाली र इन्टिलिजेन्स ब्युरोका कर्मचारीहरूले तिघ्रा नकमाई र जिब्रो नलरब¥याईकन तहकिकात गर्ने र मुद्दा अदालतमा लैजाने हो भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका जानेमाने नेता, पूर्वमन्त्री, सांसद, बिचौलिया र अझै केही शक्तिशाली नामहरूसमेत तानिन सक्ने स्थिति देखिएको छ । यो घटनालाई ह्यान्डिल गर्ने मुख्य पात्र फेला पर्ला या नपर्ला तर घटनाका बारेमा सबै फेहरिस्त नेपाली जनतासामु एकफेर आइदियो भने देशको शासन अवस्था, दुई नम्बरी घटना, घोटाला काण्ड र बिचौलियाको कस्तो बिग्बिगी रहेको रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।

ठूला र शक्तिशाली नेताका मुखमा भएका मुखुण्डोहरूलाई एक–एक गर्दै उतारिदिने काम यो घटनाले गरेको छ । साथै देशको चरम बेइज्जती भएको छ । भुटानी शरणार्थी काण्डमा भुटानी नेता टेकनाथ रिजालको समेत नाम मुछियो । सो कुरा बाहिर आएपछि पत्रकार तथा समीक्षक हरि अधिकारी खरो शैलीमा टिप्पणी गर्दै लेख्छन्– ‘नक्कली भुटानी शरणार्थी काण्डमा भुटानका विद्रोही नेता टेकनाथ रिजाल पनि पक्राउ परेको समाचार सुनेर म स्तब्ध भएको छु । प्रहरी सूत्रले जनाएअनुसार नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने राज्यविरुद्धको आपराधिक प्रपञ्चमा लागेको गिरोहका एक व्यक्तिसँग रिजालले ७ लाख रुपियाँ बुझेको प्रमाण भेटिएपछि उनलाई गिरफ्तार गरिएको हो ।’

थिम्पु दरबारको कोपभाजन भई यातना पाउने नेपाली मूलका भुटानीहरूमध्ये टेकनाथ रिजाललाई सबैभन्दा यशश्वी र प्रतिष्ठित मान्न सकिन्छ । राजाको सल्लाहकार परिषद्को सदस्य छँदै तत्कालीन ड्रुक रेजिमले नेपाली मूलका नागरिकहरूमाथि लादेको विभेद्कारी भाषिक, शैक्षिक र पोशाकसम्बन्धी नीति–नियमविरुद्ध आवाज उठाएका कारण रिजालले देश छोडेर नेपालमा शरण लिनुप¥यो । आफ्नो पुर्खाको देश नेपालमा पनि उनले शान्तिपूर्वक बस्न पाएनन् । झापा बिर्तामोडमा बसिरहेका उनलाई मरिचमान सिंह नेतृत्वको तत्कालीन पञ्च सरकारले त्यहाँबाट अपहरण गरी काठमाडौँ ल्यायो र हवाईजहाजमा चढाएर भुटान पठाइदियो । नेपाल सरकारले शरणको मरण गरेर निर्दयी भुटानी राजाको जिम्मा लगाइएका टेकनाथ रिजाललाई थिम्पु दरबारले महिनौंसम्म भीषण शारीरिक र मानसिक यातना दिएपछि जन्मकैदको सजाय तोक्यो ।

त्यस बेला उनले १० वर्ष नारकीय बन्दी जीवन भोग्नुप¥यो । रिजाल कारागार मुक्त भएर नेपाल आउँदा भुटानबाट लखेटिएका लगभग डेढ लाख भुटानी–नेपालीहरू नेपाल आइसकेका र युएन्को सहयोगमा पूर्वी सीमान्त जिल्ला झापामा खडा गरिएका ८ वटा शरणार्थी शिविरहरूमा बडो कष्टकर जीवन बिताइरहेका थिए । रिजाललगायत अन्य भुटानी नेताहरूका साथै नेपाल सरकारले पनि ती शरणार्थीहरूलाई भुटान फर्काउने प्रयास निरन्तर जारी राखे तर भारत सरकारले पछाडिबाट धाप दिइएका ड्रुक राजा टसका मस नभएका कारण भुटानी शरणार्थीहरू पितृभूमि फर्किन पाएनन् । त्यस सन्दर्भमा टेकनाथ रिजाल भुटानी शरणार्थीहरूका सबैभन्दा प्रभावशाली आवाज भने बनेका थिए ।

अधिकारी अघि लेख्छन्– ‘शरणार्थीहरूलाई भुटान फर्काउन सम्भव नभएपछि युएन्, अमेरिका, युरोपियन युनियन र नेपाल सरकारको संयुक्त प्रयत्नमा शरणार्थीमध्ये इच्छुकजतिलाई तेस्रो मुलुकमा लगेर पुनर्वास गराउने स्किम अगाडि सारियो, जुन लगभग सफल भयो । अहिलेको घडीमा झापाका लगभग उजाड भएका शरणार्थी शिविरहरूमा जम्माजम्मी ६ हजार ५ सय जनामात्र छन् भने तेस्रो मुलुकमा १ लाख २० हजारजति शरणार्थीहरूको पुनर्वास भइसकेको छ । अमेरिकामा मात्रै १ लाखभन्दा बढी भुटानीहरूलाई पुनस्र्थापित गराइएको छ । अमेरिकाबाहेक भुटानीहरूलाई स्वागत गर्ने अन्य देशहरूमा क्यानडा, युके, अस्ट्रेलिया, डेनमार्क, नेदल्यान्ड्स, बेल्जियम, नर्वे र स्वीडेन छन् ।’

टेकनाथ रिजालसँग पछिल्लोपटक भेट हुँदा उनले भनेथे– ‘हरिजी, म नेपालमा बाँकी रहेका र हातमा कुनै पनि देशको नागरिकता नभएका तिनै ६ हजार ५ सय भुटानी बन्धु–बान्धवहरूलाई पहिचानसहितको सम्मानजनक जीवन प्रदान गर्ने अभियानमा छु । अहिले नक्कली शरणार्थी काण्डमा उनको गिरफ्तारी भएपछि म खङ्ग्रङ्ग भएको छु । मलाई भन्न मन लागेको छ– ‘हैट ! टेकनाथजी कहाँ फसेको ? रिजालको बहुचर्चित संस्मरणात्मक वृत्तान्तको पुस्तक ‘निर्वासन’ को मैले गरेको समीक्षा मन परेर उनी मलाई भेट्न आएपछि हामी दुईका बीच घनिष्टता कायम भएको थियो । मैले यसै वर्ष प्रकाशनमा ल्याउन खोजेको अन्तर्वार्तासङ्ग्रह ‘संवाद सञ्चयिनी’ का लागि उनीसँग पनि सघन वार्तालाप गरेको छु । उनको गिरफ्तारीपछि उनलाई फिचर गर्ने कि नगर्ने भन्ने दोधारमा परेको छु म । त्यसैले पनि भन्न मन लागेको छ– ‘हैट ! टेकनाथजी कहाँ फसेको ?’

व्यक्तिमाथिको आस्था र विश्वास जब भत्किन्छ अनि त्यो व्यक्ति आम मानिसका दृष्टिसमेतमा व्यक्तित्व नरहेर सामान्य मासु, हाड, छाला र बोसोले बनेको आम मानिस बन्छ । यतिखेर भुटानी नेता टेकनाथ रिजाल पक्राउ परेको घटनाले यही कुरा देखाएको छ । मानिसलाई उसको एक जन्मको हरेक घटनाले मूल्याङ्कन र पुनर्मूल्याङ्कन गर्न नसकिने रहेछ । पटक–पटक र धेरैपटक जँचेपछि मात्र एउटा मानिस सफल हुने रहेछ कि क्या हो ? यो सोध्ने सत्पात्रको खोजीमा छु ।

प्रतिक्रिया दिनुहोस्