सम्पादकीय- जिउँदो शहीदप्रतिको सदाशयता



दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थलाई मंगलबार बसेको मन्त्री परिषद् बैठकले राष्ट्रिय शहीद घोषणा ग¥यो । यो राष्ट्रको लागि गौरव र स्वागतयोग्य विषय हो । मुकेशको एक साताअघि उपचारकै क्रममा निमोनियाका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भयो । उनलाई शहीद घोषणा गरिनुपर्ने माग आजको हैन, जुन दिन उनी घाइते भए त्यसै दिनदेखिको आवाज हो । उनी सामान्य घाइतै हैन, जनआन्दोलनका क्रममा बनेपाको तीनदोबाटोमा आन्दोलनमा होमिएका बेला सुरक्षाकर्मीले चलाएको गोली कन्चटमा लागेर १७ वर्षसम्म मृत्युसँग लडिरहेका व्यक्ति हुन् उनी । उनलाई नेपाल सरकारले शुरुका दिनदेखि नै सकारात्मकरुपमा सम्मान गर्दै ‘जिउँदो शहीद’ घोषणा गरी सेवा–सुविधा दिँदै आएको थियो । मृत्युको खबर पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुकेशको श्रद्धाञ्जलि सभामा नेपाल सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारको प्रतिनिधिका रुपमा खटाउनुभयो । उहाँले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि दिनुभयो । साथै नेपाल प्रहरीको टुकडीले शोक धुन बजाएर हिन्दू परम्परा अनुसार मुकेशका पिता कृष्णमानले दागबत्ती दिएसँगै अन्तिम संस्कार गरियो ।

मुकेशको गत महिना वैशाख २७ गते साँझ ६ बजेर १३ मिनेट जाँदा मृत्यु भएको र २८ गते नेपाल सरकारका तर्फबाट सम्मान गरिएको थियो । सो अवसरमा मन्त्री मोदीले भन्नुभएको थियो, ‘कैयौँ मान्छे मृत्युपछि बिलाएर जान्छन् तर मुकेश कायस्थ युगौँयुग इतिहासमा बाँच्नुहुनेछ । मुकेशको भौतिक शरीर विलिन भए पनि जन्मदाता आमा–बुबालाई समेत सदा–सदाका लागि चिनाइराख्नुहुनेछ । नेपालको इतिहासमा लोकतन्त्रको लागि ज्यान नै बाजी लगाएर आन्दोलनमा होमिएको एक काभ्रेली युवा मुकेश ‘जिउँदो शहीद’ले नेपालीमाझ ठूलो इतिहास छोडेर जानुभएको छ । मंगलबारको मन्त्री परिषद् बैठकबाटै प्रक्रिया पु¥याएर शहीद घोषणा गर्नेछौँ ।’

यसरी उहाँले बोलेको कुरा पूरा गरेकाले आम नागरिकसामु नेपाल सरकारको शिर उच्च भएको छ । सरकारले बोलेका कुरा यसरी नै कार्यान्वयन गर्दै जान सफलता मिलोेस् । यो निर्णय गराउन अहोरात्र सरकारलाई घचघच्याउन लागिपर्ने परिवार, स्थानीय बासिन्दा, बुद्धिजीवी, सञ्चार माध्यमलगायत जिल्लामा रहेका सम्पूर्ण राजनीतिक दल, स्थानीय सरकार, कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु नै हुन् । यो दिन आम नेपालीका लागि महत्वपूर्ण दिन हो । यतिमात्र नभई मुकेशको आत्मा खुशी भएको दिन हो । यसका लागि नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ । यो वातावरण बनाउन विशेष महत्वका साथ लागिपरेको नेपाल पत्रकार महासंघ काभ्रे शाखाको सिंगो समूह, बनेपा नगरपालिका, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, बागमती प्रदेशका सभासदहरु, मुकेश कायस्थ प्रतिष्ठान, आम नागरिक, सुरक्षा निकाय, उद्योगी व्यवसायी, सबैको आ–आफ्नो क्षेत्रमा उत्तिकै महत्वपूर्ण भूमिका रह्यो र सबै धन्यवादका पात्र हुनुहुन्छ ।

यो मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा तथा १० बर्से द्वन्द्वमा घाइते भएका अन्य व्यक्तिहरुको पनि देशले खोजी गरोस् र उनीहरुको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षार्थ संविधानमा भएको व्यवस्था अनुरुप आवश्यक व्यवस्था गर्नतर्फ सरकारको ध्यान पुगोस् । इतिहास भनेको भोलिको पुस्ताका लागि दस्तावेज हो । इतिहासको संरक्षण र संवद्र्धन गर्ने दायित्व राज्यको हुन आउँछ । राज्यले वास्तवमै आम नागरिकको अभिभावक भएर भूमिका निर्वाह गर्न सकोस् । सरकारले मुकेश कायस्थप्रति देखाएको सदाशयताजस्तै आफ्ना अन्य कर्तव्यहरु पनि नबिर्सियोस् ।

प्रतिक्रिया दिनुहोस्