प्रभु ! भेदभाव होइन, देशको हिसाबकिताब मिलाइदेऊ



प्रभुले धेरै मुलुकलाई राम्रो अवस्थामा पु¥याइदिएको छ तर केही मुलुकमा हाम्रो देश पनि पर्छ, प्रभुले कहिल्यै उचाइमा पु¥याउने कोशिश गरेनन् । यसको कारण भने बुझ्न सकिएन । शायद प्रभुले मनमनै भनिराखेका होलान्– ‘लोभलाचल, स्वार्थ र अल्लडपनाको मिश्रणले गर्दा नै तिमीहरुको मुलुक डामाडोल भइराखेको हो । यसमा तिमीहरु सुध्रियौ भने मुलुक आफैँ द्रुतगतिमा अघि बढ्छ । त्यसपछि मैले सहयोग गर्ने त छँदै छ नि ! अब तिमीहरुले गर्नुपर्ने काम भने यिनै हुन् ।’

सर्वप्रथम मानिसले आफ्नो मात्र सोच्ने होइन, अरुको लागि पनि बाँच्ने हो भन्ने कुरालाई लिएर अघि बढ्नुपर्दछ । तर यो भनाइको मतलब देश चलाउनेहरुले आफ्नो फाइदाको लागि र भविष्यको धेरै चिन्ता लिएर पार्टी, कार्यकर्ता तथा आफ्नो मान्छेलाई मात्र अँगाल्ने होइन । शायद यही कारणले होला हाम्रो मुलुकमा केही विकास भए पनि मानिसहरुले चाहेरसमेत पाउनुपर्ने सुविधा, सहुलियत सस्तो तरिकाको जीवन चलाउन पाइराखेका वा सकिराखेका छैनन् । अझै पनि समाजको अज्ञानता र लापरबाहीका कारण हमी आफैंले दुःख पाइराखेका छौं । यस्तो अवस्थामा एउटा राम्रो मानिसले अर्को गलत व्यक्तिलाई निडर भएर सम्झाउने, बुझाउने हो । यति गरेर भएन भने थर्काएर भए पनि गलत व्यक्तिलाई सही ट्रयाकमा ल्याउने हो । यदि यो प्रक्रियालाई कायम गर्दै लैजाने हो भने हाम्रो मुलुक अवश्य बन्नेछ ।

यो देशमा एउटा एकदम नै चित्त नबुझेको कुरा के छ भने, देशमा भएका राष्ट्रिय रकमहरु लुटको धन फुपूको श्राद्धसरह भैराखेको छ । उदाहरणका लागि भ्रष्टाचारका काण्डहरुलाई नियन्त्रण गर्न नसक्नु, राष्ट्रधनलाई दहीजस्तो जमाएर राख्नु, सरकारी भत्ता तथा सुविधा–सहुलियतलाई कन्ट्रोल गर्न नसक्नु, धेरै राजनीतिक क्षेत्रमा काम नलाग्ने हिरोहरु हुनु, एक ठाउँमा खर्च गर्नुपर्ने रकम अर्को ठाउँमा खर्च गर्नु, आयात कम गर्नु र निर्यात बढाउन नसक्नु, जनताको सुझाव र राम्रा–राम्रा विज्ञहरुलाई मान्छे नगन्नु आदि नै यो देशका अभिशाप मान्न सकिन्छ ।

त्यसकारण एकपल्ट फेरि भन्नुपर्दा एकले अरुलाई राम्रो बनाएर नै समाज मजबुत हुने हो । जब समाज एकदम राम्रो हुन्छ तब समयको माग अनुसार राम्रा व्यक्ति तथा राम्रा सरकारहरुको सृजना हुँदै जाने हो, यो हुनु नै मुलुक धेरै राम्रो हुँदै जाने हो ।

अहिले हामीले दोह¥याई–तेह¥याई भन्नुपर्दा देशमा यत्रो आयस्रोत हुँदा पनि यहाँ लगानी तथा उद्योग व्यवसायको विकास सुस्त भइराखेको छ । यसैका कारण आर्थिक अवस्था पनि भाँडभैलो छ । भएको पैसा कहाँ जमिराखेको छ, के भइराखेको छ र किन पत्ता लगाउन सकिराखेको छैन ? कसैको बाउले पत्ता लगाउन सकिराखेको छैन । यहाँ आर्थिक समस्या र यहाँको वातावरणले गर्दा भएका आइरनम्यान र यहाँका युवा विद्वान्हरु पनि भटाभट फ्लाइटबाट विदेश पलायन भइराखेका छन् । यो संस्कारलाई देश चलाउनेहरुले रोक्ने कोशिश गर्नुपर्दछ । तर यसको लागि सर्वप्रथम विज्ञ, उद्योग व्यवसायी, सरकारमा बस्ने राम्रा हिरोहरु मिली भिजनहरु बनाउनु जरुरी छ । यसबाहेक शिक्षित युवापुस्ताहरुका लागि पनि कामको वातावरण, बेरोजगार भत्ता, स्कुल, कलेज आदिमा सस्तो, सुविधा, सहुलियतको माहौल बनाइदिनुपर्दछ । यति कार्यमात्र यहाँ हुन सक्यो भने श्रम तथा अध्ययनका लागि विदेश जाने युवापुस्ताले आफ्नै मुलुकमा बस्ने इच्छा गर्नेछन् ।

यहाँका लालची, स्वार्थीहरुको सोच कसरी बदल्ने ? एकदम गाह्रो भइराखेको छ । यिनीहरुकै कारण आज बैंक, फाइनान्स तथा सहकारी संस्थाहरुको अवस्था नाजुक छ । अहिले मुलुकमा यो पनि एउटा चिन्ताको विषय बनेको छ तर सरकार परिवर्तन हुने हो, जाँगरिलो हुने हो भने यो समस्या पनि बिस्तारै हल हुँदै जानेछ । अब प्रभुले नै गलत गर्ने अटेरी मानिसहरुको ढाड सेक्नुपर्ला । कारण यस्ता मानिसलाई राम्रा मानिसले सकिराखेका छैनन् । यसबाहेक यहाँका अल्लडे मानिसहरुको खोपडीमा रहेको बाँदरको जस्तो गिदीलाई परिवर्तन गरिदिनुपर्छ ।

अहिले मुलुकमा एउटा दुःख लाग्दो कुरा के छ भने, यहाँ २० खर्ब ऋणभारले गर्दा भात खान पाइराखे पनि मानिसलाई टेन्सनको विषय बनेको छ । तैपनि लोकतन्त्र, गणतन्त्र ल्याउने हिरोहरु विन्दास बसिराखेका छन् । अब हामीले यो मुलुकमा कसलाई मात्र दोष दिने ? त्यसकारण प्रभुले यो देशलाई बचाइदेऊ र बनाइदेऊ । यसमा प्रभु भन्छन्, ‘ओके आई विल ट्राई माई बेस्ट, तर पहिला तिमीहरु सुध्रनू, त्यसपछि मैले ठेल्ने त छँदै छ नि !’

प्रतिक्रिया दिनुहोस्