नक्कली शरणार्थी बन्नेलाई समेत कारबाहीको दायरामा ल्याऊ



यति बेला नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासोको विषय बनेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने गिरोहले राजनीतिक नेतृत्वलाई समेत आफ्नो प्रभावमा पारी अनुचित लाभ लिन उक्साएका घटनाहरु सार्वजनिक हुन थालेका छन् । प्रहरीबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन शुरु भएपछि राजनीतिक दलमा भूकम्प गएको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु झाँक्री बन्ने डोहबाजी चलेको छ । २०४६ सालपछि विभिन्न कालखण्डमा भएका राज्यशक्तिको प्रयोग गरेर भएका भ्रष्टारजन्य अपराधका बारेमा त्यस बेलाका शासकहरुले कारबाही गर्न नसक्दा अहिले भुटानी शरणार्थी प्रकरणसम्म आइपुगेको छ । माफिया समूहले नेपाली राजनीति र कर्मचारीतन्त्रलाई कसरी आफ्नो मुठीमा पार्न सफल भए भन्ने उदाहरण अहिले यस घटनाक्रमले देखाएको छ ।

अहिले सरकारले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर युरोप, अमेरिका लैजाने गिरोहलाई कारबाहीको दायरामा ल्याएको छ । यो मुलुकको लागि स्वागतयोग्य कुरा हो । मुलुकलाई नै तहसनहस पार्ने गिरोहको चंगुलमा प्रायः पुरानै दलका नेता तथा कार्यकर्ता मुछिएका छन् र उनीहरुमाथि अनुसन्धान भइरहेको छ । त्यस्ता अपराधमा संलग्नमाथि कारबाहीका साथै सजायको पनि व्यवस्था हुनुपर्दछ । अहिले उक्त काण्डमा फसेकाहरुका लागि जोगाउन दलका शीर्ष नेतृत्व लागेको भन्दै खबरदारी शुरु भएको छ ।

यहाँ विचारणीय पक्ष के छ भने, नेपाली नागरिकता च्यातेर नक्कली भुटानी शरणार्थी बनी तेस्रो देश जान चाहने नेपाली नागरिकलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ । मुलुकका लागि घूस दिने र घूस लिने दुवै शत्रु हुन् भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेश अहिले पनि आकर्षित हुने भएकाले घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन सक्नुपर्दछ । तबमात्रै मुलुकमा फैलँदो अवस्थामा रहेको भ्रष्टाचार नियन्त्रणका लागि यो एउटा सबक हुन सक्छ । त्यसैले यस प्रकरणमा मुछिएका सबैलाई कारबाहीको दायरामा ल्याउन सकेमात्रै यो घटनाको अनुसन्धानले आर्थकता पाउन सक्नेछ ।

अहिले यस प्रकरणलार्ई लिएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने केही दलहरु धमिलो पानीमा माछा मार्ने प्रयासमा रहेकाले उनीहरुको विगत के थियो, राजनीतिमा आउनुअघि उनीहरुको हर्कत के थियो, उनीहरुले केसम्म गरे भन्ने कुरालाई समेत ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले यस घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले कोही कसैको दबाबमा नपरी निष्पक्ष छानबिन गरेर अपराधमा संलग्न रहेका सबैलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्दछ । अब आइन्दा कुनै पनि गिरोहले अवैध कामधन्दा गर्दा एकपटक सोच्न बाध्य होस् । स्वतन्त्रताको नाममा मौलाउँदो अवस्थामा रहेको विकृतिलाई रोक्नुपर्ने अहिलेको आवश्यकता हो । अहिले बजारमा देखिएको हल्ला र यसले मुलुकलाई पार्न सक्ने प्रभावका बारेमा आम नेपाली नागरिक सचेत हुनुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्