भद्रपुरलाई समृद्धिसहितको समुन्नत नगर बनाउँछौं : प्रमुख प्रशासकीय अधिकृत रेग्मी



टेककुमार रेग्मी
प्रमुख प्रशासकीय अधिकृत
भद्रपुर नगरपालिका, झापा

भद्रपुर नगरपालिका समुद्र सतहदेखि ६८ मिटर उचाइदेखि १ सय १३ मिटरमा अवस्थित रहेको छ । २००८ सालमा स्थापना भएको नगरपालिकाको पूर्वमा भारतको पश्चिम बंगाल र विहार प्रान्त, पश्चिममा बिर्तामोड नगरपालिका, हल्दीबारी गाउँपालिका, उत्तरमा मेचीनगर नगरपालिका र दक्षिणमा कचनकवल गाउँपालिका पर्दछ । मेची नदी र देउनिया खोलाको बेसिन क्षेत्रमा अवस्थित छ । ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, समृद्धिसहितको भद्रपुर नगर’ भन्ने नारालाई लक्ष्य बनाएको छ, भद्रपुर नगरपालिकाले । यही कार्यदिशाबाट प्रेरित भई आफ्नो काम, कर्तव्य र अधिकार समुचित उपयोग गर्दै अगाडि बढिरहेको छ, भद्रपुर । नगरपालिकाले अब्बल र नमुना नगरपालिका बन्ने प्रयास र प्रयत्न गर्दै आएको छ । यसै सेरोफेरोलाई लिएर प्रशासन क्षेत्रमा अब्बल मानिएका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीसँग जिल्ला संवाददाता उत्तम नेपालले गरेको कुराकानीको सार संक्षेप :

तपाईंको स्थानीय तहले विकास निर्माण र सेवा–प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

भद्रपुर नगरले यस आर्थिक वर्षमा वार्षिक नीति तथा कार्यक्रमले करिब १ सय ९ करोड विकास निर्माण र सेवा प्रवाहसँग जोडिएका कार्यक्रमको बजेटलाइ आधार मानेर अगाडि बढाइरहेको छ ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

नगर गौरवका आयोजनालाई वाडस्तरसम्म पु¥याएर करिव १५ वटा गौरवका आयोजना पूर्वाधार विकाससँग जोडिएका छन् । ६० लाखभन्दा बढी लगानीमा उपभोक्ता समितिको लागत सहभागितामा सञ्चालित छन् । यो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा बढी र सामाजिक सुरक्षामा पनि प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रमा मात्र ३ करोड भन्दा बढी विनियोजन गरिएको छ । शिक्षासँगै कृषिमा पनि राम्रा कार्यक्रमको शुरुआत गरिएको छ । त्यसै गरी, स्वास्थ्यमा पीछडिएका सन्थाल समुदायका सबै (६ सय ३२) घरलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । आवधिक योजना र स्थितिपत्र तयार गर्ने काम धमाधम गरिरहेको छ ।

भद्रपुरलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

यो नगर पूर्वाधारका हिसाबले बस्न गोग्य छ । करिब १ सय वर्ग क्षेत्रफलभित्र रहेको नगरमा करिव ३ सय किलो मिटर पक्की सडक रहेको छ । सदरमुकामभित्र पर्ने भएर पनि भारतसँग सीमाना जोडिएको र भद्रपुर भन्सार, चन्द्रगढी विमानस्थलसमेत परेकाले भावी सम्भावना बढेर गएको छ ।

जनप्रतिनिधि विकास निर्माण, सेवा–प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ । जनप्रतिनिधिहरू विकास निर्माण, स्थानीय सेवा प्रवाह र सुशासन स्थापित गराउन लागिपरेको महसुस भएको छ । यहाँका जनप्रतिनिधिलाई केही गरौं भन्ने हुटहुटी पनि छ । तुलनात्मक रूपमा राम्रो पाएको छु । तर, जनप्रतिनिधिका केही दुर्लभ पक्ष देशभरि नै पाएको छु । यहाँ पनि जनप्रतिनिधि बढी वितरण मुखी भएको पाएको छु । जनताले माग्न आउँदा हुन्छ भनेका कारण जनताको आकांक्षा बढेर गएको र त्यो पूरा गर्न नसक्दा यसले असुन्तुष्टि बढाएको हुँदा शासन प्रणालीलाई अमूर्त तरिकाले क्षयीकरण गरिरहेको अनुभूति गरेको छु ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

राजनीति र प्रशासनको हिसाबले हेर्दा जनप्रतिनिधि इमानदार भइदिनुप¥यो । पक्ष–विपक्ष गरिदिनुभएन । भावी योजनासहितको दृष्टिकोण हुन जरुरी छ । तर, यहाँ जनप्रतिनिधिको भूमिका अलिक बढी कार्यकारी प्रकृतिको अपेक्षा राखेका कारण प्रशासनिक क्षेत्रको कार्यसम्पादनमा स्वतन्त्रतामाथि थोरै हस्तक्षेप हो कि जस्तो लागेको छ ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

जनसहभागिताको अर्र्थ गहिरो छ । कर्तव्यको भावना कम छ । लागत सहभागिता नाम मात्रको छ ।

पालिकामा बेरुजु र सार्वजनिक खरिदको अवस्था के–कस्तो छ ?

बेरुजुको विषयमा माथिको नीति कमजोर छ । बेरुजु प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको नाममा बेरुजु आउने गर्छ । फछ्र्यौटका लागि जनप्रतिनिधिमा उत्प्रेरणा नभएका कारण कम प्राथमिकतामा परेको छ । कानुनी आधार नभएका कारण पनि समस्या हुने गरेको छ ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

संस्थागत समस्या छन् । स्थानीय तहका कर्मचारी सरुवा नभएका कारण काममा दक्षता हुनुपर्नेमा सम्बन्धमा दक्ष हँुदै जाने भएकाले प्रदेशभरि बिनासर्त व्यवस्थित सरुवा प्रणाली आवश्यक छ ।

प्रदेश र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय पाइरहनुभएको छ कि छैन ?

यो राष्ट्रियस्तरमा ठूलो बहसको विषय हो । स्थानीय तह सेवा केन्द्र हुन् । आएका स–सर्त अनुदान कसरी खर्च भइरहेको विषयमा अनुगमन र मूल्यांकन व्यवस्थित गर्न नसककेका कारण स्थानीय तहले स्वविवेकले गरिरहेको अनुभूति भएको छ ।

हाल पालिकाले भोग्नुपरेका मुख्य समस्या के छन् ?

धेरै ठूला समस्या खासै छैनन् । वर्षायाममा डुबानको समस्या छ । त्यसै गरी, पछिल्लो समय जङ्गली हात्तीको आतङ्क बढी देखिँदै आएकाले हात्ती व्यवस्थापन ठूलो चुनौती बनेको छ । खर्च गर्ने र कर्मचारीको क्षमता बढाउनुपर्ने देखिएको छ ।

संघीय शासन सफलताका लागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ ?

सेवा बिन्दुका रूपमा स्थापित हुन सक्नुपर्छ । जननताका आकांक्षा सम्बोधन गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ ।

पालिकालाई देशभरमा चिनिने बनाउन विशेष योजना केही ल्याउनुभएको छ कि ?

नगरलाई पूर्वी क्षेत्रको व्यापारिक द्वार र समृद्धिसहितको भद्रपुर नगर बनाउने मूल उद्देश्य राखेका छौं । देशकै दोस्रो पुरानो नगरपालिकाको जुन गौरव थियो, त्यो नरहेकाले पुनः त्यता फर्काउनुपर्ने जरुरी देखिएको छ । दुई देशबीचमा आयात–निर्यातको बिन्दुमा विकास गर्नसक्ने दीर्घकालीन सम्भावना छ । देशभरिकै नगरमध्ये मापदण्डको आधारमा मूल्यांकन गर्ने हो भने बस्नका लागि उपयुक्त शहर छ यहाँ । कम खर्चिलो, सव्य र सुविधासम्पन्न गाउँभन्दा पनि हुन्छ, शहरी सुविधा पनि छन् । अझै ५० वर्षसम्म यो नगरको दीर्घकालीन ग्रहणशील क्षमता छ । बस्नयोग्य शहरका रूपमा विकास गर्ने उद्देश्य लिएका छांै । नगरक्षेत्रभित्र १ सय ३२ वटा सामुदायिक हल छन् । मठ–मन्दिर, गुम्बा, मस्जिदको पनि अवस्था राम्रो छ । धार्मिक सांस्कृतिक शहरका रूपमा पनि विकास हुने सम्भावना छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको पूूर्वाधार क्रमशः निर्माण हुँदै छ । चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडानसमेत हुने भएकाले छिमेकी देशबाट आउने पर्यटकले समेत यस क्षेत्रको अवलोकन गर्न पाउने छन् । नगरलाई व्यापारिक द्वारका रूपमा विकास गर्ने लक्ष्य राखेका छौं ।

स्थानीय तहको आयस्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

राजस्व कार्ययोजनालाई सशक्तीकरण गर्ने हिसाबले अध्ययन गरिरहेका छाँं । यो पेचिलो र विवादित विषय छ । भद्रपुरसँगै देशभरि नै राजस्व उठाउने अभिप्रेरणा एकदमै कम छ । केही स्थानीय तहमात्र आफ्नो राजस्वले चल्न सक्नेछन् । यहाँ व्यापार व्यवसाय सामान्य भए पनि राजस्व उठाउने सम्भावना चाहिँ छ । अन्य क्षेत्रबाट जस्तै भूमिकर, मालपोत, एकीकृत सम्पत्ति कर जस्ता विषय यसको स्रोत हो । आन्तरिक आय बढाउन राजस्वको क्षेत्र, बढाउनुपर्ने भए पनि आर्थिक मन्दी र जनप्रतिनिधिको कम चासोका कारण बढाउने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्