जीवन्त संस्कृतिलाई टुट्न नदिऔं



कुनै पनि सभ्यता, संस्कृति र परम्परा भनेको एकै दिनमा बनेको हुँदैन । समाज विकासको क्रममा त्यसको आवश्यकता, सयौं वर्षदेखिको लगातारको अभ्यास, त्यसप्रतिको श्रद्धा, निहित सन्देश र व्यापक सामाजिक स्वीकार्यताले संस्कृति, परम्पराको स्वरुप लिने गर्दछ । यही कारणले गर्दा कुनै संस्कृति राष्ट्रकै मात्र नभई विश्वको अमूल्य निधि रहेको हुँदा यसको जगेर्नाका लागि युनेस्कोसँगै विभिन्न देशहरुले नेपालकै उदाहरण दिई विश्वसामु उदाहरण पेस गर्दै आइरहेका छन् । रातो मच्छिन्द्रनाथको रथको दायाँतर्फ बस्ने पुजारी (जलः पानेजु) ले कीर्तिपुरमा रहेको शक्ति स्वरुपमा कन्या (याकः मिसा) लाई फूलप्रसाद ग्रहण गराउने एक धार्मिक र जीवन्त परम्पराले यसपटक निरन्तरता पाउने हो कि होइन ? दोसाँध रहेको छ । यस्तो अवस्था संस्कृति, सम्पदाले भरिएको नेपालजस्तो बहुसांस्कृतिक मुलुकको लागि चिन्ताजनक विषय रहेको छ ।

रातो मच्छिन्द्रनाथको रथ भोटो जात्राको लागि जावलाखेलतर्फ तानिनु चार दिनअघि फूलप्रसाद दिने परम्परा यस वर्ष यही जेठ ५ गते शुक्रबार जुरेको छ । धार्मिक दृष्टिले मच्छिन्द्रनाथप्रति भक्तिभाव राखेर जीवन समर्पित गर्ने कन्याको भक्तिबाट प्रभावित भई श्रद्धापूर्वक फूलप्रसाद दिने परम्परालाई महिलाको उच्च सम्मानका रुपमा लिइन्छ । फूलप्रसाद ग्रहण गराउने पुरातात्विक एवं धार्मिक स्थानमा प्रतिमूर्ति रहेसम्म सयौं वर्षदेखि चल्दै आएको जीवित परम्पराको औचित्य सकिएको रातो मच्छिन्द्रनाथका पुजारीहरुको संगठन श्री ह्यग्रीव भैरवनाथ ३२ पानेजु संघको निष्कर्ष थियो । पानेजुहरुको अडानबमोजिम कीर्तिपुर नगरपालिकाले स्थानीयवासी, संस्कृतिप्रेमी, सञ्चारकर्मी सबैको सहयोगमा प्रतिमूर्ति त्यहाँबाट हटाई नगरपालिकामा राखेको छ । यस कार्यले नै मूर्तिको उच्च कला एवं सिर्जनात्मक पक्ष, कीर्तिपुरवासीको धार्मिक एवं सांस्कृतिक आस्थाको सम्मान र पुरातात्विक क्षेत्रमा प्रतिमूर्ति बनाउन नहुने जनभावनाको आधारभूतरूपमै कदर गरिसकेको छ । त्यसपछि पनि हटाइएको मूर्ति गुठी संस्थान, ललितपुरलाई हस्तान्तरण गर्नुपर्ने भनी पानेजुहरुले अडान कायमै राखेका छन् । यस स्थितिमा धार्मिक विधिपूर्वक गर्नुपर्ने सो परम्परा टुट्न लागेको हो कि भन्ने चिन्ता छाएको छ । विभिन्न माध्यमबाट यत्रतत्र पोखिएका ती चिन्ता जनताका धार्मिक र सांस्कृतिक परम्पराप्रति संवेदनशील चेतनाका उपज हुन् ।

यो विषय धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त संवेदनशील विषय हो । पानेजुहरुको सक्रियताले गर्दा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका हुँदै प्रतिमूर्ति हटाउन पाँच महिनाभन्दा बढी प्रयत्न गर्नुको मुख्य ध्येय नै अमूर्त संस्कृतिको निरन्तरताको लागि हो । सो जीवन्त सम्पदाले निरन्तरता पाएन भने यी सारा प्रयत्न खेर जानेछन् । जनस्तरमा रहेको धार्मिक र सांस्कृतिक एकतामा आँच आउन सक्ने खतरा रहिरहनेछ । हो, प्रतिमूर्ति नबनाएको अवस्थामा प्रतिमूर्ति बनाउन हुन्छ कि हुँर्दैन भन्ने विवाद भएको भए परिस्थिति नै अर्को हुन्थ्यो । तर अहिले त्यो स्थिति होइन । यसलाई सबैले आत्मसात् गर्नु जरुरी छ ।

त्यसैले परम्पराको निरन्तरता रहेसम्म प्रतिमूर्ति कहाँ र कसरी राख्ने भनेर छलफल गर्ने ढोका सधैँ खुल्ला रहिरहनेछ । परम्पराको निरन्तरतामा नै सबैको अवश्य जित हुनेछ । अतः यसपटक परम्पराले निरन्तरता पाएन भने प्रतिमूर्ति विवाद प्रत्युत्पादक साबित हुनेछ । अतः उपत्यकाकाको दुई नगर ललितपुर र कीर्तिपुरलाई सयौं वर्षदेखि धार्मिक र सांस्कृतिकरुपमा जोड्ने एउटा महत्वपूर्ण कडीका रुपमा समेत रहेको परम्पराको निरन्तरताको लागि निर्णायक वार्ताको वातावरण बनाउन दुवै नगरका जनप्रतिनिधिको विशेष दायित्व रहनेछ ।

समयले दिएको गहनत्तम जिम्मेवारीमा अन्य सरोकारवाला पक्षसँगै जनप्रतिनिधिहरु खरो उत्रिनु नै नेतृत्व क्षमताको परिचायक हो ।

प्रतिक्रिया दिनुहोस्